अस्पताललाई व्यापार होइन, सेवा दिने थलो बनाऔं



हामी बिरामी हुँदा अस्पताल जान्छौं । यहाँ अस्पतालको पनि दुई खालमा विभाजन गरिएको छ । पैसा हुनेलाई निजी र साधारण वर्गलाई सरकारी अस्पताल । तर आर्थिक कमजोर भएकाहरु घरमै रोग पालेर बस्छन् । यसमा बूढाबूढी मात्र नभई युवायुवती र बालबालिका पनि पर्दछन् । आफ्नो मर्ने दिन पर्खेर बस्नुबाहेकको उपाय रहँदैन । निजी र सरकारी अस्पताल त खडा छन् तर बिरामी कुरुवाको बस्ने ठाउँ त्यहाँ सुनिश्चित गरिएको छैन । आफूलाई धेरै गाह्रो भइसक्दामा बेडको अभावमा सरकारी अस्पतालबाट फर्किनुपर्ने बाध्यता छ । पहुँच नभएका, पावर लगाउन नसक्नेहरु सरकारले तोकेको ठाउँमा गएर समेत उपचार गर्न पाउँदैनन् ।

यसै गरी जनताले तिरेको करबाट तलब भत्ता खाइरहेका सरकारी अस्पतालका डाक्टर, नर्सहरु छिटोछरितो सेवा दिऊँ भनेर सोच्दैनन् । न उनीहरुको बोलीबचन नै राम्रो छ । बिरामी मर्ने अवस्थामा पुगिसकेको हुन्छ तापनि उनीहरु आलटाल नै गरिरहेका भेटिन्छन् । अस्पतालमा आएर हाजिर गर्छन् अनि निजी अस्पताल क्लिनिकमा गएर काम गर्छन् ।

आर्थिक कमजोर भएकाले छिटोछरितो र सहुलियत रुपमा उपचार पाऊन् भनेर खोलिएको अस्पताल अहिले विकृतिको थलो बनेको छ । न आम सर्वसाधारणले बेड पाउँछन्, न डाक्टर । नानाथरीको नाममा शुल्क भने निजीको जति नै बनाइसकेका छन् । अहिले सरकारी वा निजी अस्पतालले भर्ना गर्नुअघि डिपोजिट राख्न लगाउँछन् । उनीहरुले तोकेअनुसार डिपोजिट रकम पहिल्यै जम्मा गराउनुपर्छ । पहिल्यै डिपोजिट राख्न नसक्नेहरु त उपचार नै नगराई फर्किनुपर्छ । पैसा जम्मा नगरी डाक्टरले छुँदैनन् अनि के गर्ने ? गरिब, आर्थिक कमजोर भएकाहरुलाई अस्पतालले गर्ने व्यवहार नै भिन्नै छ ।

उपचारको लागि कति सरकारी अस्पतालको गेटमा भौंतारिरहेका छन् । कति भुइँमा छट्पटाइरहेका छन् । कहाँ–कहाँबाट उपचार गर्न आएका हुन्छन् । पैसाको अभावमा उपचार गरौं कि फर्कौं भन्ने दुविधा दुर्गम जिल्लाबाट आएकाहरुको अनुहारमा प्रस्टै देखिन्छ । गाउँमा उपचार सम्भव नभएर आफूसँग भएको रकम बोकी कतिपय काठमाडौं भित्रिएका हुन्छन् । खेतीपाती गरेर जीविकोपार्जन गर्नेसँग कहाँबाट पैसा हुन्छ ? ऋण–धन गरेर काठमाडौं त आउँछन् तर पैसा सकिएपछि कहाँ बस्ने र के खाने भनी उनीहरु अन्योलमा पर्दछन् । पैसा सकिनेबित्तिकै उपचार नै निको नभईकन उनीहरु आफ्नो गाउँ फर्किन्छन् । उही रोग बोकेर उनीहरु आफ्नो घर फर्किन बाध्य छन् ।

सरकारी अस्पताल त भनेको छ तर निःशुल्क उपचारको व्यवस्था भने गरिएको छैन । एउटा ज्वरो नापेको पनि पैसा तिर्नुपर्छ । हुन त सर्वसाधारणको लागि खोलिएको अस्पताल हो तर पनि यहाँ पैसा र पावरको खेल हुन्छ । भनसुन गर्न सक्यो भने छैन भनेको बेड पनि पाइन्छ । सरकारी अस्पतालमा क्यान्टिन छ तर त्यहाँ भएका खानेकुराको शुल्क पनि अचाक्ली महँगो छ ।

