न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै हुन सक्ने बताएकी छन् । आफ्नो पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आगामी चुनावसम्म यहि गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् ।
पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत टुंग्याउने उनको विश्वास छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने घर्तीको भनाइ छ ।
एमसीसी व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको विषय पनि बैठकको एजेन्डाको रुपमा प्रस्तुत भएको उनले जानकारी दिइन् । बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको घर्तीले जानकारी दिइन् । असन्तुष्ट समूहले खुला रूपमा विचार राख्न पनि प्रचण्डले आग्रह गरेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया