कांग्रेस काभ्रे १ मा संसदीय समिति गठन

0
Shares

काभ्रे ।

नेपाली कांग्रेस काभ्रेले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा संसदीय समिति गठन गरेको छ । यो समितिले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडा अध्यक्षसम्मको उम्मेदवारलाई टिकट दिन्छ । जिल्लामा चुनाव प्रचारप्रसारमा आक्रमक ढंगले गाउँगाउँ पसेको कांग्रेस काभ्रे क्षेत्र नम्बर १ ले केन्द्रीय संसदीय समिति गठन पूर्व नै संसदीय समिति गठन गरेको छ । केन्द्रीय संसदीय समिति गठनको मुख्य एजेन्डासहित शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ ।

कांग्रेसले उम्मेदवारलाई टिकट बाँड्न चार तहको संसदीय समिति बनाउँदै छ । जसमा वडा अध्यक्षसम्मको उम्मेदवार छनोट प्रतिनिधिसभा संसदीय समितिले गर्छ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनोट जिल्ला संसदीय समितिले गर्छ । नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट प्रदेश संसदीय समितिले गर्छ भने महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि उम्मेदवार छनोट केन्द्रीय संसदीय समितिले गर्छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र सचिव संसदीय समितिको पनि सभापति र सचिव हुने व्यवस्थाबमोजिम काभ्रे क्षेत्र नम्बर १ को संसदीय समितिको सभापति दिनेश लामा छन् भने सचिवमा विद्यासागर लामा रहेका छन् । समितिका पाँच सदस्यमा गोर्खामान लामा, कमला खनाल, लालकुमार पाख्रिन, ज्ञानी तामाङ र देवराज लामा रहेको संसदीय समितिका सचिव विद्यासागर लामाले जानकारी दिनुभएको छ । यो क्षेत्रको संसदीय समितिमा पूर्वसांसदको हैसियतमा जिल्ला सभापति तीर्थ लामा छन् भने केन्द्रीय सदस्यमा गणेश लामा रहेको सचिव लामाले बताउनुभएको छ । गुटको आधारमा संसदीय समितिमा रहेका सबै संस्थापन पक्षका हुन् ।

काभ्रे १ को संसदीय समितिले नौवटा स्थानीय तहको ६९ वडा अध्यक्षसहित २ सय ७६ जना वडा सदस्यलाई टिकट दिन्छ ।

काभ्रे प्रतिनिधिसभा १ मा नौवटा स्थानीय तहको ६९ वडा पर्छ । जसअन्तर्गत पनौती नगरपालिकाको ७ वडा, धुलिखेल नगरपालिकाको ५ वडा, नमोबुद्ध नगरपालिकाको पूरै ११ वडा, तिमाल गाउँपालिकाको ९ वडा, चौंरीदेउराली गाउँपालिकाको ९ वडा, रोशी गाउँपालिकाको पूरै १२ वडा, महाभारत गाउँपालिकाको ८ वडा, खानीखोला गाउँपालिकाको ७ वडा र बेथानचोक गाउँपालिकाको एउटा वडा यो क्षेत्रमा पर्छ । काभ्रे प्रतिनिधिसभा १ को संसदीय समितिले ६९ जना वडा अध्यक्षसहित प्रत्येक वडामा चार जना सदस्यको दरले २ सय ७६ जना सदस्यको उम्मेदवारलाई टिकट बाँड्नुपर्छ ।

कांग्रेसको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत सबैभन्दा पहिले वडा कार्यसमितिबाट स्थानीय तहको वडा अध्यक्षका लागि एक महिलासहित बढीमा तीन जनाको नाम सहमति, सहमति नभए बहुमतको आधारमा निर्णय हुन्छ । वडा सदस्यहरूका लागि पनि एक पदका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस हुन्छ । वडा कार्यसमितिले सिफारिस गरेको नाम गाउँ/नगर कार्यसमितिमा पठाइन्छ । गाउँ/नगर कार्यसमितिले आफ्नो रायसहित प्रदेशसभा कार्यसमितिमा पठाउँछ । प्रदेशसभा कार्यसमितिले प्रतिनिधिसभा कार्यसमितिमा रायसहित पठाउँछ । प्रतिनिधिसभा कार्यसमितिले फेरि प्रतिनिधिसभा संसदीय समितिमा आफ्नो रायसहित पठाउँछ । अन्तिममा प्रतिनिधिसभा संसदीय समितिले वडा अध्यक्ष र सदस्यको उम्मेदवार अनुमोदन गरी घोषणा गर्छ ।