कलेजो रोगमा गुर्जो सेवन कति सुरक्षित ?

0
Shares

– डा. रामदेव पण्डित आयुर्वेद चिकित्सक

 

शरीरको रोग–प्रतिरोधात्मक क्षमता (इम्युनिटी) वृद्धिका लागि कोरोना महामारीका बेला धेरैले आयुर्वेदीय औषधि र जीवशैली परिवर्तनको सहारा लिए ।

फलतः आयुर्वेदले जनमानसबीच निकै लोकप्रियता पायो । यस बेला सबै स्तरका व्यक्तिले आयुर्वेदीय औषधिहरुको प्रयोग स्वतन्त्र रुपमा गरेको पाइयो ।

कारोना कालमा इम्युनिटी वृद्धिका लागि गुर्जोको काँढा धेरै प्रयोग गरेको देखिएको छ । गुर्जोको प्रयोग केही व्यक्तिले चिकित्सकसँग सल्लाह गरेर गरे ।

केहीले सञ्चारमाध्यमहरुमा पढेर, सुनेर वा देखेको भरमा गरे भने केहीले साथीभाइले प्रयोग गरेको देखेर आफूखुशी प्रयोग गरे ।कोरोना कालपहिले आयुर्वेद चिकित्साबाट जन्डिसका धेरै बिरामीले सफल उपचार पाउन थालेपछि जन्डिसका धरै बिरामी आयुर्वेदतिर तानिन थालेका थिए ।

 

आयुर्वेदलाई नस्वीकार्ने, एलोप्याथी चिकित्साका केही विशेषज्ञहरु (हेप्याटोलोजिस्टहरु) ले गुर्जोको प्रयोग लिभरका लागि हानिकारक हुन्छ भनेर दुष्प्रचार गरेको धेरै पहिलेदेखि नै हो ।

वशांणुगत रुपमा जन्डिसबाट पीडित माओवादी नेता वर्षमान पुनले केही दिनअघि गुर्जोबारे दिएको नकारात्मक वक्तव्य बाहिर आएको छ । जसको सहाराले फेरि गुर्जो लिभरको लागि खराब औषधि हो भन्ने छाप जनमानसमा स्थापित गर्न खोजिँदै छ ।

इम्युनिटी वा जन्डिसका लागि गुर्जो सेवन गरिरहेकालाई निरुत्साहित गर्ने प्रयास गरिँदै छ । समग्रमा गुर्जो सेवन मात्र नभएर आमसञ्चार एवं सामाजिक सञ्जालको प्रयोगबाट आयुर्वेद चिकित्साको दुष्प्रचार गर्ने प्रयास गरिँदै छ ।

सेवनयोग्य गुर्जो कुन हो ?

आयुर्वेदले गुर्जोलाई रसायन वर्गमा राखेको भए पनि यो एउटा बहुगुणी वनस्पति हो । यसलाई हिन्दीमा गिलोय र संस्कृतमा गुडुची (नसड्ने न नगल्ने अर्थमा) तथा अमृता वा अमृतावल्ली पनि भनिन्छ । तराई–मधेसतिर यसलाई गुरुजलत्ती भन्ने गरिन्छ । अंग्रेजीमा पनि यसलाई गुडुची नै भनिएको पाइन्छ ।

यसको ल्याटिन नाम टिनोस्पोरा कोर्डियोफोलिया हो । गुर्जोको डाँठ औषधिको रुपमा प्रयोग गरिन्छ, जसलाई काँढा बनाएर, सुकाएपछि पिसेर, पाउडर बनाएर र सत्व बनाएर (स्टार्च निकालेर) पनि प्रयोग गर्न सकिन्छ । यसबाट तेल निकालेर पनि प्रयोग गर्ने गरिन्छ । यसमा हुने बर्बेरिन र गिलोइन यी दुई महत्वपूर्ण रसायन तत्वले शरीरमा मूलतः विशेष प्रभाव दिन्छ ।

आधुनिक विज्ञानको विभिन्न अनुसन्धानहरुका अनुसार गुर्जोमा एन्टी–भाइरल गुण पनि पाइएको छ । यसको प्रयोगले खोकी शान्त हुन्छ । पुरानो ज्वरो, विषम ज्वरोमा उपयोगी छ गुर्जो । गुर्जोले शरीरको पोल्ने समस्या पनि शान्त गर्छ । शरीरको बल बढाउँछ । इायबिटिज, टी.बी., गाउट, आमवात, कुष्ठरोग आदि रोगमा विशेष उपयोगी हुन्छ ।

यसले रक्तशुद्धि एवं शुक्र–बल वृद्धि पनि गर्दछ । पाचन प्रणालीका समस्याहरु जस्तै– अपच, अम्लपित्त, जन्डिस, डिसेन्ट्री, कोलाइटिस, जुका परेकोमा अति लाभकारी हुन्छ । यसको काँढा ५० देखि १०० मि.लि. प्रतिदिन ५ पटकसम्म प्रयोग गर्न सकिन्छ ।

यसको पाउडर प्रतिदिन ३ देखि ६ ग्राम दैनिक ३ पटकसम्म प्रयोग गर्न सकिन्छ । र, सत्वको रुपामा १ देखि २ ग्राम दिनको ४ पटकसम्म प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा यससँग अन्य चिज नमिसाई शुद्ध प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ । इम्युनिटी वद्र्धनको लागि यसको काँढा नियमित रुपमा बिहान–बेलुका खालि पेटमा सेवन गर्नु चामत्कारिक लाभ हुन्छ ।

