स्थानीय सरकारको बेवास्ताले विद्यालय संकटमा



जाजरकोट ।

भेरी नगरपालिका–१३ को भगवती माध्यमिक विद्यालयलाई स्थानीय सरकारले बेवास्ता गर्दा संकटमा परेको छ । एकातर्फ विद्यालयलाई पठनपाठनमा समस्या परेको छ भने अर्काेतर्फ भवन निर्माणको भुक्तानी नपाएको भन्दै व्यापारीले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

विद्यालयको भवन निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा समेत भुक्तानी पाउन नसकेको निर्माण व्यवसायी, सामग्री उपलब्ध गराएका व्यापारीले बताएका छन् । विद्यालय भवन निर्माणका लागि २०७४ सालमा संघीय सरकारबाट ३६ लाख बजेट प्राप्त भएको थियो । ‘दुई तलाको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको करिब ५ वर्ष बितिसक्यो, भुक्तानी पाउन सकेको छैन’, विद्यालय भवन निर्माण सामग्री र २०६९ सालमा चारकोठे कच्ची भवन निर्माणको जिम्मा लिएका निरजकुमार आचार्य भन्नुहुन्छ– ‘विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको लापरबाहीले रकम पाउन नसकिएको हो ।’ नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका आचार्यले विद्यालयले रकम उपलब्ध गर्ने कागज गरेको करिब ६ बर्ष बित्दा पनि रकम नपाएको बताउनुभयो ।

गत वर्ष संसद् विकास कोषबाट २० लाख र प्रदेश सरकारबाट २० लाख बजेटबाट दुई तला भएको चारकोठे पक्की भवन निर्माण गरिएको थियो । भवन निर्माणमा सामग्री उपलब्ध गराएका अर्का व्यापारी यामप्रकाश बुढाथोकी पनि करिब २ लाख रुपियाँ विद्यालयबाट अझै नपाएको गुनासो गर्नुहुन्छ । ‘निर्माणकार्य सम्पन्न भएको एक वर्ष बित्यो, पाउनुपर्ने रकम पाएको छैन, के भइरहेको छ जानकारी नै छैन ।’ –उहाँको कथन छ ।

विद्यालय प्रशासान, स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको उदासीनताका कारण समयमा आफूले रकम पाउन नसकेको बुढाथोकी बताउनुहुन्छ । सरोकारवाला निकाय गम्भीर नभए विद्यालयमा तालाबन्दी गर्ने उहाँले चेतावनी समेत दिनुभएको छ ।

त्यस्तै, स्थानीय सरकारबाट भौतिक तथा विद्यालय सुधारका लागि सहयोग नपाएको गुनासो प्रधानाध्यापक प्रताप रोकायको छ । कम्प्युटर विषय पठनपाठनका लागि नगर सरकारले बजेट नदिँदा निजी स्रोतबाट मासिक १५ हजारमा शिक्षक राखिएको उहाँ बताउनुहुन्छ । ‘विद्यालयको आन्तरिक आयस्रोत छैन । कम्प्युटर र नेपाली विषय पठनपाठन गर्ने शिक्षकलाई मासिक २४ हजार रुपियाँ दिइएको छ’, उहाँ भन्नुहन्छ– ‘विद्यालयले कसरी तलब खुवाइरहेको छ भन्नेमा कसैको चासो छैन ।’ स्थानीय सरकारले विद्यालयको चासो नलिँदा चुहिने छानामुनि बालबालिका पठनपाठन गरिरहेका प्रधानाध्यापक रोकायको कथन छ ।

बालबालिकाको भविष्य निर्माणको आधारस्तम्भ विद्यालयमा पार्टीका नेता–कार्यकर्ताको हस्तक्षेपले बालबालिकाको भविष्य अन्धकार हुने गरेको भेरी नगरपालिका–१३ का समाजसेवी ध्रुवप्रसाद शर्मा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्