प्रशासनको सक्रियतामा न्यायिक बहस, न्यायिक समस्यामा सरोकारवाला चिन्तित 

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका स्थानीय तहका न्यायिक समिति संयोजक, सहजकर्ता तथा सदस्यहरू र अर्धन्यायिक निकायका प्रमुखहरूसँग अन्तर्क्रिया गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले न्यायिक कार्य सम्पादन सम्बन्धी स्थानीय तह र अर्ध न्यायिक निकायमा भएका समस्याका बारेमा छलफल गरिएको बताउनु भयो ।

 ‘स्थानीय तहमा नागरिकता, बहुविवाह, जन्मदर्ता, घरेलु हिंसा लगायतका समस्याहरू समाधानका लागि समन्वय र सहजीकरण आवश्यक छ’– बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो–‘न्यायिक समितिले गरेका कामहरूबाट नागरिकहरू सन्तुष्ट हुनुहुन्छ, केही अस्पष्टताका बाबजुद न्यायिक समितिले गरेका कार्यहरू सन्तोषजनक छन् ।’

छलफलका क्रममा मण्डन देउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार लगायतले स्थानीय तहमा विशेषगरी नागरिकता लगायतका समस्याहरू रहेको बताउनु भएको थियो । त्यस्तै खानिखोला उपाध्यक्ष रुकमणी गुरुङ्ग, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तोला लगायतले प्रहरी, अदालत, प्रशासनबाट सहजीकरण र समन्वयका लागि अनुरोध गर्नु भएको थियो ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश मोहन भट्टराईले न्यायिक समितिका संयोजक र अर्ध न्यायिक निकायका प्रमुखहरूलाई निष्पक्ष, पारदर्शिता, सक्षमता र निर्भीकताका साथ काम गर्न अनुरोध गर्नु भयो । ‘ब्यक्तिका लेनदेन, सार्वजनिक जग्गा अतिक्रमण, घरेलु हिंसा तथा बलात्कार जस्ता मुद्दामा छलफल नगर्न अनुरोध गर्दछु’–जिल्ला न्यायाधीश मोहन भट्टराईले भन्नुभयो–‘स्थानीय तहमा भएको न्यायिक समितिबाट नागरिकहरूलाई सहज भएको महसुस भएको छ ।’

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कानुनको माध्यमबाट समतामूलक समाज निर्माण गर्न न्यायिक समिति र अर्धन्यायिक निकायले विशेष चासो र ध्यान दिनु पर्ने बताउनु भयो । ‘स्थानीय तहमा समाधान हुन नसक्ने थुप्रै घटनाहरू छन्’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘दुई जना श्रीमतीको एकै पटक नागरिकता बनाउन सिफारिस गर्ने जनप्रतिनिधिहरू, घटना दर्ता गर्ने कर्मचारीहरू, नाता कायम गरिदिने व्यक्ति, पाँच पटक जन्म दर्ता गर्ने समस्यालाई स्थानीय तहमै समाधान गर्न जरुरी छ ।’

अन्तर्क्रिया कार्यक्रममा जिल्ला महान्यायाधिवक्ता शम्भुकुमार बस्नेतले न्यायिक विषयमा न्यायिक समिति र अर्ध न्यायिक निकायको भूमिका र अधिकार क्षेत्रका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले अर्ध न्यायिक निकायको न्यायिक कार्य सम्पादनः अवधारणा र अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले न्यायिक कार्यसम्पादन, शान्ति, सुरक्षा एवं स्थानीय पालिका र प्रहरी बीचको समन्वयका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
जिल्लामा आत्महत्याको दर बढिरहेको, महिला हिंसाका कारण समस्या निम्तिरहेकाले न्यायिक समितिहरूको सक्रियता आवश्यक रहेको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताउनु भयो । ८ वर्ष देखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरूले चालु आर्थिक वर्षमा आत्महत्या गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, मालपोत कार्यालय काभ्रेका प्रमुख नवीन अधिकारी, नापी कार्यालय लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले जिल्लामा भएका न्यायिक समस्याहरूलाई सहजीकरण गरी नागरिकहरूलाई सेवा दिन तत्पर रहेको बताएका थिए ।