काभ्रे कांग्रेस गठबन्धन र तालमेल बारे दोधारमा

जिल्लामा महिला उम्मेदवारको चर्चा शून्य



काभ्रे ।

स्थानीय निर्वाचन नजिकिए सँगै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस भित्र उम्मेदवार को हुने भन्ने बारेमा चर्चा शुरु हुन थालेको छ । उमेद्वारको लागि टिकट वितरण गर्ने संसदीय समिति गठन गर्ने प्रक्रियामा रहेको कांग्रेसले चुनाव लक्षित घरदैलो अभियानका साथै पार्टी संगठन सुदृढिकरण अघि बढाइरहेको छ । राजधानी बाट नजिक रहेको काभ्रे जिल्लामा पनि कांग्रेसले चुनाव लक्षित कार्यक्रमलाई तीव्रता दिँदै गाउँ गाउँ पुगिरहेको छ ।

पार्टी सङ्गठनलाई मजबुत बनाउँदै प्रत्येक वडाको टोल टोल सम्म पुगेको काभ्रे कांग्रेस गठबन्धन बारे भने अलमलमा छ । १३ पालिका रहेको काभ्रेमा अघिल्लो निर्वाचन कांग्रेसले चार पालिकामा मात्र नेतृत्व लिन सफल भएको थियो । काभ्रेमा दुई पालिकामा माओवादीको नेतृत्व छ भने सात पालिकामा एमालेले जितेको थियो । आफूले जितेको सात पालिका मध्य एक पालिकाका प्रमुख माधवकुमार नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादीमा गएका छन् ।

बीस हजार भन्दा बढी क्रियाशील सदस्य रहेको काभ्रेमा अधिवेशन लगत्तै निर्वाचन केन्द्रित रणनीति र गतिविधिका साथ काग्रेस वडा तहमा केन्द्रित भएको थियो । अहिले घर–घर जाऔँ कांग्रेस जिताऔँ अभियानमा पार्टीको सबै संरचना परिचालनका साथ नेताहरू गाउँ गाउँ पुगिरहेका छन् । जिल्लामा चुनाव लक्षित गतिविधि तीव्रताका साथ अघि बढाइरहेको काभ्रे कांग्रेसमा अहिले कुन पालीकामा को उम्मेदवार होलान् भन्ने चर्चा चलिरहेको छ ।

कांग्रेसका जिल्ला स्तरीय नेताहरू र अगुवा कार्यकर्ताहरू सँगको कुराकानीमा पालिका प्रमुखको रूपमा चर्चामा रहेका दुई दर्जन भन्दा बढी िनेताहरुमा महिलाको चर्चा भेटिएन । गत निर्वाचनमा पनि महिलालाई उपप्रमुखमा मात्र उठाएको कांग्रेसले यो पटक पनि महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने सम्भावना न्यून देखिएको छ ।

जिल्लाको व्यापारिक केन्द्र समेत रहेको बनेपा नगरपालिकामा प्रमुखको रूपमा राम जोशी, महेश कर्माचार्य, शान्ति रत्न शाक्य लगाएतका नेताहरुको चर्चा रहेको पाइएको छ । जोशी अघिल्लो निर्वाचनमा पनि प्रत्याशी थिए । अघिल्लो निर्वाचनमा एमाले सँग १ हजार ७ सय ५० कमले पराजित भएको जोशीको यो पटक पनि चर्चामा रहे पनि कर्माचार्य र कायस्थ आफ्नो नाममा टिक ल्याउन लागिपरेका छन् । बनेपा कांग्रेसमा हालै मात्र प्रवेश गरेका सुरकृष्ण वैद्यले टिकट ल्याउने दाबी पनि भइरहेको छ ।   कर्माचार्य नगर सभापति हुन भने शाक्य पनि बनेपाको चर्चित व्यक्ति हुन । जोशी र कर्माचार्य संस्थापन पक्षका हुन भने शाक्य प्रकाशमान सिंह पक्षको भएको बताइएको छ । बनेपाको प्रमुखमा प्रचण्डमान प्रधानको नाम पनि चर्चामा छ ।

