झापामा हात्तीपाइलेका बिरामी २ सय ९०



भद्रपुर, (नेस) ।

झापामा हात्तीपाइले रोगका आशंका गरिएका २ सय ९० बिरामी रहेका छन् । तीमध्ये १ सय ४६ जनामा हाइड्रोसिल, १ सय ४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेका छन् ।

यही फागुन २८ देखि आम औषधि सेवन अभियान सञ्चालन हुँदै छ । यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै संख्यामा स्वास्थ्य स्वयम्सेविका परिचालन हुने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो । जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । उक्त संख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डीईसी औषधिको व्यवस्था गरिएको चौलागाईंको भनाइ छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौंपटक अभियान सञ्चालन हुन लागेको हो ।

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उहाँले जानकारी दिनुभयो । प्रदेश–१ मा झापा र मोरङमा यो कार्यक्रम छ । ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टाहात सुन्निने, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायका रूपमा आम औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

उक्त औषधि ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा तीन हप्तासम्मका सुत्केरीबाहेक सबैले सेवन गर्न मिल्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्