गठबन्धनबाट समाजवादीको दाबी, एमालेलाई सकस



हेटौंडा ।

सरकारले स्थानीय चुनावको तिथि तय गरेपछि हेटौंडामा उपमहानगरपालिकाको टिकट कसले पाउने भन्ने चर्चा शुरू भएको छ । सत्ता गठबन्धनले आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरमा चुनावी तालमेल गर्ने तयारी थालेपछि नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाको गृहनगर हेटौंडा समाजवादीले पाउने नेताहरुको दाबी छ ।

वागमती प्रदेशअन्तर्गत ३ महानगर र हेटौंडा उपमहानगरमा सत्ता गठबन्धनले भाग लगाउँदा दुईवटा नेपाली कांग्रेस, एकमा माओवादी केन्द्र र एकमा नेकपा (एकीकृत समाजवादी) को भागमा पर्ने दाबी गरिएकाले खतिवडाको पहलमा हेटौंडा आफ्नै पार्टीको पोल्टामा पार्ने सम्भावना छ । यदि यस्तो राजनीतिक समीकरण देखिए यसअघि विजय हासिल गरेको नेकपा एमालेलाई फलामको चिउरा चपाएसरह हुने देखिन्छ ।

नेपाली कांग्रेसको राम्रो प्रभाव मानिएको देशको सबभन्दा महत्वपूर्ण स्थानीय निकायका रूपमा रहेको काठमाडौंलाई कांग्रेसले लिने निश्चित भएपछि समाजवादीका स्थायी कमिटी सदस्य खतिवडाको गृहनगर हेटौंडा भने समाजवादीले पाउने नेताहरुको दाबी रहेको हो ।

नेपाली कांग्रेसले काठमाडौं र ललितपुर महानगरपालिकामा मेयर उम्मेदवार खडा गर्नेछ । भरतपुरमा नेकपा माओवादीले मेयरको सिट प्राप्त गर्दा यसबाट वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा समाजवादीको हातमा पर्ने सम्भावना उच्च रहेको विश्लेषण गरिएको छ । यसअघि एमालेले जितेको काठमाडौं महानगर र हेटौंडा उपमहानगरमा कांग्रेस र समाजवादीले १/१ क्षेत्र लिनेछन् भने यसअघि कांग्रेस र माओवादी केन्द्र विजयी भएका स्थानमा सोही दलले पुनः प्रमुखको टिकट पाउने गरी सम्भावना रहेको बताइएको छ ।

एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरकी उपमेयर मीनाकुमारी लामा हेटौंडाको पहिलो महिला मेयर बन्ने दौडमा हुनुहुन्छ । एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल पनि मेयरका आकांक्षी हुनुहुन्छ । उहाँले पनि मेयरमा चुनाव लड्ने बताउनुभएको छ ।राजनीतिक दलहरु निर्वाचन केन्द्रित रणनीतिअनुसार गतिविधिमा सक्रिय छन् । नेपाली कांग्रेसले टोल–टोलमा समिति निर्माण गरिरहेको छ । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ उसको अभियान हो । जसअन्तर्गत हेटौंडा उपमहानगरपालिकाका वडाहरुमा प्रतिनिधि खटाइएका छन् ।

कांग्रेस जसरी पनि हेटौंडामा चुनाब जित्ने रणनीतिअनुसार अगाडि बढेको छ । किनकि, कांग्रेस २०७४ सालको निर्वाचन मतपरिणामअनुसार दोस्रो शक्ति हो । तर, आगामी निर्वाचनमा पनि एमालेलाई विरासत जोगाउनु छ, कांग्रेसलाई इतिहास रच्नु छ । कांग्रेसले हेटौंडामा मेयर जित्न सकेको छैन । २०४९ र २०५४ को निर्वाचनमा हेटौंडामा एमाले विजयी बनेको थियो । २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि एमालेका मेयर र उपमेयर निर्वाचित भए ।

तर, पार्टी विभाजनको पीडामा रहेको एमालेको विरासत जोगाउन हम्मे–हम्मे पर्लाजस्तो छ । एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल र एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ मेयरका आकांक्षी हुनुहुन्छ ।

पौडेल संविधानसभा सदस्यको संस्था संविधानसभा सदस्य परिषद् संयोजक हुनुहुन्छ । उहाँले हेटौंडामा विकास निर्माणका ठूला/साना आयोजना, जनताका आवश्यकता, अपेक्षा पूरा गर्ने दाबी गर्नुभएको छ । पौडेलले पहिल्यैदेखि मेयर हुने तीव्र इच्छा बोक्नुभएको हो । दोस्रो संविधानसभा निर्वाचनमा उहाँले माओवादी उम्मेदवारलाई पराजित गर्नुभएको थियो । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भए मेयरमा पौडेल केही सशक्त बन्ने आँकलन छ ।

कांग्रेस मकवानपुर पूर्वसचिव तथा गत स्थानीय तह निर्वाचनमा मेयरका प्रत्यासी आनन्दराम पराजुली, नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहाल, पार्टी सचिव भीमसेन महत पनि हेटौंडाको मेयरका दाबेदार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा नेकपा मालेबाट मेयर लड्नुभएका महतले निर्वाचनलगत्तै माले छाडेर कांग्रेस प्रवेश गर्नुभएको थियो । ‘म मेयरमा चुनाव लडेर अनुभव लिइसकेको व्यक्ति हुँ । एकपटक मेयरमा उठ्छु र जित्छु ।’ –महत भन्नुहुन्छ ।

नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य प्रह्लाद लामिछाने मेयरमा आकांक्षी हुनुहुन्छ । गत चुनावको मतपरिणामले चौथो शक्ति बनाएको राप्रपाबाट युवा नेता भृगु कार्की मेयरका आकांक्षी रहेर पार्टीभित्र आफू मेयरमा उठ्ने बताइसक्नुभएको छ । कमल थापा राप्रपाबाट अलग भएपछि हेटौंडामा उक्त पार्टीको मत निकै घटेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्