निर्वाचनप्रति असीम निराशा



आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै प्रमुख दलहरुबीच चुनावी गठबन्धन र तालमेलको चर्चा चुलिदै गएको छ । स्थानीय तह होस् वा प्रदेश तह वा संघीय तह, जसरी पनि सत्तामा पुग्नैपर्ने मनशायका साथ दलहरु लागिपरेका छन् । विगतमा जनताले दुई तिहाइ निकटको बहुमत दिंदा पनि दलले राजनीतिक स्थायित्व र विकास दिन नसकेका कारण आम जनतामा निर्वाचनप्रति असीम वितृष्णा छाएको देखिन्छ । कसलाई भोट हालेर के हुन्छ भन्ने निराशा व्याप्त छ । तर यस निराशालाई चिर्ने तत्परता कुनै दलमा देखिंदैन ।

अघिल्लो निर्वाचनमा पनि दलहरुल गठबन्धन र तालमेल गरेका थिए । संघीय निर्वाचनमा प्रमुख दल मध्यको एमाले र माओबादीको चुनावी तालमेलबाट झण्डै दुई तहाई बहुमत पनि हासिल भएको थियो । गत स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धनकै कारण केही तहमा आफ्नो बलियो पकड भएपनि एमाले पराजित भएको थियो । संघीय संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थितिलाई पनि एमालेसँगको चुनावी तालमेलको नतिजाको रुपमा लिइन्छ । दलहरुबीचको चुनावी गठबन्धन र तालमेल केवल चुनाव जित्न र सत्तामा पुग्नको लागिबाहेक आम जनताको चासोसँग कुनै मतलब देखिंदैन । आम जनताको सवालसँग मतलब हुन्थ्यो भने गत संघीय निर्वाचनमा एमालेसँग गठबन्धन गरी बहुमत प्राप्त सरकार गठन गरेको माओवादी अहिले कांग्रेसँग गठबन्धन गरी सत्ता सञ्चालनमा सहभागी भएको देखिदैनथ्यो । आम जनताले प्रतिपक्षको भूमिका निभाउन पठाएको नेपाली कांग्रेस सरकारको नेतृत्व गर्ने अवस्थामा देखिदैनथ्यो । राजनीतिक दलहरुको स्वार्थ केवल सत्ता प्राप्तिमा मात्र केन्द्रित छ । २०४६ सालपछि अहिले सम्मको अवस्थालाई हेर्ने हो भने प्रायः सबै दल यसैगरी सरकार सञ्चालनमा पुगेको देखिन्छ । ठूलो दल सानो भएका छन् । सानो दल ठूलो भएका छन् । पालैपालो सत्ताको स्वाद चाखिरहेका छन् । दुई महिनाअघि एउटा दलसँग गठबन्धन र तालमेल गर्ने, दुई महिनापछि अर्को दलसँग गठबन्धन र तालमेल गर्ने र सत्ता र शक्तिमा बसिरहने हाम्रा राजनीतिक दलहरुले पटक पटक जनतालाई झुक्याइ रहेका छन् ।

निर्वाचनको परिणामले सरकार सञ्चालनलाई महुमत नगुगेर गठबन्धन गर्नु दलहरुको बाध्यता भए पनि निर्वाचनमै गठबन्धन र तालमेल गर्नुभनेको जनता झुक्याउनु हो । अझ स्थानीय निर्वाचनमा हुने गठबन्धन र तालमेलले दलहरुको वास्तविक चरित्र प्रष्ट बनाएको छ । निर्वाचन आयोगमा दलहरु छुट्टाछुट्टै दर्ता छन् । ती दलहरुको घोषणापत्र, नीति, कार्यक्रम, उद्देश्य र आम जनतालाई दिने आश्वासन पनि फरक–फरक छन् । नेपालमा भएका जतिपनि दलहरु छन् ती सबै ७ सय ५३ वटै स्थानीय तहमा छुट्टाछुट्टै रुपमा आ–आफ्नो घोषणापत्रका साथ चुनावमा भाग लिए सबै दलको वास्तविक हैसियत थाहा हुन्छ । आम जनताले गलत गर्ने दल र नेताहरुलाई सजाय दिने निर्वाचनकै बेलामा हो । गठबन्धन र चुनावी तालमेलको नाममा आम जनतालाई झुक्काइरहने दल र नेताहरुप्रति आम मतदाता सचेत हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्