प्याब्सनको १५औं महाअधिवेशन : अध्यक्ष, कोषाध्यक्ष र महिला उपाध्यक्ष सर्वसम्मत



काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को तीन पदमा सर्वसम्मत चयन भएको छ । अध्यक्ष पदमा हालका सहअध्यक्ष डीके ढुंगाना, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र महिला उपाध्यक्षमा संगीता सिलवाल सर्वसम्मत हुनुभएको छ । न्यौपाने हाल कार्यसमितिका कोषाध्यक्ष र सिलवाल महिला सचिव हुनुहुन्छ ।

यही चैत ९–१० राजधानीमा हुने १५औं राष्ट्रिय महाधिवेशनमा हिजो बुधबार सम्पन्न मनोनयनमा तीन जनाको मात्र मनोनय परेपछि तीन पदमा निर्विरोध भएको हो । अन्य पदको भने निर्वाचन हुने सम्भावना रहेको छ । यसअघि हालका अध्यक्ष टीकाराम पुरीले सहअध्यक्ष ढुंगानालाई सर्वसम्मत अध्यक्ष बनाउने घोषणा गर्नुभएको थियो ।

प्याब्सनको तीन दशक इतिहासमा करिब १४ करोड रुपियाँ लागतमा प्याब्सन शिक्षा सदन खरिद र सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा प्याब्सन सामूहिक बस्तीको निर्माण गरिएको छ । कोशी बाढीपीडितको समुदायका लागि रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक बिघा जग्गामा उक्त बस्ती बनाइएको छ । करिब डेढ करोड रुपियाँ आवास बनाएर चर्चा बटुलैका पुरीको कार्यकाल उत्कृष्ट सावित भएको थियो । आफू अध्यक्ष हुनासाथ अर्को कार्यकालका अध्यक्ष ढुंगानालाई बनाउने घोषणा गर्नुभएको थियो ।

उहाँले सोही अनुसार आफूले सहअध्यक्ष ढुंगानालाई सर्वसम्मत अध्यक्ष बनाउन सफल भएको दाबी गर्नुभएको छ । प्याब्सनको विधानमा प्यानल बनाएर प्रतिपर्धा गर्न नपाउने भएपछि उम्मेदवारी दिनेको संख्या बढेको छ । प्याब्सन निर्वाचन समितिका अनुसार सहअध्यक्षमा आशिष श्रेष्ठ र ईश्वरबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षमा दीपिका थापा, कृष्ण अधिकारी र गोपाल आचार्य गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा तुकाराम (टीआर) ढकाल, नवराज महत, वीरबहादुर बुढाथोकी, टंक भट्टराई, किशोर गौतम, राजेशकुमार दास, गोपाल कार्र्की, जगबीर थापा र नारायणप्रसाद घिमिरे गरी ९ जनाले मनोनयन दर्ता गराएका छन् । महासचिवमा आरबी कटुवाल र कुमार घिमिरेको मनोनयन दर्ता भएको छ । त्यसै गरी उपमहासचिवमा भुवनलाल श्रेष्ठ, भीमसेन केसी र शिव कार्की गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

महिला सचिवमा आशाकुमारी खड्का र ग्रेस श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । पुरुष सचिवका लागि रत्न महर्जन, श्यामकुमार यादव, केबी थापा, पुरुषोत्तम अधिकारी, यादव गिरी, शम्भुप्रसाद पोखरेल, सुवर्ण न्यौपाने, हेमन्त कार्की, हेमराज अधिकारी, हीरा शर्मा नेपालले मनोनयन दर्ता गराएका छन् । सहकोषाध्यक्ष पदमा गणेशबाबु पोखरेल, दीपकराज लम्साल, विष्णु न्यौपाने र हेमलाल शर्माले मनोनयन गराएका छन् ।

महाधिवेशनमा मुलुकभरबाट २ हजार २ सय ४६ प्रतिनिधिको सहभागिता रहनेछ । प्याब्सनमा मुलुकभरबाट ५ हजार सदस्य विद्यालयले सदस्यता नवीकरण गरेको अध्यक्ष पुरीले जानकारी दिनुभयो । यसपटक संगठनले विद्युतीय प्रणालीबाट मतदान गर्ने भएको छ । महाधिवेशनले २७ पदाधिकारी र ३९ जना सदस्य चयन गर्नेछ ।

यसपटक कुनै पनि उम्मेदवारले प्यानल बनाएर निर्वाचन लड्न नपाउने निर्णय प्याब्सनले गरेकाले सकेसम्म सहमतिमै नेतृत्व चयन हुने अध्यक्ष पुरीको भनाइ छ । त्यसका लागि अन्तिम समयसम्म सहमतिको प्रयास हुने उहाँले बताउनुभयो । अध्यक्षमा सर्वसम्मत भएका सहअध्यक्ष ढुंगानाले ६ गते उम्मैदवारको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिनुभयो ।

अध्यक्ष पुरीले भन्नुभयो– ‘सकेसम्म सर्वसम्मत गर्ने अन्तिम तयारीमा लागेका छौं, प्यानल बनाएर निर्वाचनमा उठ्न नपाइने भएपछि सबैलाई सहमति गराउने कसरतमा लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्