सल्यानमा खानेपानीको अभाव, ४० प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर


सरिता चलाउने, सल्यान । 

सल्यानको कालीमाटी गाउँपालिका ७ -याङका स्थानीयले बर्षौ देखि खोलाको पानी पिउँदै आई रहेका छन् । खानेपानीको स्रोत नभएपछि -याङका ७५  घरधुरीका स्थानीयले बर्षौ देखि खोलोको पानी खान बाध्य भएका हुन । गाउँपालिका देखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको अन्य व्यवस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका छन्  ।

लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको गुनासो  छ । स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारमा परेको  स्थानीय तिली पुनले बताउनु भयो  । वर्षामा धमिलो पानी खाने गरेको र आज भोलि खोलाको पानी पनि सुक्दै गएकाले समस्या भएको बताउनु भयो । शुद्ध खानेपानीको अभाव हुँदा अहिले खोलाको पानी खाँदा बिरामी पर्न थालेका उहाँले बताउनु भयो  ।

 खाना बनाउने खाने तथा सरसफाइ गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरिएको अर्का स्थानीय पवित्रा पुनले बताउनु भयो । खोलाको फोहर पानी खादै आएका कारण धेरै स्थानीयलाई स्वास्थ्यमा समस्या आउने गरेको उहाँले बताउनु भयो  बताउनुभयो । उहाँले भन्नु भयो,‘ आज भोलि त खोलामा सफा पानी आउँछ, तर वर्षामा धमिलो पानी पनि खान बाध्य हुन्छौँ, हामी बिरामी हुन्छौँ । गर्मियाम लागेसँगै खोलाको पानी पनि सुक्दै गएकाले अब यही खोलाको पानी पनि नपुग्ने समस्या भएको उहाँले बताउनु भयो ।

सो क्षेत्रमा खानेपानीको अभाव रहेको जानकारी भएको र त्यसको व्यवस्थापनमा निरन्तर लागि परेको कालीमाटी गाउँपालिका ७ का वडा अध्यक्ष नैनसिँह रानाले बताउनुभयो । वडामा थोरै बजेट आउने भएकाले सानो बजेट बाट काम गर्न नसकेको बताउनु भयो । खानेपानीको लागि पूर्वाधार विकास कार्यालय र विभिन्न संघ सस्था सँग अनुरोध गरिएको वडा अध्यक्ष रानाले बताउनु भयो ।

जिल्लमा ६० प्रतिशत उपभोक्ताले खानेपानी पाएको खानेपानी सिचाई तथा ऊर्जा विकास कार्यालय सल्यानको तथ्यांक छ । जसमध्य ४० प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेको कार्यलयले जनाएको छ । सल्यानका अधिकांश क्षेत्र सुख्खा हुनुका साथै पानीका मुहानहरू पनि पर्याप्त नहुँदा समस्या हुने गरेको छ ।