धुलिखेल नगरपालिकामा रमेश प्रसाद हुमागाईँ, जितकृष्ण घिनाञ्जु र समिर व्याञ्जुको नाम बढी चर्चामा आइरहेको छ । अघिल्लो निर्वाचनको मत परिणाम अनुसार दुई हजार मत कम रहेको कांग्रेसले यो पटक वडा नं ८ का एमालेबाट निर्वाचित वडा अध्यक्ष निराजन जंगमलाई कांग्रेस प्रवेश गराएको छ भने अन्य वडाहरूमा पनि सङ्गठनलाई बलियो बनाउँदै पार्टी संरचना परिचालन गरेको छ । धुलिखेलमा गत निर्वाचनका प्रत्याशी हुमागाईँ दुई पटक क्षेत्रीय सभापति भैसकेका व्यक्ति हुन भने हाल जिल्ला उपसभापति छन् । धुलिखेललाई केन्द्र बनाएर लामो समय देखि कानुन व्यवसाय गर्दै आएका हुमागाईँले यस पटक पनि टिकट ल्याउने सम्भावना छ ।

काभ्रेको ऐतिहासिक नगर पनौती नगरपालिकामा कांग्रेसबाट नगर सभापति रामशरण भण्डारी चर्चाको अग्र भागमा छन् । पनौतीमा विदुर बन्जारा र भोला थापाको पनि चर्चा चलिरहेको छ । गत निर्वाचनको मत परिणाम अनुसार तीन हजार भन्दा बढी मत अन्तरले पराजित काग्रेसले यो पटक तीन महिना अघि देखि नै निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ । नगर सभापति भण्डारी संस्थापन पक्षका हुन भने दुई कार्यकाल जिल्ला सदस्य पनि भएका थिए । लामो समय देखि कांग्रेस राजनीतिमा सक्रिय भण्डारीले पनौतमिा  टिकट ल्याउने सम्भावना रहेको कांग्रेस कार्यकर्ताहरू बत्ताउँछन् ।

यसअघि कांग्रेसले चुनाव जितेको पाँचखाल नगरपालिकामा पनि कांग्रेसका आकांक्षी थुप्रै देखिएका छन् । पाँचखालमा प्रमुखको लागि नगर सभापति सञ्जय लामाको चर्चा चलिरहेको बेला नगरप्रमुख महेश खरेलले पनि पुन उम्मेदवारी दिने चर्चा चलिरहेको छ । पाँचखालमा प्रदेशसभा क्षेत्रीय सभापति हेम लामाको नाम पनि चर्चामा रहेको छ । अघिल्लो निर्वाचनमा ५ सय ५६ मत अन्तरले विजयी भएको कांग्रेसले एमाले भित्रको अन्तर्घातको फाइदा उठाएको थियो । काभ्रेको नमोवुद्ध नगरपालिकामा भने फेरी कुन्साङ लामाले नै टिकट ल्याउने सम्भावना देखिन्छ । नगर सभापति लामाको विकल्प नभएको भन्दै नमोवुद्धमा प्रमुखको दाबेदारको रूपमा इन्द्र दाहाल र रोशन पाण्डेको नाम पनि चर्चामा रहेको छ ।

काभ्रेको मण्डन देउपुर नगरपालिकामा कांग्रेसका अच्युत पौडेल, माधव ढकाल, रामहरि सापकोटा र कस्यप पौडेलको नाम चर्चामा आएको छ । एमालेबाट निर्वाचित मण्डन देउपुरका प्रमुख टोकबहादुर वाइवा माधवनेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा गए सँगै एमाले कमजोर भएको काग्रेसको आकलन छ । यो नगरपालिकामा चर्चा धेरैको भए पनि माधव ढकाल र कस्यप पौडेल मध्य एकले टिकट ल्याउन काग्रेस भित्र चर्चा छ । अघिल्लो निर्वाचनमा करिब १ हजार तीन सय मत अन्तरले कांग्रेस पराजित भएको थियो ।

जिल्लाको भुम्लु गाउँपालिकामा कांग्रेसबाट तस्बिर लामा र दावा लामाको चर्चा रहेको छ । भुम्लु गाउँपालिकाका तस्बिर लामा सर्वसम्मत सभापति हुन । भुम्लुमा यस अघि कांग्रेस करिब ६ सय मत अन्तरले पराजित भएको थियो । यता माओवादीले जितेको चौरी देउराली गाउँपालिका प्रमुखमा कांग्रेसबाट विक्रमराज गौतम, शेरवहादुर तामाङ, आश्विन चौलागाई लगाएतको चर्चा छ । अघिल्लो निर्वाचनमा  नौसय मत अन्तरले पराजित भएको कांग्रेसले यो गाउँपालिकामा गौतम र तामाङ मध्य एकले टिकट पाउने बताइन्छ ।

