आवश्यकताका आधारमा गठबन्धन : प्रवक्ता महत



सल्यान ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताका आधारमा गठबन्धन बनाएर निर्वाचनमा जाने बताउनुभएको छ । उहाँले जुन पार्टीसँग गठबन्धन गर्दा कांग्रेसको सिट सुनिश्चित हुन्छ सोहीसँग गठबन्धन गरेर जाने बताउनुभयो ।

आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व पराराष्ट्रमन्त्रीसमेत रहेका महतले निर्वाचनमा कोसँग गठबन्धन गर्ने भनेर स्थानीय स्तरबाट सुझाव संकलन भइरहेको र ११ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हरेक दलको लक्ष्य भनेको कसरी बढी सिट ल्याउन सकिन्छ भन्ने हुन्छ । त्यसअनुसार के गरेर जाँदा बढी सिट ल्याउन सकिन्छ । एकल जाँदा बढी सिट आउँछ कि गठबन्धन गरेर जाँदा बढी आउँछ सोहीअनुसार पार्टी अघि बढ्छ ।’ एकल निर्वाचनमा जाने विषयमा तत्काल केही भन्न नसकिने उहाँको भनाइ छ ।

उहाँले चैतभित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको टुंगो लाग्ने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन पार्टीको आन्तरिक चुनावजस्तो नभएकाले सुझबुझका साथ लाग्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । उरन्ठेला पाराले देश चल्न नसक्ने भन्दै उहाँले भन्नुभयो– ‘नेपाली जनताले पाँच वर्षका लागि कम्युनिस्टलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिनुभयो, तर तीन वर्ष पनि टिक्न सकेनन् । उनीहरू देश बनाउने र विकासको काम गर्नेभन्दा भ्रष्टाचारमा सीमित रहे । अब देश बनाउने जिम्मेवारी कांग्रेसका काँधमा आएको छ ।’
आकाश पाताल नै एउटै बनाउँछौं जस्तो गरेर धेरै कुरा गर्ने तर काम गर्ने परिपार्टीले देशले विकास गर्न नसकेको बताउनुभयो । सत्ता बाहिर हुँदा एउटा कुरा गर्ने सत्ताभित्र हुँदा अर्को कुरा पार्टी कांग्रेस नभएको महतको भनाइ छ । बाहिर राष्ट्रियताको ठूला नारा लगाउन लगाउने तर बोल्नुपर्ने ठाउँमा एक शब्द पनि चुइक्क नबोल्ने आफ्नो पार्टी नभएको बताउनुभयो । एमसीसी विशुद्ध विकास निर्माणका लागि अनुमोदन भएको बताउँदै उग्र राष्ट्रवादी बन्न जरुरी नरहेको उहाँको भनाइ छ ।

कम्युनिस्ट पार्टीसँग गठबन्धन नगरौं : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताउनुभएको छ । मोरङको सुन्दर हरैंचामा आयोजित कार्यक्रममा नेता कोइरालाले विचार नमिल्ने कम्युनिस्टसँग मिल्नुभन्दा पार्टीभित्रका गुटउपगुट अन्त्य गर्नेतिर सोच्नुपर्ने बताउनुभयो ।

‘कांग्रेस र कम्युनिस्टमा धेरै फरक छ । गठबन्धन गरे पनि कम्युनिस्टले कांगे्रेसलाई भोट दिँदैनन् । कम्युनिस्टसँग मिलेर चुनाव लड्नुभन्दा कांग्रेस–कांग्रेस मिलेर चुनाव लड्यो भने बरू जितिन्छ । पार्टीभित्र न्याय, समानता र एकताको भावना भयो भने चुनाव जित्न गठबन्धन गर्नै पर्दैन’ –कोइरालाले भन्नुभयो ।

उहाँले पार्टीभित्र गुट उपगुट अन्त्य गर्न सभापतिले सही भूमिका निर्वाह गर्नुपर्ने औंल्याउनुभयो । ‘पार्टीमा सबैको सम्मान भयो र कार्यकर्ताले न्याय पाए भने गुटउपगुट हुँदैन । तर सभापतिजीले त्यसको प्रत्याभूति गराउन सक्नुपर्छ । कसैमाथि विभेद भयो भने समस्या त पर्छ नि’ –कोइरालाले भन्नुभयो ।

उहाँले गठबन्धनबारे पार्टीभित्र दुवैखाले मत रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा केन्द्रबाट निर्णय गर्नुभन्दा पार्टीको स्थानीय समितिले नै आवश्यकताअनुसार निर्णय गर्न पाउनुपर्ने कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्