म्याद सकिएपछि पनि ८४ जना मतदाता विवरण थपियो

जिल्ला निर्वाचन कार्यालय सप्तरीको बदमासी



राजविराज ।

निर्वाचन तालिकाअनुसार म्याद सकिएपछि पनि मतदाताको नाम समावेश गरिएको भन्दै सप्तरीस्थित एक राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीका सुनिलकुमार झाले प्रजिअ जनार्दन गौतमलाईसोमबार उजुरी पत्र बुझाउनुभएको छ ।

‘स्थानीय तह निर्वाचनका लागि गत माघ २४ गते नै मतदाता परिचयपत्रका लागि आवश्यक विवरण लिने काम बन्द भइसकेकोमा माघ २७ र २८ गते पनि राजविराज नगरपालिका–६ का केही व्यक्तिहरूको निजी घरमा पुगेर फोटो खिच्ने काम र मतदाता सूचीमा समावेश गर्ने कामसमेत भएको छ’, उजुरीमा छ ।

यसरी फोटो खिचिएका केही व्यक्तिको नाम निर्वाचन कार्यालयको आधिकारिक वेवसाइटमा समेत फेला परेको दाबी गर्दै पछि थप गरिएका नामहरू हटाउन र यस्तो काममा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि कारबाही गर्न उजुरीमा मागसमेत गरिएको छ । उजुरीअनुसार ८४ जनाको नामावली थप गरिएको छ ।

प्रजिअ गौतमले आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गरिने बताउनुभएको छ । ‘जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीसँग सम्पर्क गर्दा उहाँ कार्यालय बाहिर रहेको बुझियो’, उहाँले भन्नुभयो– ‘कार्यालयमा आएपछि बास्तविकता बुझेर तत्कालै यस सन्दर्भमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताउनुभएको प्रतिक्रिया पाएँ ।’

प्रतिक्रिया दिनुहोस्