न्यौपानेद्वारा नेशनल प्याब्सनको अध्यक्षको उम्मेदवारी घोषणा

२२–२३ नेपालगन्जमा  साताैँ महाधिवेशन 

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।  

राष्ट्रिय निजी  तथा आवासीय विद्यालय अर्गनाईजेशन (एन प्याब्सन)को सातौँ महाअधिवेशनमा  वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आज  राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महासचिव न्यौपानेले सो घोषणा गर्नुभएको हो ।

यही फागुन २२ देखि २३ गते दुई दिनसम्म बाँकेको नेपालगन्जमा आयोजना हुने सातौँ राष्ट्रिय महाअधिवेशनमा निजी विद्यालयलाई सुदृढ र संगठित बनाउन आफूले उम्मेदवारी घोषणा गरेको जानकारी गराउनुभयो ।  न्यौपानेले उम्मेदवारी घोषणासँगै  १३ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ ।

उहाँले निजी विद्यालयको हक हित संरक्षण गर्न, सीपमूलक  र जीवनोपयोगी शिक्षा उपलब्ध गर्न, निजी विद्यालयको समस्या र शैक्षिक मुद्दालाई तार्किक ढंगले अघि बढाउन सेवामूलक र व्यावसायिक संस्थाको रूपमा विकास गर्न, संस्थागत विद्यालयका  शिक्षक, कर्मचारी र लगानीकर्ताको हक हित संरक्षण गर्न  आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उहाँले निजी  र सामुदायिक शैक्षिक संस्थाहरूबिचको सम्बन्धलाई पथ मजबुत बनाउन, शिक्षण सिकाइलाई  व्यावसायिक विकासमा आबद्ध गराउन,  राज्यप्रति दायित्व बढाउन, प्राकृतिक प्रकोप र अन्य विपद् पर्दा स्थापना गरिएको प्राकृतिक विपद् कोषलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले लामो समयसम्म एन प्याससनको उपल्लो पदमा बसिसकेको हैसियतमा आफू अध्यक्षको उम्मेदवारका लागि योग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो–अहिले मैले एक्लै उम्मेदवारी घोषणा गरेको छु ,  अधिकांश साथीहरू मेरो प्यानलबाट उठ्ने बताउनुभएको छ , महाअधिवेशनमै सबै टुङ्गो लाग्नेछ ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले महाअधिवेशनमा  देशभरका २ हजार ५ सय ६२ विद्यालयबाट करिब १ हजार ५ सय प्रतिनीधि सहभागिता जनाउने बताउनुभयो  । महाअधिवेशनले ११ पदाधिकारी सहित ३५ जनाको कार्यसमिति चयन गर्नेछ ।

अध्यक्ष सापकोटाले  सबैको सहमतिमा नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल भैसकेको बताउनुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहका कर्ण बहादुर शाही, उपाध्यक्ष श्यामसिंक मौली र कोषाध्यक्ष प्रताप थापाले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका न्यौपानेलाई शुभकामना दिनुभएको थियो ।