तोकिएको समयमा उम्मेदवारको टुंगो लगाउन कांग्रेसलाई सकस



काठमाडौं ।

कांग्रेसको विधानमा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिना अगाडि नै उम्मेदवारबारे अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख भए तापनि यसपटक एक महिना अगाडि आफ्ना उम्मेदवारको टुंगो लगाउन नसक्ने भएको छ ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गरिने कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसको उम्मेदवारीबारे अन्तिम निर्णय गर्ने संसदीय समिति गठन भइनसकेका कारण एक महिना अगाडि उम्मेदवारको टुंगो लगाउन सम्भव नभएको हो ।

कांग्रेस विधानमा वडाअध्यक्षसम्मको उम्मेदवारको अन्तिम टुंगो प्रदेशसभा संसदीय समितिले लगाउने व्यवस्था छ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवारको अन्तिम टुंगो जिल्ला संसदीय समितिले लगाउने व्यवस्था छ । नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि उम्मेदवार छनौट गर्ने अधिकार प्रदेश संसदीय समितिलाई दिइएको छ । महानगरपालिकाको प्रमुख र उपप्रमुखको छनौट भने केन्द्रीय संसदीय समितिले गर्नेछ ।

१४औं महाधिवेशनलगत्तै चार महिनाअघिदेखि चुनाव केन्द्रित रणनीतिका साथ अघि बढेको कांग्रेसले उम्मेदवार छनौट गर्ने संसदीय समिति भने अझै गठन गरेको छैन । कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गर्ने एजेन्डाका साथ चैत्र ११ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ११ गते बस्ने केन्द्रीय समिति बैठकले जारी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने एकमहिने अभियानको प्रारम्भिक समीक्षाका साथै संसदीय समिति पनि गठन गर्नेछ ।

कांग्रेस विधानमा केन्द्रीय संसदीय समितिको सभापति र महामन्त्री पार्टी सभापति र महामन्त्री नै हुन्छन् भने पदाधिकारीहरू पदेन सदस्य रहने व्यवस्था छ । संसदीय समितिमा केन्द्रीय सदस्यमध्येबाट बढीमा ११ जना सदस्य राखिन्छ । यतिखेर देशभर रहेका ६ महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारका लागि टिकट वितरण गर्ने संसदीय समितिमा रहने सदस्यहरू को हुने भन्नेबारेमा कांग्रेसभित्र चासो बढेको छ ।

केन्द्रीय संसदीय समिति गठनमै ढिलाइ भइरहेका बेला प्रतिनिधिसभा संसदीय समिति, जिल्ला संसदीय समिति र प्रदेश संसदीय समिति गठन हुन अझ ढिला हुने देखिन्छ । चुनावी अभियानकै सिलसिलामा सल्यान पुगेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्नुहुन्छ– ‘चैत्र महिनाभित्र कांग्रेसले उम्मेदवारको टुंगो लगाइसक्नेछ ।’ अघिल्लो निर्वाचनमा केही स्थानीय तहमा कांग्रेसले उम्मेदवार मनोनयन गर्ने बिहानसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्