एमसीसीलाई एमालेले सत्ताको च्याँखे दाउ नबनाउने



हेटौंडा, (नेस) ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले एमालेले एमसीसी सहयोग परियोजनालाई सत्ताको च्याँखे दाउ नबनाएको स्पष्ट पार्नुभएको छ । हेटौंडामा पत्रकार सम्मेलन गरी उहाँले एमसीसी परियोजनाका विषयमा एमालेको स्पष्ट धारणा रहेको बताउँदै पास वा फेल गराउने सत्तारूढ गठबन्धनको हातमा रहेको बताउनुभएको हो ।

सत्ताबाट संरक्षितबाटै एमसीसीका नाममा वितण्डा मच्चाउने काम भइरहेको टिप्पणी बाँस्कोटाले गर्नुभएको थियो । ‘सत्तामा बसेकाले दोहोरो सुविधा लिन पाउँदैनन् । झण्डा र ढुंगा दुवै एउटैको हातमा हुनै सक्दैन’, उहाँले एमसीसीसँग सत्ताको सम्बन्ध जोडेर एमाले नहिँड्ने स्पष्ट पार्दै भन्नुभयो– ‘हालको परामदेशी सरकारमा हामी सहभागी हुँदैनौं । सरकार हामीलाई स्वीकार्य छैन । जनादेशी सरकार बनेपछि एमाले सत्तामा जान्छ ।’

हाल संसद्लाई बन्दी बनाउने काम सत्तापक्षबाट भइरहेको बाँस्कोटाको दाबी छ । ‘सत्तामा रहेकाहरुले दोहोरो चरित्र देखाइरहेका छन् । १५ गते के हुन्छ भन्ने कुरा सत्तारूढ दलको व्यहारमा निर्भर रहन्छ ।’ –उहाँ भन्नुहुन्छ । प्रेस चौतारी नेपाल मकवानपुरले गरेको पत्रकार सम्मेलनमा पोलिट्ब्युरो सदस्य बाँस्कोटाले उपयुक्त समयमा निर्णय लिने बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका सदस्य अनन्त पौडेल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठलगायतको आतिथ्यता थियो । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्