जिल्ला अस्पताल सल्यानमा प्रदेश सरकारले पठायो दुई डाक्टर

स्वास्थ्यकर्मी हरू श्रम शोषणमा परेको गुनासो

0
Shares

सरिता चलाउने,  सल्यान । 

जिल्ला अस्पताल सल्यानमा प्रदेश सरकारले तत्कालका लागि दुई जना डाक्टर पठाएको छ । अस्पतालमा भएका डाक्टर कोही राजीनामा दिएर  त कोही अध्ययनको लागि गएपछि एक जना एमडीजिपी डाक्टर अभिषेक सिंहको भरमा मात्र अस्पताल सञ्चालन हुँदै आएको छ ।

लामो समय सम्म एक जना मात्र डाक्टरले सेवा दिन नसकिने र अस्पतालको सेवा बन्द गर्ने अवस्था सिर्जना भएपछि प्रदेश सरकारले केही समयको लागि भनेर दुई जना मेडिकल अधिकृतलाई पठाएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।  अहिले केही समयका लागि प्रदेश सरकारले दुई जना डाक्टर पठाए पनि अरू डाक्टरको माग गरिरहेको निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले बताउनु भयो ।
लामो समय देखि जिल्ला अस्पताल सल्यानमा दरबन्दी अनुसारका डाक्टर नहुँदा अस्पतालले विशेषज्ञ सेवा दिन सकिरहेको छैन । जिल्ला अस्पतालमा ८ जना चिकित्सकको दरबन्दी भए पनि अहिले १ जना मात्र कार्यरत छन्  । ५ जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्यकर्मी नहुँदा जटिल खालका बिरामी महँगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य छन् ।

दुई हप्ता यता त झन् एक जना मात्र डाक्टर हुँदा अस्पताल बाट पाउने उपचारमा सेवामा समस्या हुँदै आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।   अहिले केही समयका लागि भनेर प्रदेश सरकारले दुई जना डाक्टर पठाएपछि तत्कालको समस्या टरेको देखिन्छ । तर अस्पतालले विशेषज्ञ सेवा दिनलाई टिम वर्क चाहिने एमडीजिपी डाक्टर अभिषेक सिंहले बताउनु भयो । प्रदेश सरकारले अहिले दुई जनालाई त पठाएको छ, तर उहाँहरु केही समयका लागि मात्र आउनु भएको छ, एमडीजिपी डाक्टर सिंहले भन्नु भयो, केही दिन त उहाँहरुलाई अस्पतालको बारेमा बुझन समय लाग्छ, केही समयका लागि त समस्या ट¥यो, फेरि उही अवस्था नआउँला भन्न सकिँदैन ।  एक्लै २४ सई घण्टा खटिदा आफै बिरामी भएर बेड रेष्ट गर्नुपर्ने अवस्था आइसकेको डाक्टर सिंहले बताउनु भयो ।

यसैबिच अस्पतालका स्वास्थ्यकर्मीहरुले आफूहरू श्रम शोषणमा परेको बताएका छन् ।  स्वास्थ्य सेवा कार्यालय सल्यानले आइतबार बिहान आकस्मिक रुपमा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय सहित अस्पताल विकास समिति समेतको बैठक बोल्दै अस्पतालका ईन्डोर ईन्चार्ज शुलोचना महर्जनले आफूहरू डिउटी समय भन्दा बढी काम गरे पनि काम गरेबापत सेवा सुविधा नपाएको बताउनु भयो । अस्पतालमा एक सुत्केरी गराए बापत आफूहरूले  पाउने भत्ता समेत नपाएको उहाँले गुनासो गर्नुभयो । ई स्टाफ नर्सहरूको कमी हुँदा डवल तिर्पाल डिउटी गर्दै आइरहेको र काम गरे बापतको पाउनुपर्ने सेवा सुविधा नपाएको ईन्डोर ईन्चार्ज मर्हजनले बताउनु भयो ।

 अस्पताल बिकास समितीका अध्यक्ष सिपी ओलीले अस्पतालमा आयस्रोत न्यून भएका कारणले डाक्टरहरूले पाउने सेवा सुविधा दिन नसकिएको बताउनु भयो । पहिले अस्पताल घाटामा रहेकाले अहिले केही सुधार हुँदै गएपछि अब देखि  अस्पताल बाट आउने ४० प्रतिशत डाक्टरलाई सेवा सुविधा दिने निर्णय भएको बताउनु भयो । यता स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले पहिलेको तुलनामा अहिले कार्यालयमा कम बजेट पठाए पछि समस्या भएको बताउनु भयो ।

कार्यालय सहयोगी समेतलाई एउटै बजेट बाट तलब खुवाउने भएपछि बजेट अपुग भएर यो समस्या आएको बताउनु भयो । तर स्वास्थ्यकर्मीहरूको लागि प्रदेशले सरकारले दिने सेवा सुविधा पाई रहेको बताउनु भयो । जो स्वास्थ्यकर्मीले सुत्केरी बनाए बापत पाउने भत्ता हो त्यसमा केही ढिलाइ भएकाले अव छिटै प्रदान गर्ने निमित्त स्वास्थ्य व्यवस्थापक श्रेष्ठले बताउनु भयो । अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भए पछि सल्यान सहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।