कर्णालीको पूर्वाधार विकासमा स्विस सरकारको चासो



जुम्ला ।

कर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले चासो व्यक्त गरेका छन् । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासबारे उनले चासो राखेका हुन् ।  आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत जोन हडाबीचको भेटमा क्याप्लरले कर्णालीको पूर्वाधार विकासमा विशेष चासो व्यक्त गरेका  हुन् ।

मोटरेवल स्थानीय सडक पुल कार्यक्रमको निर्देशन समितिको बैठकका अवसरमा स्विस राजदूत र मुख्यमन्त्री शाही सहित भौतिक पूर्वाधार मन्त्री, मन्त्रालयका सचिव तथा पूर्वाधार विभागका प्रतिनिधिसँग छलफल भएको छ । स्विस सरकारको प्राविधिक सहयोग कर्णालीमा लागु स्थानीय सडक पुल कार्यक्रमको चौथो चरणको योजना अन्तिम चरणमा छ । छलफलमा बोल्दै स्विस राजदूत एलिजाबेथ भोन क्याप्लरले कर्णालीको पूर्वाधार विकास स्विस सरकारको प्राथमिकतामा रहेको बताए ।

कर्णाली प्रदेश सरकारलाई लगानीमैत्री योजना तयार गर्न सुझाव दिँदै कर्णालीको पूर्वाधार विकासमा स्विस सरकार थप आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको उनले बताए । स्विस राजदूतले कर्णालीको पूर्वाधार विकास प्रति देखाएको चासोले विकट कर्णालीको पूर्वाधारले गति लिने आशा गरिएको छ । यता कर्णाली सरकारले प्राथमिकतामा आधारित लगानीमैत्री योजना तयार गर्न थालेको छ ।

भौतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणको लागि प्रदेश सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न लागेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले बताए  ।  कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासलाई तीव्रता दिन प्राथमिकतामा आधारित लगानी योजना महत्त्वपूर्ण रहेको बताए  । साथै उनले लगानीको चिन्ता नगरी विकास निर्माणका योजना कार्यान्वयनमा कर्मचारीलाई लापारवाही नगर्न निर्देशन निर्देशन दिए  ।

उनले भने,’लगानी योजनाबारे आइतबार स्वीटजरल्याण्ड सरकारका राजदूत संग छलफल भयो । कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार छ । लगानी गर्नुहोस् भन्यौ । कर्णालीको पूर्वाधार विकासलाई गति दिने आधार तय गर्ने बाटो खुलेको छ ।’

प्रतिक्रिया दिनुहोस्