सुकुम्वासीको जग्गा बेच्न नदिँदा आमाको हत्या 

0
Shares

पोखरा ।

पोखरा महानगरपालिका १२ शीतलादेवीका ओमबहादुर नेपालीले जग्गा बेच्न नदिँदा आफ्नै आमा मार्न छोराले सुपारी दिए ।  पटक पटक जग्गा बेच्न खोज्दा आमाले नमानेपछि ३६ वर्षीय ओमबहादुरले आमालाई मार्नका लागि आफ्नै साथीलाई १ लाख दिन्छु भन्दै हत्या गर्न लगाए ।
शीतलादेवी स्थित सुकुम्वासी क्षेत्रमा बस्दै आएका ओमबहादुर नौमाया नेपालीका जेठो छोरा हुन् ।

छोराले सुकुम्वासीको जग्गा १५–१६ लाख रुपैयाँमा बेच्न चाहन्थ्यो तर आमाले भने मानिनन् । आमा बाधक बनेपछि ओमबहादुरले हत्या नै गर्ने योजना बनाए । उनले ३७ वर्षीय साथी कुमार गुरुङलाई आमाको हत्या गरेबापत १ लाख रुपैयाँ दिने बचन दिए । कुमारले पनि १ लाख पाउने भए पनि सङ्कोच नै मानेनन् । अबेरसम्म रक्सी खाएर मातमा रहेका ओमबहादुरले घर फर्किने क्रममा कुमारलाई भन्छन्, ‘मेरी आमालाई मार म बाहिर बस्छु’ त्यति भन्दै ओमबहादुरले आमा सुतिरहेको कोठाको औलो आफैले खोल्छन् र कुमारलाई भित्र पठाउँछन् । आफूचाहिँ बाहिर बस्छन् । उनको योजना थियो आमालाई मार्ने अनि कुमारकै घरमा गएर सुत्ने ।

 कुमार पनि सरासर कोठामा पुगी सुतिरहेकी नौमायाको घाँटी थिच्छन् । घाँटी थिचेकै कारण नौमायाको मृत्यु हुन्छ । त्यसपछि कुमार र ओमबहादुर दुवै कुमारको कोठामा गई सुत्छन् । शुक्रवार अर्थात् ४ गते बिहान ओमबहादुर घरमा पुग्छन् । आमाको मृत्यु गरेको भन्दै हारगुहार गरी प्रहरीलाई समेत आफैले खबर गर्छन् ।

आफू घरमा नभएको समयमा आमाको हत्या भएको प्रहरीलाइ उनले सुनाउँछन् । खबर पश्चात घटना स्थल पुगेको प्रहरीले घाटनाको विवरण तयार पार्दा अनुहारमा आलो घाउ र घाँटीमा थिचेको जस्तो देएको कारण मृत्यु स्वभाविक नभई कर्तव्यबाट भएको प्रहरीले निष्कर्ष निकाल्छ । घटनास्थलको प्रारम्भिक अनुसन्धानले प्रहरीलाई थप अनुसन्धान तर्फ लैजाँदै गर्दा जग्गाको विषयमा विवाद भएको खुल्न आउँछ । सोही आधारमा उनीमाथि अनुसन्धान गर्दा हत्या भएको प्रहरी सामु स्वीकार गरेका छन् ।

मृतकका अर्का छोरा टेकबहादुरले आमाको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । ‘हामीले जाहेरीको आधारमा पक्राउ गरेका हौँ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुन्दर तिवारीले भन्नु्भयो,‘सुकुम्वासीको जग्गा भोग चलान गर्दै आइरहेका रहेछन् । जग्गा बेच्न मिल्दैन तर नामसारी गर्न मिल्दो रहेछ ।’ सुकुम्वासीको जग्गा भएकाले के कति भनेर नाप नभएको उहाँले बताउनुभयो । पक्राउ परेका ओमबहादुर र कुमार विरुद्ध फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ कसुरमा मद्धा दर्ता गरिएको छ ।