मकवानपुरमा सबै दल तयारी अवस्थामा

0
Shares

हेटौंडा ।

सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मकवानपुरमा प्रमुख राजनीतिक दलहरु त्यसको तयारीमा केन्द्रित हुन थालेका छन् । चुनाव नजिकिएसँगै मकवानपुरका राजनीतिक दलहरुमा पार्टी प्रवेश र कार्यकर्ता भेला गर्न भ्याइनभ्याई छ ।

‘घरघरमा एमाले, मनमनमा एमाले’
नेकपा एमाले मकवानपुरको ‘घर–घरमा एमाले, मन–मनमा एमाले’ अभियानसहित पालिका र वडा तहसम्म स्थानीय चुनावका लागि तयारीमा जुटेको एमाले मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा एमाले मकवानपुर प्रशिक्षण तथा कार्यकर्ता भेट गरी चुनावको तयारीमा जुटेको कथन छ । अध्यक्ष श्रेष्ठले हाल जनतासँग भेटघाटलाई तीव्रता दिइनुका साथै जनतासमक्ष पार्टीको धारणा राख्ने कार्य गरिरहेको जनाउनुभयो । स्थानीय तहमा विगतमा जितेका ठाउँमा घोषणा गरेका के काम पूरा गर्न सक्यौं र के काम पूरा गर्न बा“की छ भन्ने समीक्षा गरेर अगाडि बढ्न जनतासामु जाने काम भइरहेको उहाँले बताउनुभयो ।

नेकपा एमाले वागमती प्रदेश कमिटीले प्रदेशका सबै स्थानीय तहमा सहजकर्ता तोकेको छ । मकवानपुरका १० स्थानीय तहमा सहजकर्ता छानिएका छन् । हेटौंडा उपमहानगरपालिकामा गोपाल श्रेष्ठ, हरिबहादुर महत, कमल विष्ट र रामचन्द्र अर्याल, थाहा नगरपालिकामा बरिना बल, बुद्धरत्न मानन्धर र श्यामभक्त श्रेष्ठ, इन्द्रसरोवर गाउ“पालिकामा भोजराज ढकाल, कैलाश गाउँपालिकामा अर्जुन अर्याल हुनुहुन्छ ।

बकैया गाउँपालिकामा डिल्लीप्रसाद दाहाल, नारायण सापकोटा, वागमती गाउँपालिकामा अणराज जर्गा, भीमफेदी गाउँपालिकामा भगवती पुडासैनी, मकवानपुरगढी गाउँपालिकामा हर्कमाया रुम्बा, नवराज तिमल्सिना, मनहरी गाउँपालिकामा श्याम ढकाल र राक्सिराङ गाउँपालिकामा इन्द्रमान स्याङ्तानलाई तोकिएको छ ।

नेकपा एमालेको थाहा–काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलन चैत १२ गते काठमाडौंमा हुने भएको छ । कलंकीस्थित शिखर पार्टी प्यालेसमा हुने सम्मेलनमा ३ सय ५० बढी प्रतिनिधि सहभागी हुने आयोजक कमिटी अध्यक्ष अनित विष्टले जानकारी दिनुभयो । सम्मेलनले स्थानीय निर्वाचन लक्षित गतिविधिका योजना निर्माण गर्ने जनाइएको छ । सम्मेलनमा एमाले नगर कमिटीका नेतादेखि केन्द्रीय तहका नेताहरुको उपस्थिति रहने छ । सम्मेलन प्रशिक्षणसहित हुने आयोजक कमिटी अध्यक्ष विष्टले बताउनुभयो ।

कांग्रेसको वडा–वडामा प्रतिनिधि
कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ कार्यक्रममार्फत आफ्ना गतिविधि तीव्र बनाएको छ । सोही क्रममा कांग्रेस मकवानपुरले कार्यक्रमका लागि केन्द्रीय र प्रदेश नेतृत्वले पठाएका प्रतिनिधिसँगको समन्वयमा कार्यक्रमलाई तीव्रता दि“दै जिल्लाका वडा–वडामा पुग्ने योजनासहित गाउँ प्रवेश गरेको छ । १ महिने अभियानअन्तर्गत वडा–वडामा खटिने प्रतिनिधिले जनताको घरमा पुगेर कांग्रेसले गरेका काम र एजेन्डा तथा एमसीसीका विषयमा प्रस्ट पार्ने काम गर्ने नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बताउनुभयो ।

