प्रत्येक वर्ष १२ लाख मानिसको टाउँकोको चोटका कारण मृत्यु हुन्छ



काठमाडौं । 

विश्वमा प्रत्येक वर्ष १२ लाख मानिसको टाउँकोको चोटका कारण मृत्यु हुने गर्दछ । विश्वमा टाउकोको चोटबाट हुने मृत्युलाई पहिलो मौन मृत्युको संज्ञा दिईदै आएको छ ।  विश्व टाउकोको चोट जनचेतना दिवसका अवसरमा आइतबार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (त्रिवि) मा आयोजित कार्यक्रममा त्रिविका न्युरो सर्जरी आकस्मिक विभागका प्रमुख डा.मोहराज शर्माले उक्त जानकारी गराउनुभयो ।

डा. शर्माका अनुसार टाउँकोको चोटका कारण मृत्यु हुनेको संख्या यति धेरै रहेपनि नेपालमा भने यस विषयमा अध्ययन अनुसन्धान तथा टाउकोको चोट लागेका बिरामीको उपचारका लागि आर्थिक सहयोग कतैबाट नहुँदा र समयमा उपचारको पहुँचमा नपुग्दा चोट लागेका मध्ये ३ प्रतिशतको मृत्यु हुने गरेको छ । त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा सडक दुर्घटना, रुखबाट, भीरबाट लडेर घाइते भएका, मादक पदार्थ सेवन गरी चोट लागेका घाइते बिरामी उपचारका लागि अन्तिम अवस्थामा अस्पताल आई पुग्ने हुँदा अंगभंग हुने, पूर्णरुपमा उपचार नलाग्ने र मृत्यु समेत हुने गरेको छ । यति मात्र नभै अस्पतालमा चिकित्सक,नर्स, आइसियु, भौतिक संरचना उपकरण लगायतको अभावले गर्दा त्रिविमा पुगेका टाउकोमा चोट लागेका बिरामीको त्रिविमै उपचार सम्भव नहुने अवस्थामा पनि बिरामीले अन्त रिफरल जान नमान्ने समेत समस्या रहेको छ ।

डा. शर्माका अनुसार विश्वमा प्रत्येक वर्ष ६ करोड ९ लाख मानिस विभिन्न कारणबाट टाउकोमा चोट लाग्ने बिरामी हुने गरेका छन् । यो तथ्यांकलाई नियाल्दा प्रत्येक दिन ८ सय ८२ जना अर्थात् एक घण्टामा ३४ जनामा टाउकोमा चोट लाग्छ । यी मध्ये ४० प्रतिशतको मृत्यु हुन्छ भने टाउकोमा चोट लागेका मध्ये २० प्रतिशतलाई आइसियु (सघन उपचार कक्ष) मा राखी विशेष उपचार गर्नुपर्ने हुन्छ । आइसियुमा राखेका बिरामी मध्ये २० प्रतिशतको शल्यक्रियाका माध्यमबाट उपचार गर्नुपर्ने हुन्छ ।

विश्वमा टाउकोको चोटको उपचार ६ लाख डलर देखि १८ लाख डलर सम्म अत्यन्तै महँगो पर्ने गर्छ । तर नेपालमा टाउकोको चोटको उपचार विश्वको दाँजोमा सस्तो १ लाख नेपाली रुपैयाँ देखि अवस्था अनुसार बढी पर्न सक्छ । नेपालीहरूका लागि यो रकम पनि अत्यन्तै महँगो हुन आउँछ । अन्तर्राष्ट्रमा बिमाका माध्यमबाट उपचार गर्ने भएका कारण उपचार खर्च नपाएर नागरिकले ज्यान गुमाउँनु पर्दैन । तर नेपालमा घाइतेको उपचार सुरु गर्नु पूर्व नै अस्पतालमा डिपोजिट गर्नुपर्ने भएकाले उपचार ढिलो हुनुका साथै पैसा जुटाउन नसकेर पनि मानिसको ज्यान जाने सम्मका घटना हुने गरेको तर्फ सरकारको ध्यान पुग्नु जरुरी रहेको डा.शर्माले जोड दिनुभयो । उहाँले नेपालको संविधान २०७२ मा उल्लेख गरिए अनुसार आकस्मिक उपचारबाट कुनै पनि नेपालीले वञ्चित हुनु पर्दैन तर व्यवहार पहुँच र पदमा रहेकालाई मात्र यो सम्भावना छ ।

धेरै जसो सवारी दुर्घटनामा पर्ने, भीरबाट लड्ने, घाँस, दाउरा गर्दा बनपाखा, रुखबाट लड्ने साधारण नागरिक हुने र उनीहरूको विषयमा राज्यले खाँसै सम्बोधन गरेको नपाइएको अस्पतालमा सहभागी चिकित्सकहरूको ठम्याइछ । टाउकोको चोट लाग्नेमा अधिकांश २० देखि ४० वर्षका घर बाहिर काममा जाने पुरुष धेरै रहेको अस्पतालको तथ्यांकमा देखिएको डा।शर्माले जानकारी गराउँनुभयो । दुर्घटनाको प्रमुख कारण यात्रुवाहक बस पुरानो हुनु, क्षमता भन्दा बढी यात्रु राख्नु, बाटो राम्रो नहुनु, भौगोलिक बनोट भिरालो हुनु, एउटै चालकले लामो समयसम्म गाडि चलाउँनु, रुखबाट लड्नु, भीरमा घाँस दाउरा गर्दा चिप्लनु, मादक पदार्थ सेवन गरी हिँड्नु रहेको पाइएको त्रि वि शिक्षण अस्पतालले जनाएको छ ।

