मान्छेमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा



बाँके ।

बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ । पछिल्लोपटक फागुन ७ गते राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको बाघलाई बुधबार त्यही ठाउँबाट नियन्त्रणमा लिइएको हो । राप्तीसोनारी गाउँपालिका–६ स्थित राप्तीपीडित सामुदायिक वनमा फागुन ९ गतेदेखि पाडो राखेर बाघलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । समस्याग्रस्त उक्त बाघले मंगलबार राति पाडोलाई आक्रमण गरेको थियो । बुधबार बिहान १० बजेतिर पुगेको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । बाघलाई बेहोस हुने औषधि राखेको गोली हानिएको थियो ।

वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधिराम कँडेलका अनुसार धेरै दिनको प्रयासपछि मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । उक्त बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली परिचालन भएको थियो । वन अधिकृत गणेश खड्काले नियन्त्रणमा लिइएको बाघलाई बाँकेको खैरीस्थित होल्डिङ सेन्टरमा राखिएको जानकारी दिनुभयो । यसअघि बर्दियाबाट ल्याइएको मान्छेमाथि आक्रमण गर्ने बाघ खैरीस्थित होल्डिङ सेन्टरबाट भागेको थियो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–६ की चाँदनी थारु र वडा नं. ४ की लीला विष्टलाई पुसमा बाघले आक्रमण गरेको थियो । दुई दिनको फरकमा बाघले दुई जनाको ज्यान लिएपछि हप्ता बढीसम्म राप्तीसोनारी गाउँपालिका–६ मा पाडो राखेर बाघलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । त्यति बेला बाघ नजिक नै आएको थिएन । एक हप्तासम्म पाडो खान बाघ नआएपछि चितवनबाट आएको प्राविधिक टोली फर्किएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि सामुदायिक वनमा बाघ देखिन थालेको छ । पछिल्लोपटक तीनै जनालाई बाघले सामुदायिक वनमा आक्रमण गरेको थियो । यद्यपि, बाघले बाँकेमा घरमै आएर भने आक्रमण गरेको छैन । जंगलभित्र घाँस दाउरा गर्न गएका व्यक्तिलाई आक्रमण गरिरहेको छ ।

सामुदायिक वनमा प्रायःजसो बाघ देखा परिरहेपछि राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६, ४, ७ लगायत ठाउँका बासिन्दा त्रासमा रहेका थिए । फागुन ८ गते राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरको झगडिया जंगलमा बाघले वकिल गद्दीलाई आक्रमण गरेको थियो । गद्दी बाँच्न सफल भएका थिए ।

बाघले मान्छेलाई आक्रमण गरिरहेपछि स्थानीयले बाघ नियन्त्रणका लागि चर्को दबाब दिएका थिए । अघिल्लोपटक एक हप्ता बढी जंगलमा बस्दा पनि बाघ समात्न नसकेको प्राविधिक टोलीले अहिले समातेर छोड्ने अठोटका साथ नौ दिनदेखि जंगलमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्