उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते



काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । स्थानीय तहमा उम्मेदवारी दिनेको संख्या धेरै हुने भएकाले भीडभाड नहोस् भनेर उम्मेदवारी दर्ताका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आचार संहिताअनुसार उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरूले पदबाट राजीनामा दिनुपर्नेछ । राजनीतिक दल र सरोकारवाला निकायहरूसँगको परामर्शबाटै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान राखिएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । स्थानीय तहमा बहालवाला पदाधिकारीहरूले पदीय हैसियत दुरूपयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्ने भएकोले यो प्रावधान राखिएको उहाँले बताउनुभयो ।

निर्वाचन कार्यक्रमअनुसार वैशाख १२ गते उम्मेदवारहरूको नामावली सूची प्रकाशित हुनेछ भने १३ गते दाबी विरोधको समय निर्धारण गरिएको छ । त्यसै गरी १४ र १५ गते दाबी विरोधउपर निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

निर्वाचन चिह्न प्रदान गरेपछि उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारको काम शुरू गर्ने समय निर्धारण गरिएको जानकारी दिँदै प्रवक्ता पौडेलले उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि ११ दिनको समय पाउने बताउनुभयो । वैशाख २७ गतेमध्ये रातिबाट मौन अवधि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्