आईपीयूको १४४औं सम्मेलन इन्डोनेशियाको बालीमा शुरू

अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी



काठमाडौं ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४‌औं सम्मेलनमा इन्डोनेशियाको बालीमा आइतबार साँझबाट शुरू भएको छ । विश्वभरबाट १ सय भन्दा बढी देश सहभागी उक्त सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेको छ।

अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशिया संसदको आयोजनामा आइतबारदेखि शुरु भएको उक्त सम्मेलन चैत्र १० गतेसम्म चल्नेछ। सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्न: जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसदको परिचालन’ विषयमा बोल्ने कार्यक्रम रहेको छ।

त्यस्तै सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड-१९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

सोही अवसरमा गभर्निङ काउन्सिलको २०९औँ सत्रमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा अनिता देवकोटा र भैरव सुन्दर श्रेष्ठले सहभागिता जनाउनुहुनेछ । उक्त अवसरमा विभिन्न विषयमा हुने विभिन्न छलफल कार्यक्रममा प्रतनिधिमण्डलले सहभागिता जनाउने बताइएको छ । त्यस्तै महिला सांसद सदस्यहरुको बैठक र छलफलमा देवकोटा र युवा संसद सदस्यहरुको बैठकमा उमाशंकर अरगरियाले सहभागिता जनाउनु हुनेछ।

अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की र उमाशंकर अरगरिया सहभागी हुनुहन्छ । त्यसैगरी संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय भ्रमण टोलीमामा सहभागी हुनुहुन्छ । सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत्र ११ गते शुक्रवार नेपाल फर्कनेछ।

प्रतिक्रिया दिनुहोस्