मृत्यु पर्यन्त मैले पनि अंगदान गर्ने घोषणा गरेँ : मन्त्री खतिवडा

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

विश्व मिर्गौला दिवसको अवसरमा रत्नपार्कबाट शुरुभएको प्रभातफेरि कार्यक्रम रंगशालामा पुगी फुटबल खेलमा परिणत गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मिर्गौला दाता र प्रत्यारोपित दुबैले देश र समाजका लागि साधारण मानिसको जतिनै योगदान दिन सक्ने बताउनुभयो ।

मन्त्री खतिवडाले नेपालमा मृगौला दिवस मनाउन थालेको १२ बर्ष भयो । सरकार र सरोकारवाला निकायले यस दिवसलाई आम जनमानसमा सकारात्मक सन्देश पुर्याउने उदेश्यले प्रभातफेरिका साथै मृगौला प्रत्यारोपितसँग फुटबल खेलको आयोजना गर्दै आएको बताउनुभयो ।

उहाँले नेपालमा मृगौला प्रत्यारोपण शुरु भएदेखि धेरै नेपालीले स्वदेशमै राज्यको सहयोगमै मृगौला प्रत्यारोपण गर्न सहज भएको बताउनुभयो । नेपाल सरकारले मिर्गौलाका बिरामीका लागि आर्थिक तथा कानूनी रुपमा सहज बनाउँदै जान सकियोस भन्ने उदेश्यले कानूनी दायरा फराकिलो बनाएको र आर्थिक रुपमा अझ सहयोग पुगोस भन्ने उदेश्यले थप प्रयास भइरहेको बताउनुभयो ।

विगतमा श्रीमान, श्रीमती, छोरा छोरीको नातामा मात्र मृगौला प्रत्यारोपणका लागि मृगौला दान दिन र लिन पाउने दायरा हुँदा धेरै नेपालीले अन्य मुलुकमा गै महगो शुल्कमा मृगौला प्रत्यारोपण गर्नुपर्ने बाध्यतालाई सहज बनाउँन अहिले कानूनी दायरा फराकिलो बनाउँदै लगेको मन्त्री खतिवडाले बताउनुभयो ।

मृत्यु पछि जलेर खरानी हुने शरिरका अंगहरुले पिडामा परेको मान्छे बचाउन सकिन्छ । त्यसैले मैले पनि मृत्यु पर्यन्त अंग दान गर्ने घोषणा गरिसकेको छु । सबै नेपालीले मृत्युपछि जलेर वा कुहिएर खेर जाने अंग दान गरेर पुण्य कमाऔ भन्नुभयो ।
विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्यकर्मी तथा कलाकार र अंगप्रत्यारोपितबीचको फुटवल प्रतियोगिता गरिएको थियो ।

‘म यहाँ आएँ, मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुसंग फुटवल खेलें, प्रत्योरोपितले हाम्रो टिमलाई शुरुमै गोल चखायो । मृगौला प्रत्यारोपण गरेको मान्छे कमजोर हुन्न भन्ने यो बलियो उदाहरण हो,’ मन्त्री खतिवडाले भन्नुभयो । उहाँले अंगप्रत्यारोपण र डायलासिसलाई थप व्यवस्थित र सबैको सहज पहुँचमा पुरयाउने काममा नेपाल सरकार सधै तत्पर रहिरहनेछ ।’

‘मृगौला स्वास्थ्य सबैका लागि’ भन्ने मुल नाराका साथ यस बर्षको विश्व मृगौला दिवस नेपालमा पनि रत्नपार्कबाट प्रभातफेरि शुरु गरि दशरथ रंगशालामा पुगी आयोजना गरिएको अंगदान शिविर, अंगदान तथा अंग प्रत्यारोपण सम्बन्धी अन्तक्र्रिया फुटबाल लगायतका कार्यक्रम गरि मनाईयो ।

उक्त कार्यक्रममा १ सय ४५ जनाले मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले जानकारी गराउँनुभयो । सो अवसरमा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले खानपान, जीवनशैलीका कारण मिर्गौला रोगको समस्या नियन्त्रणमा आउन नसकेको कुरा औंल्याउनुभयो । राज्यमन्त्रीलाई मष्तिष्क मृत्यु भएका व्यक्तिबाट नेपालमै पहिलो पटक मृगौला प्राप्त गर्न सफल मिलन श्रेष्ठले अंगदानको कार्ड हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मिर्गौला उपचारमा सरकारले गरेको सहयोगको प्रशसा गर्नुभयो । उहाँले मिर्गौलाका बिरामीका लागि सरकारले डाईलासिसका लागि प्रत्येक वर्ष एक जना व्यक्तिका लागि साढे २ लाख रुपैयाँ र प्रत्यारोपणका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको बताउनुभयो ।

कार्यक्रममा सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलले मिर्गौला लगायतका अंग फेल भएका व्यक्तिका लागि अंगदान गर्नु महादान भएकाले जनचेतना जगाउन आवश्यक रहेको कुरा औल्याउनुभयो । कार्यक्रममा स्वास्थ्य अभियान नेपालका अध्यक्ष दीपकप्रसाद दाहालले अंग प्रत्यारोपणका लागि नेपाल सक्षम मुलुक हुँदै गएको बताउनुभयो ।

उहाँले राज्यले हरेक विद्यालयमा बर्षमा एकपटक विद्यार्थीहरुको मिर्गौला जाँच गर्ने र जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । अंगदानको घोषणा गर्नुभएका स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिव लगायत अन्य अंगदानको इच्छा व्यक्त गर्नुभएका व्यक्तिहरुलाई अंगदान कार्ड प्रदान गरियो ।

अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा ९ बर्षको अवधिमा ८ सय २१ जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको जनाकारी गराईयो । साथै ६ जनाको कलेजो प्रत्यारोपण तथा मस्तिस्क मृत्यु भएको व्यक्तिबाट समेत अंग प्रत्यारोपण कार्यमा सफलता हासिल गरेको जानकारी गराईयो ।