आयुर्वेदका अनुसार वात, पित्त र कफ तीनवटै दोषलाई सन्तुलन गर्ने गुण गुर्जोमा हुन्छ । घिउको साथ खाँदा वात सन्तुलन हुन्छ, सख्खरको साथ खाँदा पित्त सन्तुलन हुन्छ र महको साथ खाँदा कफको सन्तुलन गर्छ । बहुवर्षीय लहरा जातिको यो वनस्पति नेपाल र भारतमा सर्वत्र करिब १ हजार फिटको उचाइसम्म पाइन्छ ।

आयुर्वेदीय औषधिको साइड इफेक्ट हुँदैन भन्ने अन्धविश्वास सबैले तोड्नुपर्छ, छोड्नुपर्छ ।

लिभरका लागि सेवनयोग्य गुर्जोे

गुर्जोजस्तो देखिने अर्को वनस्पति टिनोस्पोरा कृष्पा वनस्पति हुन्छ । झट्ट हेर्दा गुर्जो टिनोस्पोरा कोर्डिफोलियाजस्तो देखिन्छ तर कृष्पाको डाँठमा ठूला–ठूला गिर्खा हुने हुन्छ ।

चिल्लो र अत्यन्त पातलो बोक्रा भएको, बोक्रा खोस्रिँदा डाँठ हरियो देखिने, गोलाकारमा काटेर हेर्दा भित्र चक्रिका देखिने गुर्जो सक्कली गुर्जो हो । गुर्जोजस्तै जंगली रुपमा पाइने कृष्पाको औषधीय प्रयोग हुने भए तापनि त्यसको अधिक र निरन्तर लामो समयसम्म प्रयोग गर्दा कलेजोका लागि हानि हुन सक्छ । अतः कृष्पा जातिको वनस्पतिलाई गुर्जो ठानेर नियमित सेवन गर्नु हानिकारक हुन्छ ।

औषधिप्रति अन्धविश्वास

पहिलो कुरा आयुर्वेदीय औषधिको साइड इफेक्ट हुँदैन भन्ने अन्धविश्वास सबैले तोड्नुपर्छ, छोड्नुपर्छ । संसारमा त्यस्तो कुनै औषधि छैन, जसको साइड इफेक्ट हुँदैन । चाहे त्यो जुनसुकै चिकित्सा प्रणाली होस् । सत्य भन्ने हो भने एलोप्याथिक औषधिहरुको साइड इफेक्ट कडा हुन्छ, जसले पुनस्र्थापना गर्नै नमिल्ने गरी अंगहरु फेलियर वा सिस्टम नै ड्यामेज गराउँछ ।

तर आयुर्वेद औषधिहरुको साइड इफेक्ट हल्का हुन्छ, जसको समयमै पहिचान भए पुस्र्थापना गर्न सकिन्छ ।
औषधि रोगको लागि हुन्छ, एउटै रोगको लागि धेरै औषधिहरु हुन्छन् । एउटै औषधि धेरै रोगमा पनि प्रयोग हुने हुन्छ ।

सबै औषधिको केही न केही साइड इफेक्ट हुन्छ नै । साथै सबै रोगीका आफ्नै शारीरिक एवं मानसिक विशेषता र कमजोरी हुन्छन् । कुन रोगमा, कुन औषधि, कति मात्रामा, कति समय दिने वा नदिने निर्णय चिकित्सक मात्रले दिन सक्छ । चिकित्सकले ती सबै विषयको बहुपक्षीय अध्ययन र धेरै रोगीमा अभ्यास गरेको हुन्छ । त्यसैले ऊ यसको अधिकारी हुन्छ ।

औषधि सेवन गर्दा विचारणीय पक्ष के हुन्छ भने, सेवनपूर्व चिकित्सकको सल्लाह अनिवार्य रुपमा लिनुपर्छ । आयुर्वेदीय औषधि हो भनेर सागपातजस्तै आफूखुशी खान थालेपछि दालभात खानु र औषधि खानुमा के फरक रहन्छ र ? आधारभूत एलोप्याथिक ओ.टी.सी. औषधि सिटामोल किराना पसलहरुमा समेत पाइन्छ ।

त्यसको तुलनामा गुर्जो धेरै सुरक्षित छ । यसलाई सपोर्ट गर्न सयौं अनुसन्धान भएका छन् । केवल पढ्ने धैर्यता र समय दिनु जरुरी छ । नेता वर्षमान पुनको कलेजोलाई गुर्जोले कदापि हानि गरेको होइन । समस्या उनको वंशाणुगत जन्डिस हो । महामारीको बेला सबैले गुर्जो खाएको देखेर कसैसँग सल्लाह नै नगरी उनले गुर्जो सेवन गर्न शुरु गरे, जुन उनको लिभरमा समस्या आउनुमा मूल समस्या देखिन्छ ।

नेता पुनको कलेजोको समस्यामा गुर्जो सेवनपछि थप जटिलता थपिनुको कारणमा उनको गुर्जोप्रतिको बुझाइ हो । आम मानिसमा झैँ आयुर्वेदीय औषधिको साइड इफेक्ट हुँदैन भन्ने भ्रामक बुझाइले उनमा पनि समस्या जटिल बनेको हो । त्यहाँ समस्या गुर्जो होइन, आयुर्वेद त हुँदै होइन ।

आयुर्वेदप्रति पूर्वाग्रह देखाएर दुष्प्रचार गर्नु बौद्धिकता होइन, वैज्ञानिक संस्कार पनि होइन । जुनै पनि चिकित्सा प्रणालीको औषधिको सेवन गर्दा चिकित्सकसँग आफ्नो शारीरक र मानसिक अवस्थाको जानकारी गराएर मात्र शुरु गरौं । औषधिलाई आफूखुशी खाने गलत अभ्यास बन्द गरौं । अन्यथा रोग सन्चो गर्न खाइएको औषधिले रोगलाई थप जटिलसमेत बनाइदिन सक्छ ।