पोखरामा ३ वर्षपछि कुखुरामा बर्डफ्लु भेटियो

0
Shares

न्युज अफ नेपाल, पोखरा।

पोखरामा ३ वर्षपछि फेरी वर्डफ्लु देखिएको छ । पछिल्लो समय तराई भेगमा वर्डफ्लु देखिँदै आइरहँदा पोखरामा समेत भेटिएको हो । पोखरा महानगरपालिका वडा १५ र वडा १७ मा वर्डफ्लु देखिएपछि त्यहाँका कुखुरा तथा पंक्षीहरु नष्ट गरिएको हो । पोखरा १५ का खुसीमान गुरुङले पालेका १३ वटा कुखुरा र वडा १७ का खेमबहादुर क्षेत्रीले पालेको कुखुरा समेत मरेपछि उनीहरूले परीक्षण गराउँदा वर्डफ्लु भेटिएको हो ।

वडा १५ र १७ मा गरी ३९ घरधुरीका ३८१ वटा स्थानीय कुखुरा (लोकल), १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५०९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३२२ दाना र ३ हजार ८ सय ५० किलो दाना नष्ट गरिएको हो ।

वर्डफ्लु रोग नियन्त्रण कक्ष सञ्चार अधिकृत गृष्म न्यौपानेका अनुसार पछिल्लो समय २०१९ पछि पहिलो पटक पोखरामा वर्डफ्लु देखिएको हो । कास्कीको मादी गाउँपालिका याङ्जाकोटमा यस अघि भेटिएको थियो । वर्डफ्लु पुष्टि भएपछि ४२ दिनसम्म पंक्षी पाल्न नमिल्ने उनले बताए ।

यस्तै वर्डफ्लु देखिएको १ किलोमिटर क्षेत्रभित्र रहेका अन्य कुखुराहरू समेत नष्ट गरिएको छ । खासमा ३ किलोमिटर क्षेत्रभित्रका कुखुरा तथा घरपालुवा पंक्षी नष्ट गर्न पर्ने भएतापनि भौगोलिक हिसाबले क्षेत्र थोरै गरिएको उहाँले बताउनुभयो ।
कोरोना महामारीपछि आम नागरिकले घरमै थोरै भएपनि आफैले खाने गरी कुखुरा पाल्न थालेको उहाँले बताउनुभयो ।

पोखरामा देखिएको वर्डफ्लु घरकै लागि पालिएको बताउनुभयो । ‘पोखरामा जतिपनि कुखुरामा वर्डफ्लु देखिए ति व्यवसायीक होइनन् । सामान्य घरमै पालेका हुन्’ उहाँले भन्नुभयो,‘तर, त्यसो भन्दैमा ढुक्क हुने अवस्था छैन् कास्कीमा कुखुरा तथा पशुपंक्षी व्यवसायी धेरै छन् । अब सबैले परीक्षण गर्नुपर्ने देखिएको छ ।’

वडा १५ का वडा अध्यक्ष प्रकाश पौडेले वडामा नष्ट भएका कुखुराका धनीलाई उचित राहतको व्यवस्था हुने बताउनुभयो । उहाँले एक घरमा वर्डफ्लु देखिएपछि आसपास अन्य घरमा पालेका कुखुराहरुको समेत नष्ट गरिएको जानकारी दिनुभयो । उता वडा १७ का वडा सदस्य बैकुण्ठ भण्डारीले आफ्नो वडामा कुखुरा तथा बटाई चरा र अण्डाहरू नष्ट गरिएको जानकारी दिनुभयो ।

उहाँले कुखुरा पालेकाहरूको समन्वयमा नै नष्ट गरिएको र उनले उचित मूल्य दिने जानकारी दिनुभयो ।
पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा वर्डफ्लु संक्रमण पुष्टि भएको थियो । त्यसपछि सन् २०१३,०१७ र ०१९ मा देखा परेको थियो ।