धुलिखेलमा शिखलापुर धिमे जात्रा



काभ्रे ।

नेपालको मौलिक तथा सांस्कृतिक धिमे बाजाको संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले रोट्रयाक्ट कप अफ शिखलापुरले सिजन २ शिखलापुर धिमे जात्रा आयोजना गरेको छ । धुलिखेलमा आयोजना गरिएको धिमे जात्रामा विभिन्न जिल्लाका पालिकाहरूबाट २२ वटा समूह सहभागी भएका थिए ।

शिखलापुर धिमे जात्राको धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले शुभारम्भ गर्नु भएको थियो । नगर प्रमुख ब्याञ्जुले शिखलापुर रोट्रयाक्टले संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको धिमे जात्राका लागि आवश्यक सहयोग गर्ने घोषणा गर्नुभयो । नगरपालिका आफैंले पनि धिमे जात्राका लागि आवश्यक सहयोग गरिरहेको बताउँदै संस्कृतिको प्रवर्धन गर्न र संरक्षणका लागि धुलिखेलले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको बताउनुभयो ।

शिखलापुर रोट्रयाक्ट क्लवका अध्यक्ष निशा चापागाईंले क्लवले संस्कृति प्रवर्धन गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको बताउनुभयो । गत वर्ष शुरू भएको जात्रा यो वर्ष पनि निरन्तरता दिएको उहाँले बताउनुभयो । क्लवको उद्देश्य नै संस्कृति संरक्षण र प्रवर्धन गर्ने भएकाले देशभर रहेका धिमे बाजाहरूलाई प्रतियोगितात्मक हिसाबले प्रर्दशन र संरक्षण सँगै प्रवर्धन गर्न जात्राको आयोजना गरिएको बताउनुभयो ।

जात्रामा काभ्रेका विभिन्न पालिकाहरूका अलावा भक्तपुर, ललितपुर, काठमाडां र छिमेकी जिल्लाका पालिकाहरूबाट २२ वटा समूह सहभागी भएका छन् । औपचारिक कार्यक्रमसँगै धिमे बाजासहित धुलिखेलका विभिन्न स्थानमा र्याली आयोजना गरिएको थियो । जात्रामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्लव र नगरपालिकाका तर्फबाट संयुक्त रूपमा पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष निशा चापागाईंले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडा, रोट्रयाक्टका सदस्य निकिता कायस्थ, रोटरी क्लव अफ धुलिखेलका पूर्व अध्यक्ष रजिव श्रेष्ठलगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्