खप्तडको विकास भए सुदूरपश्चिमको उन्नयन हुन्छ : मन्त्री आले



डोटी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रकृतिले दिएको अनुपम उपहार खप्तड र बडिमालिकाको मात्रै विकास गर्न सके सुदूरपश्चिममा विकासको कायापलट हुने बताउनुभएको छ । प्रमुख पर्यटकीय स्थल खप्तड तथा दिपायल विमानस्थलको निरीक्षण तथा अवलोकनका लागि शनिबार खप्तड पुग्नु भएका मन्त्री आलेले सो बताउनुभएको हो ।

खप्तड एक प्रकृतिले दिएको सुदूरपश्चिमको खजना भएकाले यहाँ बाह्रै महिना पर्यटक आउन सक्ने भकाएले भौतिक विकाससहित पर्यटकलाई खाने तथा बास बस्ने ठाउँ निर्माण गरिने मन्त्री आलेले बताउनुभयो । ‘खप्तड, बडिमालिका भनेका प्रकृतिका एक अनुपम उपहार हुन्, यी क्षेत्रको मात्रै विकास गर्न सके सुदूरपश्चिममा कायापलट हुने छ ।’ –उहाँले भन्नुभयो ।

सुदूरपश्चिमलाई देश–बिदेशमा चिनाउन तथा यहाँको विकासमा फड्को मार्नका लागि भए पनि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास गर्न जरुरी भएको समेत मन्त्री आलेले बताउनुभयो । ‘सुन्दर प्रकृतिको खानी खप्तडमा सामान्य पूर्वाधार विकास गर्न सके यहाँ वर्षेनी लाखौं पर्यटक भित्रिने छन्, खप्तडको वृत्ति विकासका लागि काम गर्छु ।’ –उहाँले भन्नुभयो । निरीक्षण अनुगमनकै क्रममा मन्त्री आलेले प्रकृतिले सुदूरपश्चिममा स्वर्गजस्तै उपहारका रूपमा खप्तड दिएकाले यहाँ पर्यटक भित्र्याउनका लागि आवश्यक पर्ने सबै पूर्वाधारको विकास गरिने आश्वासनसमेत दिनुभयो ।

सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिक स्थल खप्तड, बडीमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनीलगायतका क्षेत्रमा हजारौं पर्यटक भित्रयाउनका लागि विभिन्न विकास निर्माणका काम भइरहेको समेत मन्त्री आलेले जनाउनुभयो । कैलालीको खुटिया, बीपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ हुँदै उरै ताक्लाकोट भञ्ज्याङ जोड्ने दु्रत मार्गका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिएकाले चाँडै ती क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुमा सयौं पर्यटक पुग्ने विश्वास मन्त्री आलेको छ ।

कोरोनाका कारण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्र तथा होटेल क्षेत्रलाई उकास्न तथा ती क्षेत्रको वृत्ति विकासका लागि आफूसहित सिङ्गो मन्त्रालय लागिपरेको उहाँको कथन छ । खप्तड क्षेत्रमा अहिले पनि हिउँ परेकाले झनै सुन्दर र मनमोहक भएको बताउनुहुँदै मन्त्री आलेले भन्नुहुन्छ– ‘खप्तड सुन्दर र सेताम्मे छ, यहाँ आउने पर्यटक एक हप्ता नबसी फर्किनै सक्दैनन्, यस्तो प्रकृतिको उपहार अन्य क्षेत्रमा विरलै पाइन्छ ।’ खप्तड प्रवेशमा सहजताका लागि संघीय सरकार तथा प्रदेश सरकारबाट थुप्रै किसिमका विकास निर्माणका काम भइरहेकाले यहाँ सडक मात्रै पुर्याउन सके पर्यटक भित्र्याउन झनै सहज हुने मन्त्री आलेको भनाइ थियो ।

तीन जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र देश–विदेशमा चिनाउनका लागि सबै क्षेत्र, तह र तप्काबाट लाग्नुपर्ने आलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्