बिरामीको पेटमा पेटीको ‘बक्कल’ र सिक्री



विराटनगर, (नेस) ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो ।

परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैंले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । बिनाचिरफार इन्डोस्कोपी विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्यचिकित्सक डा. ध्रुव नारायण साहले बताउनुभयो ।

उहाँका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो । मुखबाट इन्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । पेटको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी चिकित्सक डा. शाह, डा. मोहन खड्कासहितको टोलीले बक्कल निकालेर बिरामीलाई जोखिममुक्त बनाएका हुन् ।

बिनाचिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्