यी अस्पतालमा खानेपानीको समेत व्यवस्था गरिएको छैन । उनीहरुले पानीसमेत किनेर पिउनुपर्छ । त्यसै गरी, खानेकुराको मूल्य असाध्य महँगो हुँदा बिरामीका कुरुवाहरु भोकभोकै हिँडिरहेका छन् । डाक्टरले लेखेको औषधि किन्न सक्ने क्षमता उनीहरुमा छैन । सरकारले निःशुल्क भनेपछि उनीहरु बाँचिने आशले रोग देखाउन आएका हुन्छन् । तर, त्यहाँ आएपछि मात्र उनीहरुले हरेक कुराको शुल्क लाग्दो रहेछ भन्ने थाहा पाउँछन् । सरकारी अस्पताललाई हरेक जनताले विश्वास गरेका छन् । जसको कारण उनीहरु त्यहाँ उपचार गर्न आउँछन् ।
सरकारी अस्पतालमा एउटा सफा शौचालयसमेत छैन । निकै फोहोर, गन्हाउँदो खालका, कहिल्यै सफा नगरिएका र भित्ताभरि पानका छिटा हुन्छन् । ढोकामा चुकुल हुँदैन, ढोका राम्ररी लाग्दैन, पानीको अभाव छ । यसरी सरकारी अस्पतालमा अभाव नै अभाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विभागले यी अस्पतालको व्यवस्थापनमा खासै चासो दिएको छैन ।

त्यस्तै, त्यही भएको अस्पताल व्यवस्थापन समितिले पनि जनताको मन जित्ने गरी काम गर्न सकेको छैन । सरकारी अस्पतालमा काम गर्ने हरेक कर्मचारी राजनीतिक पार्टीका सदस्य हुन् । बिरामी छट्पटाइरहेका हुन्छन् तर उनीहरु हातमा कालो पट्टी बाँधेर सडकमा भेटिन्छन् । आफ्ना विभिन्न माग राखेर यिनीहरु सडकमा उत्रिरहेका भेटिन्छन् । माग राख्नलाई त राम्रो काम पनि गरेको हुनुपर्यो नि । बिरामीलाई गर्ने बोलीबचन राम्रो हुनुपर्यो ।

सरकारी अस्पतालले राम्रो सेवा–सुविधा दिन नसक्दा यसको फाइदा निजी अस्पतालले उठाइरहेका छन् । सरकारी अस्पतालमा जाँच्न आएकाहरुलाई डाक्टर, नर्सले आज पालो छैन भन्दै महँगो शुल्क तिर्न बाध्य पार्दछन् । आज पालो छैन भन्दै फर्काउँछन् अनि उनीहरु निजीमा गएर उपचार गर्न बाध्य हुन्छन् । बिरामीलाई आवश्यक नपर्ने औषधि लेखिदिने, ती औषधि किन्न लगाउने, अनि पछि त्यही औषधि पसलबाट कमिसन खाने ।

सरकारले उपचारका लागि दिएको सरसामानहरु आज छ भोलि छैन भनेजस्तै छ । सरकारले पठाएको सामान एकदिनमै गायब हुन्छ । ओढ्ने, ओछ्याउने, विभिन्न औषधि, सरसफाइका सामानहरु सरकारी अस्पतालका कर्मचारीहरुले हिनामिना गर्छन् अनि आफ्नो घरतिर दौडाउँछन् । जनतालाई निःशुल्क दिएका औषधिहरु पनि सिद्धियो भन्दै मेडिकलमा लगेर बेच्छन् । विभिन्न प्रयोजनको लागि सरकारले छुट्याएको रकम पनि बिल, भौचर मिलाएर भ्रष्टाचार गर्छन् ।

अस्पतालको कम्पाउन्डभित्र र बाहिर भएको सटर भाडा पनि राज्यको ढुकुटीमा जाँदैन । अस्पतालको वरिपरि खालि जग्गामा बनेका टहराहरुको भाडा पनि अस्पताल व्यवस्थापनले मिलाएर खाइदिन्छन् । गुणस्तर व्यवस्थापन र राम्रो उपचारको सुविधा नहुँदा यसको फाइदा निजी अस्पतालले उठाएका छन् । सरकारी अस्पतालमा काम गर्ने डाक्टर, नर्सको आफ्नो निजी क्लिनिकको व्यवहारमा कति फरक पर्छ । निजी अस्पतालमा उपचार गर्न आएकालाई उनीहरुले राम्रो व्यवहार गर्छन् भने सरकारीमा आएका बिरामीलाई खरो । पैसा महँगो ति¥यो भने बोलीबचनमा पनि फरक पर्दो रहेछ । निजी अस्पतालमा आर्थिक कमजोर भएका मानिसहरु भेटिँदैनन् । किनकि आर्थिक कमजोर भएको, गाउँबाट आएको र नपढेकालाई त्यहाँको गार्डले गेटभित्र प्रवेश गर्नै दिँदैनन् ।

निजी अस्पताल पनि एउटा लुट्ने भाँडा हो । उनीहरुको डाक्टर चार्ज नै निकै महँगो हुन्छ । अर्कोतिर बेड शुल्क पनि निकै महँगो छ । निजी अस्पतालले कमाउने लोभमा सद्धे मानिसलाई पनि यो रोग लागेको छ भन्दै उनीहरुको सम्पत्ति स्वाहा पारिदिन्छन् । निजी अस्पतालको लापरबाहीले कतिले अकालमा ज्यान खेर फालेका छन् । पैसा तिर्न नसक्दा निजी अस्पतालले बिरामीलाई नै बन्धक बनाएर राखिदिन्छन् । पैसा नतिरीकन लास पनि दिँदैनन् । आफ्नो मर्जीले लाखौंको बिल निकाल्छन् अनि त्यति नतिरेसम्म लास पनि दिँदैनन् ।
सुजाता, भक्तपुर

प्रतिक्रिया दिनुहोस्