सत्ता गठबन्धनमा सकस : चुनावी तालेमल गर्न सहमतिको खोजी



काठमाडौं ।

सत्ता साझेदार दलबीच आगामी वैशाख ३० गते हुने स्थानीय तहमा चुनावी तालमेल गर्ने विषयमा गृहकार्य शुरू भएको छ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल आवश्यक रहेका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड दिँदै आएका छन् । चुनावमा तालमेलका लागि माओवादी र एकीकृत समाजवादी तयार रहे पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने सहमति जनाएको छैन । कांग्रेसले एकमहिने अभियानको केन्द्रीय प्रतिनिधिहरूले रिपोर्ट केन्द्रमा बुझाएपछि मात्र थप निर्णय लिने नीति लिएको छ ।

नेपाली कांग्रेसका नेता राजन केसी आगामी स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल गर्ने विषयमा पार्टीले जिल्ला क्षेत्र र नगरलाई नै जिम्मेवारी दिने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘स्थानीय तहमा तालमेल गर्ने विषय केन्द्रले निर्णय गर्दा राम्रो सन्देश जाँदैन, त्यहाँको पार्टी समितिले नै आवश्यकताको आधारमा निर्णय गरेर अगाडि बढ्छन् ।’ एमालेबाहेक सत्ता साझेदार दलबीच स्थानीय तहमा प्रमुख उपप्रमुखदेखि वडा अध्यक्षसम्म तालमेल हुन सक्ने उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले विगतमा निर्वाचित स्थानीय तहमा कुनै पनि हालतमा चुनाव जित्ने नीतिसहित अभियान शुरू गरेको छ । कांग्रेससँग चुनावी तालमेल हुन नसकेको अवस्थामा एकीकृत समाजवादीसँग सहकार्य गरेर भए पनि स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति बनाउने रणनीति माओवादीले बताएको छ । माओवादीका नेता हरिबोल गजुरेल आवश्यकताको आधारमा स्थानीय तहमा चुनावी तालमले हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘केन्द्रमा सत्ता गठबन्धन रहेकाले आवश्यकताको आधारमा चुनावी गठबन्धन गर्न कांग्रेस तयार हुनुपर्छ, चुनावी तालमेल गर्दा कांग्रेसलाई पनि घाटा हुने अवस्था छैन ।’ माओवादीले कांग्रेसका शीर्ष नेताहरूले चुनावी तालमेल नगर्ने चर्को अभिव्यक्ति दिएपछि आफ्नै तागतमा चुनाव लड्ने बताएको छ ।

सत्ता साझेदार दल एकीकृत समाजवादी केन्द्रले पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल आवश्यक रहेकोमा जोड दिँदै आएको छ । एकीकृत समाजवादीका सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जानु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘यो मुद्दाको आधारमा बनेको गठबन्धन हो, सत्ता साझेदार दलबीच चुनावी जित्ने गरी गठबन्धन बनाएर अघि बढ्नुपर्छ ।’

चुनाव हुनेमा आशंका छैन : देउवा
सत्तारूढ तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । आगामी स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा सहमति जुट्न नसकिरेको बेला शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । भेटमा प्रचण्ड र नेपालले चुनाव नहुने हल्लाबारे प्रधानमन्त्री देउवासमक्ष चासो राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले चुनाव हुनेमा कुनै आशंका व्यक्त गर्नुपर्ने अवस्था नै नरहेको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको थियो ।

भेटमा प्रचण्ड र नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्नेमा जोड दिएको स्रोतले बतायो । तर, जवाफमा देउवाले पार्टीभित्र गृहकार्य भइरहेको बताउँदै एकमहिने अभियानको रिपोर्ट आएपछि मात्र थप छलफल गर्न सकिन जवाफ दिनुभएको थियो ।

प्रचण्ड र नेपालले सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई गठबन्धन गरेर तीनवटै तहको निर्वाचन लड्नु पर्ने आग्रह गर्दै आउनुभएको छ । कांग्रेसका संस्थापनइतरका नेताहरू भने कुनै पनि हालतमा गठबन्धन गर्न नहुने चर्को अभिव्यक्ति दिँदै आएका छन् । कांग्रेसका उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतका नेताहरू माओवादी र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्न नहुने भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्री देउवा पनि चुनावी तालमेलको लागि पर्ख र हेरको रणनीतिमा रहनुभएको बताइएको छ । कम्युनिस्टहरू विभाजित भएको अवस्थामा स्थानीय तहको निर्वाचनमा सहजै जित्न सकिने दावी कांग्रेसले गर्दै आएको छ । सत्ता गठबन्धनमा महानगरपालिका, उपमहानगरपालिकाबाहेक नगरपालिका र गाउँपालिकामा भने करिब चुनावी तालमेल नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्