मेलम्ची खानेपानी तथा बाढी प्रभावितहरू आन्दोलित

माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी



मेलम्ची ।

मेलम्ची खानेपानी आयोजना प्रभावितहरू आन्दोलनमा उत्रिएका छन् । गत असार १ गतेको बाढीका कारण प्रभावितहरूले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन् ।

मेलम्ची, याङग्री लार्के र इन्द्रावती नदी बाढी पीडितहरू तथा मेलम्ची आयोजना प्रभावितहरू आफ्नो माग पूरा नभएको र  मेलम्ची खानेपानी र संघीय सरकारले पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितहरूको माग सम्बोधन नगरेको भन्दै मंगलबारबाट आयोजना प्रभावितहरू आन्दोलनमा उत्रिएका हुन् ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागी तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण , मेलम्ची इन्द्रावती कोरिडोर एकीकृत विकास परियोजना लागू गर्न माग गरेका छन् । स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लान नपाइने उनीहरूको भनाइ छ । उनीहरूले बाढी पीडितहरूलाई आयआर्जन कार्यक्रमहरू लागू गर्न माग गरेका छन् भने जोखिम न्यूनीकरणका उपाय अवलम्बनको माग गरेका छन् ।

नदीलाई पूरानै धारमा बहाउन, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तीमा ५ मिटर खोला गहिरो बनाउने  र तटीय क्षेत्रमा जोखिममा रहेका बस्तीहरूको संरक्षणका लागी आवश्यक बजेटको  तत्काल आयोजनाबाट उपलब्ध गराउन प्रभावितहरूले माग राखेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्वय समितिका सचिव अर्जुन भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्