कोरोना महामारी प्रति अझै सचेतनाको खाँचो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल लगायतका मुलुकहरुमा कोरोना संक्रमण न्यून हुँदै गएको अवस्थामा चीनमा भने केही दिन देखि कोरोना संक्रमितको संख्या बढेका कारण संक्रमित क्षेत्रका विद्यालयहरु बन्द गर्नुका साथै संक्रमण भएर निको भइसकेकालाई पनि पुनः परीक्षण सुरु गरेको छ ।

यता नेपालमा भने कोरोना केही होइन साधारण रुघा खोकी हो आउँछ जान्छ भनेझैँ गरी राजनैतिक दलका उच्च पदस्थ व्यक्ति, कार्यकर्ता, सर्वसाधारण व्यक्तिहरूले हेलचेक्राई नगर्न स्वास्थ्यकर्मीहरूको सुझाव छ । चीन सरकारले अब पुनः सबै व्यक्तिमा कोरोना फैलन सक्ने चेतावनी दिइरहँदा नेपालमा सुरक्षाको मापदण्ड नअपनाउने हो भने पहिलो र दोस्रो लहरको जस्तै महामारी आउने सक्ने चेतावनी दिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका अध्ययनमा कोरोना विरुद्धको खोप लगाउनु फाइदाजनक भएको उल्लेख गरिए पनि खोपले कति अवधिसम्म काम गर्छ भन्ने विषयमा केही बोलेको छैन । यसका साथै नेपालमा ६० प्रतिशतले खोप लगाएको तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरे पनि खोप लगाउन किन मन परायण भन्ने निष्कर्ष सार्वजनिक गरिएको छैन । नेपालमा कोभिडको २ वटा नयाँ खोपको पनि परीक्षण भइरहेको छ ।

एउटा खोप काठमाडौँ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेल र त्रिवि शिक्षण अस्पतालमा नमुना परीक्षण गरिएको छ । नमुना सङ्कलन गरी अमेरिका पठाइएको र नतिजा आई नसकेको अनुसन्धान टोलीमा खटिएका एक चिकित्सकले जनाएका छन् । त्यसै गरी चाइनिज कम्पनीको खोप पनि भरतपुर र त्रिशूली अस्पतालमा परीक्षण भइरहेको छ । दुवै खोपको नतिजा आउन समय लाग्ने अनुसन्धान टोलीमा खटिएका सदस्यहरूको ठम्याइछ ।

यता ४० प्रतिशत खोप लगाउन बाँकी रहेका नागरिकहरूमा १२ वर्ष मुनीका बालबालिका पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५ वर्ष माथिका बालबालिकाका लागि भने खोप लगाउने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप व्यवस्थापन प्रक्रियाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।