युक्रेनबाट नेपाली फर्कने क्रम जारी, स्थायी रूपमै बसेका नेपाली जोखिममा

0
Shares

सरस्वती कर्माचार्य, काठमाडौं ।

युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यही स्थायी रूपमै वर्षौँदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दैछन् । राजधानी किभको सडकमै उत्रिएर रुसी सेनाहरूले अन्धाधुन्ध आक्रमण गरेपछि ज्यान जोगाउन किभ छाडेर पश्चिम–दक्षिण शहर भसिल्कोभ पुगेका रघुनाथ साह आइतबार राति नेपाल समाचारपत्रको सम्पर्कमा आउनुभएको थियो ।

उहाँ भसिल्कोभस्थित छोरीको साथीको घरभित्र ‘अन्डरग्राउन्ड’ मा सपरिवार लुकेर बस्नुभएको थियो । उहाँको अनुसार उक्त शहरको प्रायः सबै घरमा तरकारी भण्डारणका लागि अन्डरग्राउन्ड बनाइएको हुन्छ । अहिले रुसी सैनिकको बख्तरबन्द गाडीको साइरन सुन्ने बित्तिकै उक्त शहरका सबै घरमुनिको त्यही अन्डरग्राउन्डमा लुक्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले आफू लुकिरहेको घरमा साथीको छोरीको परिवारका तीन जना र उहाँको पत्नी र दुई छोरी गरी सात जना रहेको जानकारी दिनुभयो । आइतबारको रात कटाउन सके सोमबार पोल्यान्डतर्फ लाग्ने योजनामा रहेका साहले भन्नुभयो–‘आज राती ज्यान जोगिए हामी भोलि पोल्याण्ड जाने छौँ ।’ उहाँका अन्य नातेदार पनि शनिबार नै किभ छाडेर सुरक्षित स्थानतर्फ लागेको उहाँले बताउनुभयो ।

विगत ३५ वर्षदेखि युक्रेनको राजधानी किभमा हर्बल कस्मेटिकको कारखाना चलाइरहनुभएको साह अहिले केवल ज्यान जोगाउने ध्याउन्नमा हुनुहुन्छ । घर, कारखाना सबै छाडेर ज्यान जोगाउन भागेका साहले भन्नुभयो–‘अहिलेसम्म त रुसी सैनिकले किभमा रहेको हाम्रो घर र कारखानामा केही गरेको छैन । म यहाँ बसेर बेलाबेलामा सीसी क्यामेराबाट हेर्दैछु । तर रुसी सैनिक पागल भइसकेको छ, उनीहरूको के मुड आउँछ, कता पड्काउँछ, भन्नै सकिन्न । अब त भगवान् भरोसा ।’

उता पढ्न तथा कामका लागि युक्रेन पुगेका नेपालीलाई युक्रेनबाट सुरक्षित फर्काउने काममा स्लोभाकिया, पोल्याण्ड, हंगेरी, रोमानीयालगायतका युक्रेन नजिकैको देशमा रहेका नेपाली समुदाय सक्रिय छन् । यसैबीच स्लोभाकियाबाट नेपालीको उद्धार कार्यमा खटेको नेपालीको संगठन ‘युक्रेन नेपलिज’ का संयोजक जयप्रसाद सिवाकोटीले युक्रेनबाट आइतबार राति सम्ममा १२ जना नेपालीहरू स्लोभाकिया आइपुगेको जानकारी दिनुभयो ।

१२ जनामध्ये ४ जनालाई शनिबार र आइतबार ८ जनालाई उहाँहरूको टोलीले सीमा क्षेत्रबाट स्लोभाकिया पुग्न सहयोग गरेको हो । सिवाकोटीले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘शनिबार आउनेहरू अस्ट्रिया, हंगेरी र पोर्चुगल गइसक्नुभएको छ । आज साँझमा आइपुगेका ८ जनाको खाने बस्ने व्यवस्था मिलाएका छौँ । अहिले उहाँहरू त्रसित र थकित अवस्थामा हुनुहुन्छ । ’ युक्रेनमा अनुमानित ४ सय नेपालीहरू छन् ।

यसैबीच युक्रेनले संयुक्त राष्ट्रसंघको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्ध मुद्दा दर्ता गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त जानकारी दिनुभएको हो । यसअघि बेलारुसमा वार्ता गर्न अस्वीकार गर्नुभएका राष्ट्रपति जेलेन्स्कीले बेलारुसका राष्ट्रपतिको आग्रहमा युक्रेन–बेलारुस सीमा क्षेत्रमा युक्रेनी र रुसी अधिकारीबीच समस्या समाधानका लागि बैठक तय भएको जानकारी पनि दिनुभएको छ ।