कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

गत निर्वाचनमा यस्तो थियो अंकगणित



काठमाडौं ।

सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गर्दै आएको छ ।

तर, एमाले विभाजित भएकाले विगतकै विरासत धान्न नेकपा एकीकृत समाजवादी चुनौतीको रूपमा देखिएको छ । एमालेले ७ सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान तीव्र रूपमा अघि बढाएको छ । एमालेका नेता शेरबहादुर तामाङले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै भन्नुभयो– ‘सत्तारूढ दलसँगै एमाले एक्लै चुनाव लड्न तयार छ, एमालेले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने क्षमता राख्दछ ।’

त्यसै गरी सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेको छ । विगतको भन्दा यसपटक स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने गरी कांग्रेसले ‘घर–घर जाऔं’ भन्ने नारासहित एक महिने अभियान अघि बढाएको छ । कांग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सत्ता गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले जोड दिँदै आएको छ । तर, कांग्रेसभित्र संस्थापन पक्ष इतरका नेताहरू कुनै पनि हातलमा गठबन्धन निर्माण गर्न नहुने पक्षमा देखिएका छन् । कांग्रेसको संस्थापन पक्षले गठबन्धन अस्वीकार नगरे पनि चुनावी तालमेल नै गरेर जानुपर्ने पक्षमा पनि अभिव्यक्ति दिएको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका अन्य दललाई चिढ्याउने गरी अभिव्यक्ति नदिन निर्देशन दिए पनि कांग्रेसका नेताहरू चुनावी तालमेलको विपक्षमा सशक्त रूपमा उभिएका छन् ।

तर, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले भने चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनभित्र आन्तरिक छलफल भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘पार्टीले सञ्चालन गरेको एक महिने अभियानको रिपोर्टको आधारमा कहाँकहाँ चुनावी गठबन्धन गर्ने भन्ने विषयमा टुंगो लाग्छ ।’कांग्रेस र एमाले स्थानीय तहको निर्वाचनमा ढुक्क देखिए पनि सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी भने धरमरको अवस्थामा देखिएका छन् । चुनावी अभियान सञ्चालन गरेका दुवै दलले चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसबाट सकारात्मक जवाफ पाएका छैनन् । माओवादीलाई विगतमा जितेको स्थानीय तहमा चुनाव जित्ने चुनौती रहेको छ भने एकीकृत समाजवादी नयाँ पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउनेमा चिन्तित रहेको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य होम बुढाथोकीले सत्ता गठबन्धनको बीचमा चुनावी तोलमेल आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘मुद्दाको आधारमा गठबन्धन बनेको हो, स्थानीय तहको निर्वाचनमा पनि मिलेर अगाडि बढनुपर्छ भनेर हामीले भनिरहेका छौं ।’

सत्ता गठबन्धनका शीर्ष नेताहरू चुनावी तालमेल गर्ने पक्षमा रहेता पनि सहमति जुट्न सकिरहेको छैन । सत्ता गठबन्धनबीच ६ महानगरपालिका ११ वटा उपमहानगरपालिमा भने चुनावी तालमेल गर्ने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । सत्ता गठबन्धनबीच कुन महानगरपालिका/उपमहानगरपालिका कसले लिने भन्ने विषयमा पार्टीभित्र आन्तरिक गृहकार्य शुरू भएको छ ।

गत निर्वाचनमा यस्तो थियो अंकगणित
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो । ०७४ सालमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो बनेका थिए । एमालेले ७ सय ५३ वटा स्थानीय तहमध्ये २ महानगरपालिका र ७ उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुख जितेको थियो । त्यस्तै, १ सय ७१ गाउँपालिकाको अध्यक्ष जितेर एमाले दुवै निकायमा पहिलो बनेको थियो । स्थानीय तहमध्ये ३ सय ३१ ठाउँमा उपाध्यक्ष जितेको एमालेले त्यति बेला प्रमुखको तुलनामा ३७ ठाउँमा उपप्रमुख बढि जितेको थियो । एमालेले २ हजार ५ सय ६० वडामा वडाध्यक्ष जितेको थियो ।

निर्वाचन आयोगको तथ्याङअनुसार एमालेले ४० दशमलब २३ प्रतिशत जीत हासिल गरेको थियो । त्यसै गरी कांग्रेसले २ महानगरपालिका, २ उपमहानगरपालिकासहित १ सय ५ नगरपालिकाको प्रमुख जितेर दोस्रो स्थान बनाएको थियो । कांग्रेसले १ सय ६१ गाउँपालिका अध्यक्ष जितेको थियो । स्थानीय तहको प्रमुखमा एमालेभन्दा २० स्थान कम अर्थात् २ सय ७४ सिटमा वियज हासिल गरेको थियो । वडाध्यक्षतर्फ भने कांग्रेसले २ हजार २ सय ८६ वडाध्यक्षमा जित हासिल गरेको थियो । निर्वाचन आयोगको तथ्याङ्अनुसार कांग्रेसले गत निर्वाचनमा ३२ दशमलव ६९ प्रतिशत जीत हासिल गरेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले एक महानगरसहित ३४ नगरपालिकाको प्रमुख र ७२ गाउँपालिका अध्यक्षसहित १ सय ६ स्थानीय तहको प्रमुख जितेर तेस्रो स्थान बनाएको थियो । वडाध्यक्षतर्फ माओवादीले १ हजार १ सय ३ वडा जितेको थियो । आयोगको तथ्याङ्कअनुसार माओवादीले १५ दशमलव ५२ प्रतिशत जित हासिल गरेको थियो ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम १० नगरपालिका प्रमुख र २४ गाउँपालिका अध्यक्षसहित ३४ स्थानीय तहमा प्रमुख जितेर चौथो शक्ति बन्न सफल भएको थियो । फोरमले २ सय ६२ वडाध्यक्ष जितेर ४ दशमलव १ प्रतिशत जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्