प्रतिनिधिले वडामा गएर जनताको कांग्रेसप्रतिको धारणा र पार्टीको अवस्था बुझेर एक साताभित्र प्रतिवेदन केन्द्रमा बुझाउनु पर्नेछ । जनताको घर–घरमा पुगेर वडा प्रतिनिधिले जनतालाई मताधिकार प्रयोग गर्न प्रेरित गर्ने, कांग्रेसलाई नै किन मत हाल्ने भनेर बुझाउने, कांग्रेसले विगतमा गरेका काम, राजनीतिक परिवर्तनबारे बुझाउने, कांग्रेसको नेतृत्वमा भएको विकासबारे जनतालाई जानकारी गराउनेलगायत काम गर्ने सभापति लामाले बताउनुभयो । उहाँले वडा–वडामा खटिने प्रतिनिधिले कांग्रेसको अगुवाइमा भएका विकासका काम र कम्युनिस्टबीचको भिन्नतालाई जनतासम्म पुर्याउने काम गर्ने बताउनुभयो ।

चुनाबलाई लक्षित गरेर नेपाली कांग्रेस प्रदेश कार्यसमितिको हेटौंडामा भएको बैठकले कोषाध्यक्षसहित समिति र विभाग गठन गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको हो । बैठकले १६ सदस्यीय कार्यसम्पादन समिति थप गरेको छ । समिति सदस्यहरुमा प्रभात तामाङ, सन्तबहादुर प्रजा, प्रमोद रिमाल, इन्द्रमान महर्जन, तारा गुरुङ, कैलाश कोइराला, गंगा दाहाल हुनुहुन्छ । अर्जुन उप्रेती, नातिकाजी कार्की, सरु बानियाँ, विवशकुमार वाइबा, जितबहादुर मगर, चित्रबहादुर कार्की, महान् अर्याल, डा. भगवान् खड्का र लक्ष्मी महर्जन समितिमा रहनुभएको छ ।

बैठकले ९ सदस्यीय प्रदेश संसदीय समिति गठन गरेको छ । समिति सदस्यहरुमा जगदीशनरसिं केसी, लामा कार्पुतामाङ, तिलक रुवाली, दीपेन्द्र आचार्य, भद्रा भण्डारी, कृष्णलाल भ“डेल, निमा लामा, छिरिङ दोर्जेलामा र अर्जुन न्यौपाने हुनुहुन्छ ।

वटा/पालिकामा माओवादीको प्रशिक्षण
नेकपा माओवादी केन्द्र मकवानपुरले स्थानीय तह निर्वाचनका लागि टोल, वडा, पालिकामा प्रशिक्षण तथा भेला गरिरहेको सचिव भीम पाख्रिनले जानकारी दिनुभयो । उहाँले केही दिनमा वडा सभापति, इन्चार्जहरुको नेतृत्वमा जनताको घरदैलो कार्यक्रम, केही दिनमा उम्मेदवारी घोषणा गर्न स्थानीय कमिटीमा रोस्टर तयार पार्न निर्देशन दिइसकेको जनाउनुभयो ।

सचिव पाख्रिनले जनतासमक्ष माओवादीले २०५२ र २०६२/६३ को आन्दोलनबाट ल्याइएको उपलब्धिबारे जानकारी गराई मत माग्ने तयारी रहेको बताउनुभयो । गाउँघरमा सिंहदरबार नारालाई अझै स्थापित गर्ने र जनताको रक्षाका निम्ति खेलेका भूमिकाबारे जानकारी गराइने उहाँले बताउनुभयो ।

समाजवादीद्वारा निर्वाचन परिचालन कमिटी
नेकपा (एकीकृत समाजवादी) मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) मकवानपुर अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो ।

कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा एसका अध्यक्ष पोखरेलले बताउनुभयो । सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान सञ्चालनका लागि सहजकर्ता तोकेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष पोखरेलले हाल निर्वाचन केन्द्रित भेला, १५ गते १० वटै पालिकाको बैठक राखेर १ सय २ वटै वडामा जाने कार्यक्रम गरिने भन्दै गठबन्धन कायम राख्न वार्ता अभियान भइरहेको बताउनुभएको छ ।

राप्रपाको गाउँ–गाउँमा भेला
स्थानीय तह निर्वाचनका लागि राप्रपा मकवानपुरले गाउँ–गाउँमा भेला गरिरहेको राप्रपा मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो । हाल जनताले नयाँ खोजेको अवस्थामा देशमा भइरहेको भ्रष्टाचार, महँगीजस्ता जनताले भोग्नुपरेका पीरमर्का बुझेर जनतामाझ मत माग्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

वडा कमिटीलाई जिम्मेवारी दिएर उम्मेदवार छनोट सम्बन्धी काम भइरहेको सापकोटा बताउनुहुन्छ । स्थानीय तह निर्वाचनमा राम्रो नतिजासमेत आउने दाबी उहाँको छ । २०७४ को स्थानीय तह निर्वाचन मकवानपुरमा नेकपा एमाले पहिलो स्थानमा थियो भने कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो स्थानमा थियो ।