ढुवानी व्यवसायलाई वैज्ञानिक बनाउन सुझाव



बुटवल ।

माल सामानको ढुवानी भाडालाई वैज्ञानिक रूपमा निर्धारण गर्न र त्यसमा एकरूपता कायम गर्न व्यवसायीले ढुवानी व्यवसायीलाई सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा आयोजना गरिएको ढुवानी सम्वन्धि अन्तत्र्रिmयामा ट्रान्सपोर्ट व्यवसाय ढुवानी ग्राममा सरेपछि ढुवानीको भाडादर वृद्धि भएको र भाडामा एकरूपता पनि नभएको भन्दै सुधार गर्न सुझाव दिएका हुन ।

बुटवल नगरपालिकाले बुटवलको ढवाहामा ट्रान्सपोर्ट ग्राम निर्माण गरेपछि बुटवलमा छरिएर रहेको ट्रान्सपोर्ट व्यवसाय त्यहाँ सरेको छ । बुटवलको मुख्य बजारबाट ६/७ किलोमिटरको दूरीमा व्यवसाय सरेपछि ढुवानी भाडामा केही वृद्धि हुनु स्वाभाविक भएको उनीहरू बताएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–४ का अध्यक्ष टंकप्रसाद पराजुलीले ट्रान्सपोर्ट व्यवसायलाई व्यवस्थित गर्नकालागि नगरपालिकाले थ्रिपिको अवधारणामा ढवाहामा ट्रान्सपोर्ट ग्राम स्थापना गरिएको बताउँदै त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सबैको आ–आफ्नै भूमिका हुने र त्यो भूमिका सबैले निर्वाह गर्नुपर्ने बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नयाँ ठाउँमा जादा शुरुशुरुमा समस्या देखिएपनि विस्तारै समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । ढुवानी व्यवसायी संघका अध्यक्ष श्यामराज हमालले तुलनात्मक रूपमा ढुवानीको भाडा बढी देखिए पनि अहिले दुरी बढी भएकाले पुरानै दरमा काम गर्दा आफूहरुलाई घाटा हुने बताउनुभयो । व्यवसायमा नाफाबिना काम गर्न नसकिने बताउँदै उहाँले त्यसलाई व्यवस्थित गर्नको लागि अध्ययन भइरहेको जानकारी गराउनुभयो ।

त्यस्तै, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले व्यवसायीलाई पनि मर्का नपर्ने र ट्रान्सपोर्ट व्यवसायीलाई पनि मर्का नपर्नेगरी मध्येमार्गी बाटोको पहिचान गर्नुपर्ने भनाई राख्नुभयो । व्यवसायीका जिज्ञाशामा ढुवानी व्यवसायी संघका महासचिव रामप्रसाद गैरेले पहिले नै ट्रान्सपोर्टलाई बाहिर लैजादा के हुन्छ, बजारभित्रै राख्न के गर्न सकिन्छ भन्ने विषयमा बहस गरेर त्यसतर्फ ध्यान दिन सकेको भए अहिले यो समस्या नआउने बताउनुभयो ।

त्यस्तै, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सबै व्यवसायमा आ–आफ्नै खाले समस्या भएको बताउनुभयो । उद्योगी व्यवसायी र ढुवानी व्यवसायी एक सिक्काका दुई पाटा भएको बताउँदै उहाँले दुवै पक्षलाई सहज हुनेगरी भाडालाई वैज्ञानिक बनाउन र एकरूपता कायम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्