पन्त, सिंह र धानुकविरुद्ध लोकसेवा आयोगमा उजुरी



काठमाडौं, (नेस) ।

गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त रहेको ३ प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरेकोमा असन्तुष्ट सिनियर डीआईजीहरूले लोकसेवा आयोगमा उजुरी हालेका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ मा डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेपछि सिनियर डीआईजीहरू आफ्नै विभाग र सरकारप्रति असन्तुष्ट रहँदै आएका थिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरूले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् । डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका छन् ।

उक्त बढुवा नेपाल प्रहरीको नियमावलीविपरीत र स्वेच्छाचारी ढंगले भएको ठहर गर्दै डीआईजीहरू लोकसेवा कार्यालय पुगेका हुन् । संगठनभित्र राम्रा काम गर्ने भन्दा पनि आफ्ना मान्छे छान्ने सरकारी रवैयाका विरुद्ध आफू अदालतसमेत जान तयार रहेको डीआईजी कार्कीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

मन्त्रालयले गरेको सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने प्रचलन रहेको छ । कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरूलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट थियो ।

बढुवा सिफारिसमा परेका पन्त कार्यक्षमतामा अत्यन्तै कमजोर मानिन्छन । उहाँ भन्दा कार्यक्षमतामा बलियो मानिएका कार्कीद्वय बढुवा सूचीमा परेनन् । पछिल्लो ब्याचमा अत्यन्तै कमजोर कार्यक्षमता भएका धानुकलाई बढुवा सूचीमा समावेश गरिएकोमा उजुरीकर्ताहरूले आपत्ति जनाएका छन् । धानुकलाई बढुवा गर्न अर्थमन्त्री जनार्दन शर्माको एकल प्रयासले काम गरेको बताइएको छ ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी घनश्याम अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक, धीरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो । तर, गृह सचिव टेकनारायण पाण्डेले ‘बालुवाटारको रोजाइ’ का अधिकृतहरूलाई अघि बढाएपछि असन्तुष्टि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्