म्याद गुज्रिएका करोडौं मूल्यका कस्मेटिक सामान बरामद



वीरगन्ज ।

सरकारी अनुगमन टोलीले वीरगन्जमा एक उद्योगमा छापा मारेर म्याद गुज्रिएका कस्मेटिक सामान ठूलो परिमाणमा जफत गरी नष्ट गरेको छ । वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित नेपाल हर्बल इन्डस्ट्रिज उद्योगमा अनुगमन टोलीले छापा मारेर ६३ लाख रूपियाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका कस्मेटिक सामानहरू बरामद गरी नष्ट गरेको हो ।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको अनुगमन टोलीले हर्बल उद्योगमा पुगेर म्याद गुज्रिएर प्रयोगका लागि अयोग्य भएका सामानहरू जफत गरी नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तवको नेतृत्वमा खटिएको टोलीले उक्त हर्बल उद्योगमा छापा मारेर म्याद गुज्रिएका ६३ लाख ६२ हजार १ सय ३५ रूपियाँ मूल्यका कस्मेटिक सामान जफत गरी जलाएर नष्ट गरेको हो ।

उद्योगको गोदाममा भण्डारण गरी राखिएका म्याद गुज्रिएका क्रिम, कपालमा लगाइने जेल, रंग, नङ–पोलिसलगायतका ३२ हजार ५ सय ६ थान कस्मेटिक सामान जफत गरी नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख दिलिप खङखत्वेले जानकारी दिनुभयो । अनुगमन टोलीका प्रमुख श्रीवास्तवका अनुसार, विश्वकरण जैन सञ्चालक रहेको उक्त हर्बल उद्योगले म्याद गुज्रिएका कस्मेटिक सामानहरू पनि बजारमा बिक्री गरिरहेको सूचना स्थानीय प्रशासनलाइ प्राप्त भएको थियो ।

सूचनाका आधारमा खटिएको अनुगमन टोली उद्योगमा पुगेर छापा मारेको थियो । उद्योगको गोदाममा छापा मार्ने क्रममा म्याद गुज्रिएका कस्मेटिक सामान ठूलो परिमाण फेला परेपछि टोलीले शुरूमा गोदाम सिल गरेको थियो । त्यसपछि गोदाममा रहेका सामानहरूको उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मितिबारे एक एक गरी लगत लिएपछि ती सामानहरू जफत गरी वीरगन्ज १० स्थित खोलाको छेउमा लगेर आगो लगाएर नष्ट गरिएको श्रीवास्तवले बताउनुभयो ।

म्याद गुज्रिएका सामान बजारमा बिक्री गरेको कसुरमा सम्बन्धित उद्योगलाई आर्थिक जरिवाना पनि गरिने उहाँले बताउनुभयो । उद्योगका सञ्चालक जैन, उद्योगमा नभेटिएकाले उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटिएको श्रीवास्तवले जानकारी दिनुभयो ।अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका अधिकृत श्रीवास्तव, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख खङखत्वे, प्रहरी सहायक निरीक्षक विनोद पटेल, उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष अजित भुजेल र वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज दासको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्