नेपालमा पहिलो पटक ८० वर्षीय वृद्धामा शल्यक्रिया विना भल्भ प्रत्यारोपण सफल



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पहिलो पटक सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीले डेढ घण्टा लामो प्रयासमा एओर्टिक भल्भ प्रत्यारोपण (टिभी) विधिबाट चिरफार विना नै मुटुको भल्भ प्रत्यारोपणमा सफलता हासिल गरेको छ ।

८० वर्षीया महिलामा भल्भ प्रत्यारोपण गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारीले शुक्रवार गङ्गालाल अस्पतालको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी श्रव्य दृश्य सहित जानकारी गराउनुभएको हो । देशमै पहिलो पटक गरिएको भल्भ प्रत्यारोपणका लागि आवश्यक तयारी १ घण्टा लागेको थियो भने प्रत्यारोपणका लागि ३० मिनेट लागेको पनि उहाँले जानकारी गराउनुभयो ।

यही फागुन १६ गते भल्भ प्रत्यारोपण सफलता मिलेको ८० बर्षिया महिलालाई २० गते शुक्रवार डिस्चार्ज गरी घर पठाउन सफल भएको जानकारी सञ्चारकर्मी समक्ष जानकारी गराउन पाउँदा उपचारमा संलग्न सम्पूर्ण टिमलाई खुसी लागेको र आगामी दिनमा थप उपचारका लागि आत्मबल बढेको छ निर्देशक अधिकारीले बताउनुभयो ।

यो विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथरेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण गरिएको भल्भले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने अस्पतालका निर्देशक डा. अधिकारीले बताउनुभयो ।‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा जटिलता कम हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ,’ उहाँले भन्नुभयो, ‘शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ ।’

सन् २००२ मा यो पद्धतिमा पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरूमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो प्रविधि भित्रन सकेको थिएन । यो मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्भ साँधुरिने रोगलाई एर्ओिक स्टेनोसिस भनिन्छ । यो रोगका कारण स्वाँस्वाँ हुने, छाती दुख्ने र बेहोस हुने जस्ता गम्भीर लक्ष्णहरु देखिन सक्छ । यस्ता लक्षणहरू देखिएका बिरामीहरूको दुई बर्सभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्ययनहरूले देखाएको डा.अधिकारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ-यो रोगको प्रचलित उपचार भनेको छाती तथा मुटु चिरेर भल्भ प्रत्यारोपण गरिने विधि हो । विशेष गरि बृद्धबृद्धामा यो रोगका साथै अन्य प्रकारका जटिल रोगहरू र शारीरिक दुर्बलतासमेत हुने भएकाले छाती चिरेर शल्यक्रिया गर्दा बढी जोखिम हुने गर्दछ । यस्ता बिरामीको जोखिम न्यूनीकरण गर्नका निमित्त

टाभी पद्धतिको विकास भएको छ । यो विधिबाट छिमेकी मुलुक भारतमा पनि सेवाहरू सुचारु छन् । नेपालले पनि चेन्नाईबाट आएको विशेषज्ञ टोलीको प्रत्यक्ष निगरानीमा रहेर ८० वर्षीय वृद्धाको भल्भ प्रत्यारोपण गरेको हो ।

नेदरल्याण्डबाट भल्भ  ल्याई अपोलो चेन्नाईको प्रत्यारोपण विशेषज्ञको प्रत्यक्ष निगरानीमा सफलतापूर्वक प्रत्यारोपण गर्नेक्रमा गंगालालका थप्रै चिकित्सक, नर्स, प्राविधिक, कर्मचार लगायतको सम्पूर्ण टिमको उत्तिकै योगदान रहेकाले सफल भएको हो । भारतमा ४० देखि ५० लाख खर्च लाग्ने भल्भ प्रत्यारोपण गङ्गालालमा गराउँदा २० देखि २५ लाखमा सम्पन्न हुन्छ । यसले नेपालीहरूले विदेश गएर उपचारका लागि गर्ने खर्चमा पनि आधा नै कम लाग्ने डा.अधिकारी बताउनुहुन्छ ।

उहाँले हाल नेपालमा ८० वर्ष माथिका बृद्ध बृद्धाहरुका लागि मात्र यो विधि अपनाउने जानकारी गराउनुभयो । सोही अवसरमा उहाँले नेपालले एकै पटक यो विधिबाट उपचार गर्न मिल्दैन कारण विश्व सामु विश्वसनीयताका लागि अझै केही बिरामीको उपचारमा हामीले दक्ष चिकित्सक प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । दक्षता प्रमाणितताका लागि कानुनी प्रावधान अनु रुपनै कार्य गर्दछौ ।

गङ्गालालमा यस विषयमा जानकार तालिम प्राप्त जनशक्ति भएकै कारण विना शल्यक्रिया भल्भ प्रत्यारोपण सफल भएको हो । यो प्रक्रियाबाट उपचार गरिएको विषयमा नेपाल सरकारसँग सहजीकरणको लागि थप पहल गर्नुपर्ने अवस्था रहेको डा.अधिकारी बताउनुहुन्छ । यस खालका बिरामी विश्वमा कति छन् भन्ने बारेमा खासै अध्ययन अनुसन्धान भैनसकेको पनि उहाँले प्रस्ट्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्