बजार अनुगमन गर्दा आठ पसले कारबाहीमा

0
Shares

बैतडी ।

बैतडीमा महाशिवरात्रिलक्षित बजार अनुगमन गदा आठ पसले कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गरेर नियमित संयुक्तरूपमा अनुगमन गर्ने गरेको छ । यसअघि दशैंतिहारलाई लक्षित गरेर अनुगमन गरिएको थियो ।

शिवरात्रिलाई लक्षित गर्दै महाशिवरात्री मेला लाग्ने क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । पहिलो चरणमा जिल्लाको डिलाशैनी गाउँपालिका क्षेत्रमा रहेका बजारहरुमा अनुगमन गरिएको छ । डिलाशैनीको गोकुलेश्वर क्षेत्रमा महाशिवरात्रिको अवसरमा मेला लाग्ने भएकाले सो क्षेत्रमा बजार अनुगमन गरिएको उहाँले जनाउनुभयो । अनुगमनका क्रममा ८ पसलेलाई जरिवाना गरिएको छ । चार जनालाई १० हजारका दरले र चार जनालाई पाँच हजारका दरले जरिवाना गरिएको हो ।

यस्तै, २३ हजार ९ सय १५ रुपियाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको छ । पसलमा अखाद्य सामग्री राखेर बिक्री–वितरण गरिरहेका व्यापारीलाई जरिवाना गरिएको हो । मूल्यसूची नराखेकालाई मूल्यसूची राख्न आग्रह गरिएको छ ।

चाडपर्वका बेलामा कालोबजारी हुने, म्याद नाघेका सामग्री बढी बिक्री–वितरण हुने भएकाले बजार अनुगमन कार्य थालिएको सूचना अधिकारी भारतीले बताउनुभयो । ‘हामीले नियमितरूपमा बजार अनुगमन गर्ने गरेका छौं, अहिले महाशिवरात्रिलाई लक्षित गरेर अनुगमन थालेका छौं’, उहाँले भन्नुभयो– ‘अरू समयभन्दा चाडपर्वका बेला कालोबजारी र म्याद नाघेका सामग्री बिक्री हुने सम्भावना भएकाले अनुगमन कार्यलाई निरन्तरता दिएका हौं ।’ जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुसँग समन्वय गरेर बजार अनुगमन गर्ने गरेको छ ।

व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीनकुमार अधिकारीले बताउनुभयो । उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

यसअघि गौरा र दशैंतिहार लक्षित गरिएको बजार अनुगमनका क्रममा २ लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।