वीरगन्ज नाकाबाट ४३ अर्बको इन्धन आयात



वीरगन्ज ।

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शीर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मट्टितेल तथा हवाई इन्धन परे पनि मुख्यतया यस नाकाबाट डिजेल,पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ । भारत–नेपालको छोटो दूरीको नाका भएर यो नाकाबाट सबैभन्दा बढी इन्धन भित्रिने गरेको छ ।

ढुवानी भाडा कम परोस् भनेर यो नाकाबाट इन्धनको आयात टप ५ वस्तुको सूचीमा पर्ने गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो सात महिनामा यो नाकाबाट ४५ अर्ब ६६ करोड ५८ लाख ९८ हजार मूल्य बराबरको डिजेल,पेट्रोल र एलपी ग्याँस भित्रिएको थियो भने चालु आवको गत साउनदेखि माघसम्म ८९ अर्ब ३९ करोड ५१ लाख ९ हजार मूल्य बराबरको इन्धन भित्रेको वीरगन्ज भन्सारले जनाएको छ ।

पोहोरभन्दा यस वर्ष ४३ अर्ब ७२ करोड ६२ लाख ७ हजार बढी मूल्य बराबरको डिजेल, पेट्रोल तथा एलपी ग्याँस भित्रिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक शाखाले जनाएको छ । राजस्व संकलनको हिसाबले हेर्ने हो भने गत आवको सात महिनाभन्दा चालु आर्थिक सात महिनामा ११ अर्ब ९३ करोड २३ लाख १७ हजार रुपियाँ बढी राजस्व संकलन भएको छ ।

त्यसैगरी, चालु आवको माघसम्म सात महिनामा ३६ करोड ९९ लाख ७६ हजार राजश्व तिरेर १८ अर्ब ५ करोड ६८ लाख मूल्य बराबरको १६ करोड २ लाख ८४ हजार ६ सय ५८ किलोग्राम एलपी ग्याँस आयात भएको छ भने गत आवको सोही अवधिमा १ अर्ब ७३ करोड ३७ लाख ५८ हजार राजस्व तिरेर ९ अर्ब २९ करोड ४४ लाख ७४ हजार मूल्य बराबरको १४ करोड ३३ लाख ५८ हजार ६ सय किलोग्राम एलपी ग्याँस आयात भएको थियो ।

पोहोरभन्दा चालु आवको पहिलो सात महिनामा एलपी ग्याँसको परिमाण आयात १२ प्रतिशतले वृद्धि भएको छ भने ९४ प्रतिशतले राजस्वमा वृद्धि भएको छ । सो अवधिमा वीरगन्ज भन्सारले असुली गरेको कुल राजस्वमा २ दशमलव ७७ प्रतिशत एलपी ग्याँस आयातवापतको राजस्वले योगदान गरेको छ ।

वीरगन्ज भन्सारले चालु आवको साउनदेखि माघसम्म १ अर्ब १६ अर्ब ७१ करोड १५ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखे तापनि ४.३ प्रतिशत बढी अर्थात १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख ७७ हजार रुपियाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सारको तथ्यांक तथा सूचना शाखाको तथ्यांकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्