मोतीराम तिमल्सिना, काभ्रे ।
११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काभ्रे जिल्लामा उत्पादित क्रियटिभ ब्युटी कस्मेटिक ब्राण्डको आयोजनामा ब्युटी सेमिनार तथा नयाँ प्रोडक्ट लन्च गरिएको छ । साथै विभिन्न क्षेत्रमा क्रियाशील सशक्त पाँच महिलाहरूलाई सम्मान गरिएको छ ।
क्रियटिभ ब्युटी कस्मेटिक ब्राण्डले २६ वटा सामाग्री उत्पादन गरेको छ । ‘स्वदेशमै उत्पादन गरौँ, स्वदेशी नै प्रयोग गरौँ’ भन्ने अभियानका साथ क्रियटिभ सहकारीले आफ्ना ब्राण्डहरु तयार गरिरहेको छ । क्रियटिभ साकोस मार्फत क्रियटिभ वर्कसप, क्रियटिभ एग्रिकल्चर, क्रियटिभ ब्युटी क्रियाशील छन् ।
सहकारीमा आबद्ध व्यक्तिहरूलाई सिपका साथै उद्यम तर्फ उन्मुख गराउन क्रियटिभ सहकारीले विभिन्न तालिमहरु आयोजना गरिरहेको छ । क्रियटिभ सहकारीकै उत्पादन स्वरूप क्रियटिभ ब्युटीले स्याम्पु, स्यानिटाइजर, फेसियल किट, टोनर, फेसवास, ह्याण्डवास तथा अन्य सामाग्रीहरु उत्पादन भएका छन् ।
‘छिमेकी देशहरूबाट आयात हुने कस्मेटिक सामाग्रीहरूलाई थोरै मात्र कम गराउन सकियो भने पनि नेपाली श्रम र पुँजी पलायन रोक्न सकिन्छ’–कार्यकारी निर्देशक अनुपकुमार श्रेष्ठले भन्नुभयो–‘नेपाली कच्चा पदार्थको प्रयोग गरेर नेपालमै सामाग्री उत्पादन गरी बजारमा लैजाने गरी २६ वटा सामान एक वर्ष देखि उत्पादन शुरु गरिएको छ ।’
सौन्दर्य कला व्यवसायी संघ काभ्रे, काभ्रे महिला उद्यमी मन्च, काभ्रे लेडि जेसिस, रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी क्लब अफ धुलिखेलको संयुक्त प्रयोजनमा ब्युटी सेमिनार, मेकअप डेमो, महिला उद्यमीहरूको स्टल प्रदर्शनी, निःशुल्क महिला प्रजनन स्वास्थ्य शिविर, दन्त शिविर, नृत्यकला प्रतियोगिता र उत्कृष्ट सेवा प्रदान गर्ने पाँच जना महिलालाई सम्मान गरिएको थियो ।
सम्मान पाउनेहरुमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ, चालक लक्ष्मी थापा, जिल्लाको पहिलो ब्युटिसियन सुनिता सागर र कमला श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्ति प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महिलाहरूको साहस र संर्घषलाई उद्यम र आयआर्जन तर्फ जोड्नु पर्ने बताउनु भयो । विगतका जस्ता महिलाहरूका समस्या फरक हुँदै गएको बताउँदै चेतनासँगै उद्यमलाई अगाडी बढाउँदै आत्मनिर्भरता तर्फ उन्मुख हुन उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ ब्युटीसियन कमला श्रेष्ठले ब्युटिसियनमा संलग्न महिलाहरूका कारण मुलुकको आर्थिक समृद्धिको बाटोलाई अगाडी बढाउन सहयोग पुगेको बताउनु भयो । ‘सरकारले ब्युटिसियन महिलाहरूले गरेको स्वरोजगार व्यवसायलाई अनिवार्य भ्याटमा समावेश हुन कानुन ल्यायो’–उहाँले भन्नुभयो–‘हाम्रो संर्घष र मेहनतले प्यानमा दर्ता भए हुने व्यवस्था गरायौँ । ब्युटिसियनमा तालिम लिएका कयौँ महिलाहरू स्वरोजगारमा रहेको उहाँले बताउनु भयो ।
ब्युटिसियनका लागि आवश्यक हुने कस्मेटिकहरू स्वदेशमै उत्पादन गर्न सकियो भने नेपालको पुँजी पलायन रोकिने बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले महिलाहरू आत्मनिर्भर हुन ब्युटिसियनले सहयोग पु-याएको बताउनु भयो ।
कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ काभ्रेकी अध्यक्ष शोभा नकर्मी, काभ्रे महिला उद्यमी मंन्चकी अध्यक्ष रामेश्वरी मानन्धर, काभ्रे लेडि जेसिसकी अध्यक्ष सुमित्रा बादे श्रेष्ठ, मनिषा श्रेष्ठ लगायतले ब्युटी सेमिनारले महिलाहरूको सिपमा निखारता आउन सहयोग पुगेको बताउनु भयो । सेमिनारमा महिलाहरूलाई मेकअप डेमो देखाइएको थियो । शिविरबाट पनि महिलाहरू लाभान्वित भएको आयोजकहरूले बताएका छन् ।
प्रतिक्रिया