पाटीले टिकट दिए फेरि महानगरवासीको सेवा गर्छु : मेयर शाक्य



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए आफू पुनः उठ्ने घोषणा गर्नुभएको छ । आफ्नो कार्यकालमा हालसम्म सम्पदा क्षेत्रमा कामपाले गरेको कार्यविवरण प्रस्तुत गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले भन्नुभयो– ‘अन्य स्थानीय तहको तुलनामा कामपाले उल्लेखनीय काम गर्न सफल भएको छ । पार्टीले टिकट दिए फेरि निर्वाचित भएर महानगरवासीको सेवा गर्न तयार छु ।’

पत्रकार सम्मेलनमा उहाँले साढे ४ वर्षको अवधिमा काठमाडौं महानगरपालिकाले १ सय ४६ वटा सम्पदाको संरक्षण, प्रबद्र्धन, पुनर्निर्माण र शौन्दर्यीकरण सम्पन्न गरेको जानकारी दिनुभयो । यसका लागि करिब साढे २ अर्ब रुपियाँ खर्च भएको जानकारी दिँदै मेयर शाक्यले जनप्रतिनिधि निर्वाचित भएको सो अवधिमा ऐतिहासिक काम भएको दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा उहाँले महानगरको क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, संवद्र्धन तथा प्रवद्र्धन गर्न लिएका नीति, बनाइएका योजना र योजना कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो– ‘हामीले संस्थागत निर्णय गर्दा पदाधिकारीबिच छलफल र परामर्श हुन्छ । महानगरको निर्णय गर्ने, योजना बनाउने पद्धति छ । सोही अनुसार सम्पदा पुनर्निर्माण गरेका हौं ।’

उहाँले करिब ५ करोड रुपियाँको लागतमा कामपाले कमलपोखरी पुनःनिर्माण तथा शौन्दर्यीकरण गरेको र त्यसै गरी दयाश्वर महादेव, कुमारी मन्दिर, वंशभैरव, नारायण सत्तल, तस्वादेगः, मानमानेश्वर, मैतिदेवी द्योछें, गोरखनाथ, पचलीभैरव मन्दिरको पाटी, विहार, ढुंगेधारा, सत्तललगायतका संरचनाको पुनःनिर्माण पनि सम्पन्न गरेको जानकारी दिनुभयो ।

मेयर शाक्यले जनप्रनिधि निर्वाचित भएपछि भएका यी कामले महानगर क्षेत्रको विकासले तीव्रता पाएको जिकिर गर्दै भन्नुभयो– ‘हामीले महानगरभित्रका मात्रै सम्पदा निर्माण गरेका छैनौं, देशका विभिन्न स्थानीय तहका सम्पदा संरक्षण र पुनःनिर्माण गर्न पनि सहयोग गरेका छौं ।’

कामपाले लुम्बिनीको बज्रयान महाविहार निर्माण तथा नेपाली परम्पराको द्वार निर्माण, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास, दक्षिणकाली मन्दिर क्षेत्र विकास, गोकर्णेश्वर मन्दिर पुनर्निर्माण, कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरीधाम, शंखरापुर नगरपालिकास्थित बज्रयोगिनी मन्दिर क्षेत्रको विकास, नागार्जुन नगपालिकाको हलचोक आकाश भैरव मन्दिर पुनर्निर्माणलगायतका सम्पदा निर्माण गर्न आर्थिक सहयोग गरेको पनि कार्यक्रममा बताइएको थियो । मेयर शाक्यले भन्नुभयो– ‘हामीले भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइस्कुल, वडाहरूमा भएका ऐतिहासिक वहाः, वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्योछेंजस्ता १ सय ५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गरिसकेका छौं । यी भौतिक सम्पदासँग सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधि सम्बन्धित छन् ।’

उहाँले ‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ को नारालाई सार्थक बनाउन कला, भाषा, साहित्य, संस्कृति र सम्पदाहरूको संरक्षण, संवद्र्धन, निर्माण एवं पुनर्निर्माणको कामलाई प्राथमिकतामा राखेर कामपाले सम्पदा क्षेत्रमा वार्षिक १ अर्वभन्दा बढी रकम विनियोजन गर्ने गरेको जानकारी दिनुभयो । मेयर शाक्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय मूर्त एवं अमूर्त कला, संस्कृति, सम्पदा, भाषा, लिपि, संगीतको संरक्षण एवं संवद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्राप्त भएअनुरूप कामपाले सम्पदा पुनर्निर्माणमा सहयोग गरेको बताउनुभयो ।

राजीनामा दिनुपर्ने निर्णयको भत्र्सना
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उम्मेदवार हुँदा राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाउनुभएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले निर्वाचन आयोगको यो निर्णय गलत भएको टिप्पणी गर्नुभयो ।

उहाँले अधिकांश स्थानीय निकायमा एमालेले जितेकाले एमालेको जनप्रतिनिधिको संख्या धेरै भएपछि सरकारले षड्यन्त्रपूर्ण ढंगले यस्तो निर्णय गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘फेरि एमालेको बहुमत आउँछ भनेर यस्तो निर्णय गरिएको हो । यो जनताप्रतिको अविश्वास हो, हामी यस्तो निर्णयको घोर भत्र्सना गर्दछौं ।’ उहाँले निर्वाचन आयोगलाई यस्तो निर्णय फिर्ता लिन आग्रह पनि गर्नुभयो ।

आयोगले भने निर्वाचनमा उठेका जनप्रतिनिधिले राज्यको चरम दुरुपयोग गर्न सक्ने आंकलन गर्दै निर्वाचनमा उठ्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्