यता कांग्रेस जितेको बेथानचोक गाउँपालिकामा यस पटक पनि प्रेम बहादुर तिमल्सिनाकै नाम बढी चर्चामा रहेको छ । करिब एकहजार मत अन्तरले विजयी हासिल गरेको यो गाउँपालिकाको प्रमुखमा खजेन्ची लामा र भगवान अधिकारीको नाम पनि चर्चामा छ । यस अघि कांग्रेसले नै जितेको तेमाल गाउँपालिकामा वर्तमान प्रमुख सलामसिंह लामा, गुमान सिंह लामा, जोगलाल लामा लगाएको नाम चर्चामा छ । यी मध्य गुमान सिंह प्रदेशसभा सदस्य र जिल्ला सभापति तीर्थ लामा निकट भएकोले उहाँले टिकट ल्याउने दाबी कांग्रेस कार्यकर्ताहरूको रहेको छ ।

यस अघि कांग्रेसले जितेको चार पालिका मध्य रोशी गाउँपालिकामा संस्थापन पक्षका गुणराज मोत्तानको नाम चर्चामा छ । यो गाउँपालिकामा वर्तमान प्रमुख दल बहादुर लामा तथा क्षेत्रीय सभापति दिनेश लामाको नाम चर्चामा रहे पनि मोक्तानले नै टिकट ल्याउन दाबी गरिएको छ । रोशी गाउँपालिकामा अघिल्लो निर्वाचनमा कांग्रेस ४ हजार ३ सय ७२ मत आएको थियो भने प्रतिपक्षको २ हजार ९ सय ५७ मत आएको थियो । अघिल्लो निर्वाचनमा थोरै मतले माओवादी सँग पराजित भएको महाभारत गाउँपालिकामा युवा माझ लोकप्रिय सागर लामाको नाम चर्चामा छ । यो पालिकामा रकम सिंह घलान पनि सक्रिय छन् । चर्चामा रहेका दुवै संस्थापन पक्षको नभएको बताइन्छ ।

एमालेले जितेको खानी खोला गाउँपालिका प्रमुखमा पालिका सभापति दोर्जेमान जिम्बाको नाम चर्चामा आइरहेको छ । यो गाउँपालिकामा हस्तवहादुर ध्यावा र रेशम वल पनि प्रमुखका दाबेदार छन् । काग्रेस जिल्ला नेताहरूका अनुसार खानी खोला गाउँपालिका प्रमुखमा कांग्रेसबाट रेशम र दोर्जेमान मध्य एकले टिकट ल्याउने देखिएको छ ।

अघिल्लो निर्वाचन भन्दा दोब्बर क्रियाशील सदस्य बनाएको कांग्रेस भित्र अहिले तुलनात्मक रूपमा आन्तरिक एकता पनि मजबुत बन्दै गएको देखिन्छ । केन्द्र देखि गाउँ तहसम्म गुट उपगुटमा विभाजित कांग्रेसले आन्तरिक एकता मजबुत बनाउँदै निर्वाचन केन्द्रित गतिविधि आक्रामक ढङ्गले अघि बढाए पछि कांग्रेसको पक्षमा माहौल ह्वात्तै बढेको कांग्रेस प्रतिनिधिसभा एकका सभापति दिनेश लामाको भनाई छ ।

यी हुन् चर्चामा रहेका उम्मेदवारहरु 

अच्युुत पौडेल
भोला थापा
बिदुर बन्जारा
बिक्रम गौतम
काश्यव पौडेल
दावा लामा
दोर्जे मान
गुमानसिंह तामाङ
गुणराज मोक्तान
हेम तामाङ
इन्द्र दाहाल
जितकृष्ण
जाेगलाल तामाङ
माधव ढकाल
महेश कर्माचार्य
रमेश हुमागाईँ
रमेश भण्डारी
रोशन पाण्डे
सागर मोक्तान
समिर व्याञ्जु
शान्तिरत्न शाक्य
सुरकृष्ण बैद्य
तस्बिर लामा

 

 

प्रतिक्रिया दिनुहोस्