चुनाव आयो विकल्प आएन



स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु आ–आफ्नो पक्षमा मतदान गराउन जनताको घरदैलो पुगेका छन् । आगामी एक महिना यो क्रम अझै बढ्नेछ । मतदाताको ढोकामा पुगेका नेताहरु क्रमशः बैठक र भान्सासम्म पनि पुग्नेछन् । उनीहरु आफूले निर्वाचन जिते जनताको आँगन, भातभान्सा, शयन कक्ष सबै परिवर्तन गराउने आश्वासन दिन तयार छन् । जनताले आजका सबै दललाई संघदेखि प्रदेश वा स्थानीय तहसम्ममा कतै न कतै परीक्षण गरिसकेका छन् । जुन दललाई मतदान गरे पनि सारमा कुनै भिन्नता नआउने मतदातालाई थाहा छ । तर, जनतासँग उत्तम विकल्प छैन, नराम्राहरुबाटै कम नराम्रालाई मतदान गर्न बाध्य हुनुपरेको छ ।

प्रायः सबै राजनीतिक दलहरु चुनावलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार गरिरहेका छन् । देश चुनावमय बन्दैगएको छ । सबै दलका सबै शीर्ष नेताहरु जिल्ला दौडाहामा छन् । अहिले राजनीतिक दलहरु यति चलायमान भएका छन् कि पाँच वर्षभित्र गर्न नसकेको प्रचार–प्रसार दुई सातामै गरेका छन् । ठूला राजनीतिक दल मात्र हैन, साना राजनीतिक दलको पनि सक्रियता बढेको छ । एकले अर्को दललाई नराम्रो देखाउँदै भोट माग्नेहरुले आफ्नो पार्टीको एजेण्डा, विचार र लक्ष्य भने देखाउन सकेका छैनन् । अहिले निर्वाचनमा होमिएका राजनीतिक दलहरुले २०औं वर्षदेखि जनतालाई झुक्काइरहेका छन् । चुनावअघि ढाँटछल गरेर भोट लिने र सत्तामा पुगेपछि देश र जनतालाई वेवास्ता गर्दै आफ्नो र आफ्नो दलको स्वार्थमात्र पूरा गर्ने नेताहरु अझै सुध्रिएका छैनन् । राजनीतिमा इमान्दारी पटक्कै देखिएको छैन । दलहरुमा जसरी पनि सत्तामा पुग्ने रणनीति हाबी भएको देखिन्छ । पछिल्लो ३० वर्षको अवधिमा मुलुकमा परिवर्तन नभएको होइन, तर समृद्धिका ती परिवर्तनहरु आम जनताको भागमा परेका छैनन् । नेता र पहुँचवालहरुको मात्र जीवनस्तरमा सुधार आएको देखिन्छ । देशको नाममा, जनताको नाममा राजनीति गर्ने, सत्ता र शक्तिमा पुग्ने अनि आफ्नो स्वार्थ मात्र पूरा गर्ने चरित्र नेतामा अझ बढेको छ । जनताले यसको सजाय दिने यहि एक दिन हो– मतदान गर्ने दिन ।

दल र नेताहरुले जसरी आफ्नो पक्षमा मत पार्नलाई अहिलेदेखि योजना बुनिरहेका छन्, त्यसैगरी मतदाताहरुले पनि अहिलेदेखि नै दल र दलका नेताहरुको मूल्यांकन गर्नुपर्छ । मतदाताको एक दिनको गल्तीले पाँच वर्ष पछुताउनु पर्छ । बढी भ्रष्ट दल र नेताहरुले जिते भने पाँच वर्ष देश र जनतामाथि ठगीधन्धा पनि बढी मात्रामै चलाउने छन् । दुर्भाग्यवश स्वीकार गर्नैपर्छ, भ्रष्टाचारमुक्त कोही पनि देखिएन । आर्थिक चलखेललाई मात्र भ्रष्टाचार नभनी अंगीकार गरेको नीतिमा विचलन र प्रतिवद्धताबाट पलायनलाई समेत भ्रष्टाचारको दायरामा राखेर हेर्दा भ्रष्टाचारमुक्त दल र नेता पाउनु दुर्लभ भएको छ । जनताको चेतना र बौद्धिक स्तरमाथि उठेका कारण दल र नेताको भ्रष्टाचारले लतपत अनुहार पहिचान गर्न उनीहरुलाई गाह्रो छैन, गाह्रो केबल कम भ्रष्टाचारी पहिचान गर्न मात्र छ ।

प्रतिक्रिया दिनुहोस्