अप्ठेरोमा पर्दा बनेको सत्ता गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण



बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले मुलुक अप्ठेरोमा पर्दा बनेको सत्ता गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ् । बिहीबार नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ‘ख’ रुपन्देहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेस प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

अमेरिकी सरकारले एमसीसीका नाममा दिएको ६० अर्ब अनुदान जनताको पक्षमा रहेको खाणले दाबी गर्नुभयो । उहाँले एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घर घरसम्म पुर्याउन आवश्यक गर्ने ट्रान्समिसन लाइन बनाउन स्विकारेको स्पष्ट पार्नुभयो ।

मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्याउने गृहमन्त्री खाँणले औंल्याउनुभयो । गृहमन्त्री खाँणले बिहीबार नै कपिलवस्तुको वाणगंगामा आयोजित औद्योगिक तथा व्यापार मेलाको उद्घाटन गर्नु भएको छ ।

गठबन्धनको जिम्मा कांग्रेसलाई
यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले , गठबन्धन जोगाउने र भत्काउने भूमिका कांग्रेसमा निर्भर रहेको बताउनुभयो । उहाँले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताउनुभयो । तत्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको समेत उहाँले औंल्याउनुभयो ।

उहाँले गम्भीर समस्या आएपछि संकटमा माओवादीले निकास दिएको भन्दै राजनीतिमा जे पनि हुनसक्ने बताउनुभयो । प्रेस सेन्टर नेपाल लुम्बिनीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पहिलो गठबन्धनलाई कायमै राखेर चुनावमा जाने र दोस्रोमा आफ्नै तागतमा निर्वाचन लड्ने कुरालाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र आफ्नै चुनावी ऐजेन्डासहित निर्वाचनमा होमिने पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने भएकाले सम्पूर्ण तागत त्यता केन्द्रित गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले गठबन्धन गरेर चुनावमा जाने सवालमा प्रमुख नेतृत्व पंक्तिका बीचमा विमति नरहेको बताउनुभयो । प्रतिगमनका विरुद्ध गठबन्धन बनेको हो, त्यो उद्देश्य अहिले पनि पूरा गर्न बाँकी नै छ, त्यसैले गठबन्धन टुटने देखिँदैन’ –उहाँको कथन छ ।

संघीय र प्रदेश सरकारहरू निर्वाचनसम्म बलियोसँग अगाडि बढ्ने आधार बनेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको महाअभियोग संविधान र कानुनको व्यवस्थाअनुसार नै संसद्मा दर्ता भएकाले अधिवेशन अन्त्य हुँदैमा केही नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्