त्यसैगरि दसैँ तिहारको समयमा युवा तथा बालबालिकाहरू पिङ, रोटेपिङमा धेरै मच्चिदा खस्नु, पिङको डोरी छिन्नु, लिंगो भाचिनु, झैझगडा, पर्नु, घरको छतमा चंगा उडाउँन जाँदा पछि सर्ने क्रममा खस्नु, सेल्फी फोटो खिच्दा जोखिम ठाउँमा जानु, विभिन्न खाले आन्दोलन, विरोधमा सुरक्षाकर्मीले टाउकोमै लक्षित गरी लठ्ठी बजार्नु, झैझगडा गर्दा टाउँकोनै ताकेर आवेशमा हतियार, लठुठी, ढुंगा प्रहार गर्नु जस्ता कारणले टाउकोमा गम्भीर चोट लाग्ने गरेको पाइएको छ । यस विषयमा हरेक निकायले गम्भीर भएर सोच्नुका साथै टाउकोमै प्रहार गर्नुहुन्न भन्ने विषयमा सरकार देखि सर्वसाधारणमा जनचेतना फैलाउनु जरुरी भएको विषयमा चिकित्सकहरूले जोड दिनुभएको थियो ।

डा.शर्माले उपचारले मात्र टाउकोको चोटलाई कम गर्न नसकिने हुँदा दुर्घटना न्यूनीकरणका लागि जनचेतना लगायतका विषयमा सुधार गर्नुपर्ने बताउनुभयो । यसका साथै मोटर साइकलमा यात्रा गर्ने दुबैजनाले हेलमेट लगाउने र सवारी चालकको स्वास्थ्य अवस्था प्रत्यक ३ देखि ६ महिनामा परिक्षण गर्नुपर्ने । कतिपय छारेरोग लागेका चिकित्सकले समेत सवारी साधन चलाइरहेको पाइएकाले उनीहरूलाई सम्बन्धी यातायात समितिले नै स्वास्थ्य परीक्षणलाई अनिवार्य गर्नुपर्ने बताउनुभयो । सवारी दुर्घटनामा परि टाउकोमा चोट लागेका बिरामीलाई ४ घण्टाभित्र सिटीस्क्यान सहितको सुविधा भएको अस्पतालमा पुर्याउँनुपर्छ । यस्तो अस्पताल र उपचार कहाँ कहाँ हुन्छ भन्ने बारेमा सर्वसाधारण, यातायात समिति लगायतले जानकारी राख्नुपर्छ ।

 

सोही अवसरमा त्रिवि शिक्षण अपतालका आकस्मिक मेडिसियन विभागका प्रमुख डा।रमेश कुमार महर्जनले फागुन महिनामा त्रिविमा आएका ३३ जना टाउकोमा चोट भएका बिरामी सबै अस्पताल चहारेर अन्तिम अवस्थामा पैसा समेत सकिएपछि पुगेका मध्ये २७ बर्ष मुनिका प्रतिशत रहेका थिए । जसमा ३ प्रतिशतको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो । कार्यक्रममा महाराजगंग प्रशरी विटका प्रहरी नायब उपरीक्षक पी।विष्टले सडक दुर्घटनामा उद्धार गर्न पुग्ने पहिलो व्यक्ति प्रहरी हुन्छ र उसले अस्पतालमा बिरामी ल्याउँदा आफै जमानत बसेर उपचार गराउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा बिरामीले समयमै उपचार पाउन डिपोजिट हुनुपर्छ हामी त्यसो गर्न सक्दैनौ । संविधानमा आकस्मिक उपचारबाट नागरिक वञ्चित हुनुपर्ने छैन भनिएता पनि व्यवहारमा आएकै छैन ।

 

कार्यक्रममा महाराजंगज क्याम्पसका क्याम्पस प्रमुख डा। अर्जुन लामिछाने, त्यसै गरी त्रिवि आइसियु विभागका प्रमुख प्राडा। सुवास आचार्यले आईसियुमा भर्ना हुने सबै भन्दा धेरै बिरामी टाउकोको गम्भीर चोट लागेका व्यक्ति हुने गरेको बताउनुभयो । त्यसैगरि आकस्मिक विभागका नर्सिङ इन्चार्ज कविता देवकोटाले त्रिविमा आई पुग्ने अधिकांश बिरामी अन्यत्र उपचार गरेर आउने भएकाले एउटै बेडमा ३ जना सम्म बिरामी खचाखच हुँदा सम्म अन्यत्र जान नमान्ने यथार्थता रहेको बताउनुभयो ।

प्रा.डा.दिनेश काफ्लेले अस्पतालको आइसियु र वार्ड बढाएर टाउकोको चोट लाग्ने बिरामी घट्दैन यसका लागि जनचेतना नै फैलाउनु जरुरी छ भन्नुभयो । उहाँले विदेशमा एक लाख बिरामी बराबर एक जना न्यूरोसर्जन हुन्छन् तर नेपालमा जम्मा १ सय ४ जना छन् जसमा ६२ जना काठमाडौ मै केन्द्रित छन् भने कर्णालीमा एक जना पनि छैनन् । यस विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ । एउटा व्यक्तिको टाउकोमा चोट लागेर गम्भीर बिरामी पर्दा परिवार, समाज र राज्य माथिनै आर्थिक भार बढ्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्