कलाकारिता छोडेर कृषि पेसामा


खुशीमाया गुरुङ, लमजुङ ।

लमजुङको मध्यनेपाल नगरपालिका–५ पराजुलीबेसीका इभन जोशी व्यावसायिक कृषि पेसा अँगालेसँगै सन्तुष्टि र आम्दानी गर्न सफल भएका छन् । केही वर्ष कलाकारिता क्षेत्रमा जमेका जोशी विगत पाँच वर्षदेखि कृषि कर्ममा लागेसँगै उनको व्यक्तिगत जीवनचर्या मात्रै होइन समाजको उदाहरण नै बनेका छन् ।

कलाकारिता क्षेत्रमा रमाइरहेका जोशी पछिल्लो वर्ष खेतबारीमै रमाउन थालेका छन् । पाँच वर्ष अघि जङ्गल एग्रीकल्चर फार्म स्थापना गरी व्यावसायिक कृषिको शुरु गरेका जोशीले अहिले ७० रोपनी जग्गामा मौषमी तथा बेमौषमी तरकारी खेती गर्दै आएका छन् ।

तरकारीका लागि ६० टनेल सँगै ६० भन्दा बढि घार सहित मौरी पालन गरेका जोशीले माछा पालनलाई पनि व्यावसायिक बनाएका छन् । कृषिबाट आत्मनिर्भर हुने पुर्ख्यौली कृषि पेसालाई व्यावसायिक बनाउन सक्षम हुँदा आँफुलाई पूर्ण सन्तुष्टि मिलेको जोशीको भनाई छ ।

कृषि व्यवसायबाट मासिक डेढ लाख आम्दानी हुने कृषक जोशी बताउनुहुन्छ । दैनिक व्यस्तता र सन्तोषजनक आम्दानीले आँफुमात्रै नभई परिवार नै खुसी भएको उहाँको भनाई छ । आफ्नो कर्मले पैसा कमाउन विदेश जानुपर्छ भन्ने मान्यता टरेको उहाँको परिवारको बुझाई छ । व्यवसायलाई अझै थप्दै लैजाने सोचमा रहेका जोशी सामान्यतया बजारको माग अनुसारको उत्पादनलाई जोड दिने बताउनुहुन्छ ।

रोजगारीका लागि धेरै युवा बिदेसिएको तथ्य एकातिर भए पनि पछिल्ला समय केही युवाहरू व्यावसायिक कृषि तर्फ आकर्षित भएको जोशीको बुझाई छ । परम्परागत कृषिलाई परिमार्जन गरी आधुनिक र व्यावसायिक बनाउन सके जीवन शैलीमा सुधार हुने उहाँको भनाई छ ।

ठूलो क्षेत्रमा व्यवस्थित र व्यावसायिक कृषिको सुरुवात भएसँगै हाल जोशीको फार्ममा विभिन्न कृषि क्याम्पस तथा तालिम केन्द्रमा अध्ययनरत विद्यार्थीहरू प्रयोगात्मक अभ्यास तथा अवलोकनका लागि समेत आउने गरेका छन् । प्रवीणता प्रमाणपत्र सकिएसँगै कलाकारिता क्षेत्रमा लागेका जोशी होस्टल रिटर्नस, मुकौटा लगायतका सिनेमाहरूमा अभिनय गरेका छन् ।

स्नातक अध्ययन सकेका जोशी कलाकारिता आफ्नो रुचिको विषय भए पनि व्यावसायिक पेसा कृषि भएको भन्दै नेपाली माटो अनुसारको कृषि क्रान्ति गर्ने सोचमा रहेको बताउँछन् । आफ्नो कर्तव्यबाट आँफुमात्रै नभई अन्य युवाहरूलाई पनि मिहेनत गरे सफल भइन्छ भन्ने सन्देश दिन खोजेको जोशीले बताए ।