ढुङ्गा खानीमा लापरबाही भाग्दा भाग्दै किचिए टिपर चालक

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

विद्यालय, मन्दिर, खोला, सडक, वनलाई क्षति पु-याउँदै स्थानीयको विरोधका बाबजुद अदालतको आदेश पछि तीन वर्ष देखि सञ्चालनमा आएको बनेपा नगरपालिका १४ स्थित आशापुरी रोडा ढुङ्गा सप्लार्यसले सुरक्षा नअपनाउँदा टिपरमा ढुङ्गा भरिरहेका बेला ढिस्को खस्दा भाग्दै गरेका चालक किचिएका छन् । चालकको घटनास्थलमै निधन भएको प्रहरीले बताएको छ ।
रामेछाप जिल्ला शैलुङ्ग गाउँपालिका ४ घर भई प्रदेश ३००००३ क ५७४८ नम्बरको टिपर चलाउँदै आएका चालक श्याम मगर आइतबार दिउसो १ बजे ढुङ्गा राख्दै गरेको अवस्थामा खानीको ढिस्को खसेका कारण भाग्दै गर्दा खानीमै भएको निशान प्रदेश ३–०१–००३ क ९९७० ले किचिएको प्रत्यक्षदर्शी मीनबहादुर खपाङ्गी मगरले बताउनु भयो ।

खपाङ्गी मगर सोही खानीमा ढुङ्गाका लिन जानु भएको थियो । ‘चालक श्यामको पालो आउँदै थियो, उनलाई मैले छाडिदिएँ’–मीनबहादुर खपाङ्गी मगरले भन्नुभयो–‘उहाँको स्थानमा म पुरिने थिएँ । सँगै भएको साथी आँखै अगाडी गुमाउनु पर्दा दुख लागेको छ ।’ आइतबार दिउसो ११ बजे पनि उक्त खानीमा ढिस्को खसेको थियो ।

खानीका प्राविधिक तथा अन्य कर्मचारीहरूले अवस्थाको आंकलन नगरी निरन्तर ढुङ्गा टिपरमा भरिरहेका कारण श्याम मगरको निधन हुन पुगेको मजदुरहरूले बताएका छन् । खानीमा दुई वटा स्काभेटर, पाँचवटा टिपर र दुई वटा निशान पुरिएका छन् । ढिस्को पुरिँदा स्काभेटर चालक समिर तामाङ र सह चालक रमेश सार्की घाईते भएका छन् । घाइतेहरूको मध्यपुर ठिमीमा उपचार भइरहेको छ ।

विवादित जग्गामा खानी

२०६८ साल पुस १८ गते खानी तथा भू–गर्भ विभागको च.न. ९१६ मा दर्ता भएको आशापुरी रोडा ढुङ्गा सप्लार्यस प्रालीलाई जिल्ला विकास समितिले २०६८ पुस २० गते हरेक वर्ष नवीकरण गर्ने गरी अनुमति दिएको थियो । अनुमति लिई कार्य सुरु गरे लगत्तै स्थानीयहरूले खानी सञ्चालन हुँदा विद्यालय, मन्दिर, खोला, सडक, वनलाई क्षति पु-याउने भन्दै रोक लगाउन माग गरेका थिए । खानीसँग यि सबै क्षेत्र जोडिएका छन् ।

स्थानीयको मागलाई सर्वोच्चले सुरुमा रोक लगाए पनि पछि सञ्चालनको आदेश जारी ग-यो । सर्वोच्चको आदेशका आधारमा बनेपा नगरपालिकाले तीन वर्ष अघि खानी सञ्चालनका लागि ठेक्का लगाउने सूचना जारी ग-यो । तर पनि स्थानीयहरूले विवादित जग्गामा खानी सञ्चालन गरेको भन्दै विरोध गर्दै आएका थिए ।

अहिले पनि जग्गाको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । खानी सञ्चालनको अनुमति विभागले एकै पटक १५ वर्षका लागि दिएको थियो । खानी सञ्चालनका लागि कम्पनीका नाममा ६५ रोपनी जमिन खरिद भएको छ भने स्थानीय टुल्कु लामा, सन्तकुमार लामा, सोनाम लामा, उद्धव लामा र सुरेन्द्र सुवालका नाममा रहेको ७५ रोपनी जमिन मावलीको अपुताली आफ्नो हुनु पर्ने भन्दै साबिक भुमेडाँडा गाविसका बलबहादुर तामाङ, सञ्जय तामाङ र वीरबहादुर तामाङले दूषित बदरको मुद्दा दर्ता गराएका हुन् । पाँच जना मिलेर आफ्नो हक भोग खोसी जग्गा दर्ता गरेको उनीहरूको आरोप छ ।

पाँच जनाले १० वर्षका लागि जग्गा भाडामा लगाएको थियो । जग्गाधनी टुल्कु लामाले चालु वर्षको अन्त्यबाट कम्पनीलाई भाडामा दिएको जग्गाको अवधि सकिने बताउनु भयो ।

खानी दर्ता, सञ्चालन क्रसर पनि

खानी दर्ताको अनुमति लिएको आशापुरी रोडा ढुङ्गा सप्लायर्स प्रा।लीले खोलाकै छेउमै क्रसर सञ्चालन गरेको छ । क्रसर र खानीका कारण ऐतिहासिक आशापुरी मन्दिर, विद्यालय, खोला, बन र सडकलाई असर परिरहेको छ । निरज थपलिया, भिम श्रेष्ठ, रवि श्रेष्ठ र रामहरी पाठकका नाममा दर्ता भएको खानी भए पनि निरज थपलियाले जिम्मेवारी लिई सञ्चालन गरिरहेको कर्मचारी रामशरण बस्नेतले जानकारी दिनु भयो ।
उक्त खानी र क्रसरबाट उत्पादित सामाग्री अरनिको राजमार्ग स्थित साँगा र भक्तपुरको सिमाना नयाँ बनेको झोलुङ्गे पुल मुनी सडक छेउमा थुपारेर सडकलाई क्षति बनाएको स्थानीयको आरोप छ । २०७२ को भुकम्प पछि देशभरका खानी र क्रसरहरू नवीकरण भएका छैनन् तर पनि सञ्चालन भएका छैनन् ।

समानान्तर निर्माण सेवाका म्यानेजिङ डाइरेक्टर समेत रहेका निरज थपलियाले उक्त कम्पनी हेर्दै आएको कर्मचारी बस्नेतले बताउनु भयो । मृत्यु भएका चालकको श्रीमती र आफन्तहरूलाई घटनास्थलमा बोलाइए पनि अनुहार समेत नदेखाई अस्पताल लगिएको थियो ।