पारस र सावित्रा दशककै उत्कृष्ट खेलाडी



काठमाडौं ।

यसपटक फरक ढंगले संचालित पल्सर स्पोर्टस अवार्डमा पारस खड्का र सावित्रा खड्का दशककै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको १८औं संस्करणमा दशकको मूल्यांकन गरिएको हो । कोरोनाले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा मञ्चले पुरुष र महिला खेलाडी तथा प्रशिक्षकतर्फ दशकमा गरिएको प्रदर्शनको आधारमा मूल्यांकन गर्नुपरेको हो । आयोजकको अनुसार खेलाडीको मनोनयन गर्न नै गाह्रो परेको थियो ।

दशकको प्रदर्शनको आधारमा उत्कृष्ट पुरुष खेलाडी घोषित गर्नुपर्दा पारसबाहेक अन्य खेलाडीको कल्पना पनि गर्न सक्दैन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसले आफ्नो कप्तानीमा नेपाली क्रिकेटको उचाइ दिएका थिए । उनी आउनुअघि नेपाली क्रिकेटको उचाइ खासै रहेको थिएन । तर, उनको आगमनपछि नेपाली क्रिकेटले गति लिन पुग्यो ।

पारसले आफ्नो कप्तानीमा सन् २०१४ मा टी २० विश्वकपमा नेपाललाई प्रतिस्पर्धा गराउन सफल भयो । उक्त प्रतियोगितामा नेपाल फाइनल चरण पुग्ने अभियानमा केवल आयोजक टिम बंगलादेश तगारो बनिदिएको थियो । जबकि, नेपालले समूहमा अरू दुई टिम हङकङ र अफगानिस्तानलाई हराएको थियो । यसपछि भने नेपालले विश्वकपमा खेल्न पाएको छैन । विश्वकप नेपाली क्रिकेटमा मात्रै नभएर नेपाली खेलकुदले पाएको सबैभन्दा ठूलो उपलब्धि समेत हो ।

यसैगरी, पारसले सन् २०१८ मा नेपाललाई ऐतिहासिक ओडीआई (एकदिवसीय) मान्यता दिलाएका थिए । टोलीलाई ओडीआई र टी–२० आई मान्यता दिलाउँदा उनको आफ्नै प्रदर्शन र कप्तानी दुबै शानदार रहेको थियो । दुवै फरम्याटमा ऐतिहासिक शतक प्रहार गर्ने उनी पहिलो नेपाली क्रिकेटर समेत हुन् । यस्तै, पारसले २०१९ मा युएईविरुद्धको तेस्रो ओडीआईमा १ सय १५ रनको शतक प्रहार गरेका थिए । पारसको उत्कृष्ट सानदार शतकको सहयोगमा नेपालले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । जुन नेपालले जितेको पहिलो ओडिआई सिरिज थियो ।

पाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत दशककै उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् ।

सावित्राको लोभलाग्दो करियर
सावित्राले सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । लगातार खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि वर्चश्व जमाउँदै आएकी छन् । नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेल्दै आएकी सावित्राले भारतीय लिगमा पनि खेलेकी छन् ।

२५ वर्षीया सावित्राले राष्ट्रिय टोलीका लागि ३८ गोल गरेकी छन् । यो नेपाली महिला फुटबलरले अन्तर्राष्ट्रिय खेलमा गरेको सर्वाधिक गोलसंख्या पनि हो । उनकै कारण नेपाली महिला टिम दुईपटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको छ । यद्यपि, नेपालले उपाधि भने जित्न सकेको छैन । त्यस्तै, उनी सम्मिलित राष्ट्रिय टोलीले १२औं र १३ दक्षिण एसियाली खेलकुदमा रजत पदक हासिल गरेको थियो ।

एलिना पिपल्स च्वाइस
नेपाली टेबलटेनिसकी महिला खेलाडी एलिना मर्हजन पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस बन्न सफल भइन् । एलिनाले क्रिकेटमा जमिरहेका ओपनर कुशल भुर्तेल, युवा लोकप्रिय शटलर प्रिन्स दाहाल, एथ्लेटिक्सकी गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठ र नेपाली महिला फुटबलकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् ।

एलिनाले विभिन्न मतमार्फत उक्त अवार्ड जितेकी हुन् । एलिनाले ४७.८३३ मत प्राप्त गर्दै आफूलाई पिपल्स च्वाइसमा अग्रपंक्तिमा उभ्याइन् । उनी नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडीसमेत हुन् । त्यस्तै सागमा लगातार दुईपदक (१२ र १३औं दक्षिण एसियाली खेलकुद) महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल खेलाडी पनि हुन् ।

पुष्पालाई स्पेसल अवार्ड
धाविका पुष्पा भण्डारी पल्सर स्पोर्टस अवार्डमा स्पेसल अवार्डबाट सम्मानित भइन् । पुष्पा ‘स्पेसल अवार्ड पर्फमर अफ दि इयर’बाट सम्मानित भएकी हुन् । कोरोना संक्रमणका कारण लगभग ठप्प भएको खेलमा पुष्पाको सफलताले केही राहत दिएकी थिइन् । गत वर्ष नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ पुष्पाले दिलाएकै सफलता एक मात्र रह्यो ।

गतवर्ष पुष २६ गते बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा उनले स्वर्ण पदक जितेकी थिइन् । त्यसमा उनले दुई भारतीय धाविकालाई पछि पार्दै स्वर्ण जितेकी थिइन् । उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा उक्त दौड पूरा गरेकी थिइन् । दुई वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुष्पाले रजत पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्