पाठेघरको मुखको क्यान्सरको अप्रेसन शुरू



बाँके ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडान गरेपछि पाठेघरको मुखको क्यान्सरको अप्रेसन शुरू गरिएको छ । तीन करोड बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा देशभरबाटै बिरामी आउन शुरू गरेका छन् ।

भरतपुर क्यान्सर अस्पताल, चितवन र वीर अस्पताल, काठमाडौंमा ब्राकीथेरापी मेसिन बिग्रिएपछि खजुरामा बिरामीको चाप बढेको डाक्टरहरू बताउँछन् । देशभरमै यी तीनवटा सरकारी अस्पतालमा मात्रै ब्राकीथेरापी मेसिन छन् । वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका बिरामी खजुरा आउन थालेका छन् । निजी क्षेत्रमा काठमाडौंको नेपाल क्यान्सर अस्पतालले यो सेवा दिइरहेको छ ।

बर्दिया राजापुरका कमलबहादुर चौधरीले श्रीमतीको पाठेघरको पहिलो र दोस्रो अप्रेसन भरतपुर क्यान्सर अस्पतालमा गराएका थिए । तेस्रो अप्रेसन खजुरा क्यान्सर अस्पतालमा गराइरहेका छन् । ‘यही सेवा लिन चितवन र काठमाडौं जानुपथ्र्यो । खजुरामै सेवा पाएपछि समय, पैसा बचेको छ, चौधरीले भन्नुभयो, हप्ता÷हप्ता दिनमा तीनपटक अप्रेसन गर्नुपर्छ । टाढा जादा बसाई र खानपिनमै धेरै पैसा खर्च हुन्छ ।’

ब्राकीथेरापी मेसिन प्रयोग गरेर पाठेघरको अप्रेसन तीनपटक गरिन्छ । यो सात दिनको फरकमा हुन्छ । तीनपटक अप्रेसन गर्दा खजुरामा ४५ हजार रूपियाँ खर्च लाग्छ । निजी अस्पतालमा यही सेवा लिँदा एक लाख खर्च हुने जानकारहरू बताउँछन् ।

१५ महिना भरतपुर क्यान्सर अस्पतालमा काम गरेका खजुराका मेडिकल फिजिसिस्ट डा. तीर्थराज अधिकारीले खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेपछि चितवन र काठमाडौंबाट समेत बिरामी आउन थालेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेसन बोर्डबाट रेडियसन अनकोलोजी फिजिसिस्टको मान्यता पाएका डा. अधिकारी र रेडियसन अनकोलिस्ट डा. मुकेश यादवले ब्राकीथेरापी सेवा दिइरहेका छन् । डा. अधिकारीले पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमै सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताउनुभयो । खजुरामा चार जनाले सेवा लिएका छन् ।

अस्पतालका निर्देशक कृष्ण आचार्यले खजुरामा नयाँ प्रविधिको प्रयोग बढिरहेको बताउनुभयो । ‘डिपार्टमेन्टहरू थपिएका छन् । बिरामीको चाप बढ्दो छ, निर्देशक डा. आचार्यले भन्नुभयो, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् ।’

खजुरा क्यान्सर अस्पतालको व्यवस्थापन समितिले हालै खजुरा क्षेत्रका बिरामीलाई ओपीडीको शुल्क निःशुल्क गरेको छ । समितिका अध्यक्ष किशोर थापा नियुक्ति हुनेबित्तिकै खजुरावासीका लागि ओपीडी शुल्क निःशुल्क गरेका हुन् । अस्पतालले ओपीडी शुल्क ५० रूपियाँ लिँदै आएको थियो । खजुरावासीका लागि ओपीडी शुल्क निःशुल्क गर्दा बिरामीको चाप बढ्ने विश्वास गरिएको छ ।

महायज्ञ गरेर संकलन भएको रकमबाट क्यान्सर अस्पतालको निर्माण शुरू गरिएको हो । पछि यसलाई सरकारीकरण गरेर बाँकेका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा अस्पतालको नामकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्