काम र स्वास्थ्यको अति नै महत्वपूर्ण सम्बन्ध छ । मानिस जीवनयापन गर्न वा सुखसित जीवन कटोस् भनेर कुनै न कुनै काममा व्यस्त भएको हुन्छ र हुनु पनि पर्छ । विनाकाम वा परिश्रम जीवन बिताउनु मरेतुल्य हो । कामलाई पूजाको रुपमा जसले लिन्छ, उसको सदैव फलिफाप हुन्छ ।
निरन्तर काममा लागिरहनेको आर्थिक तथा सामाजिक उन्नति हुन्छ । तर काम गर्न नजानेर मानिसको जीवन खतरापूर्ण र दुःखद पनि हुन सक्छ । सजिलो काम पनि कसैको लागि अति कष्टकर लाग्छ भने कसैको निम्ति कठिन कामह पनि सहज लाग्छ । कतिपय व्यक्ति काममै रमाउँछन् र कामबाटै आनन्दको अनुभव गर्दछन् ।
कामको प्रकृति, काम गर्ने वातावरण, समय, स्थान, सहकर्मीको भूमिका आदिले मानिसको जीवनलाई प्रभावित गरेको हुन्छ । तथापि काम गर्ने प्रत्येक व्यक्ति आफ्नो कार्यस्थलप्रति सकारात्मक बन्ने हो भने त्यहाँ भएका समस्या वा विकृति सबैलाई सुधार्न सकिन्छ ।
रमाइलो बनाउनुहोस्
कार्यस्थलका बारेमा सदैव सकारात्मक सोच राख्नुहोस् । कतिपय व्यक्तिहरु आफ्नो अफिस वा कार्यस्थललाई नरकको समेत संज्ञा दिन पछि पर्दैनन् । यस्तो नकारात्मक भावले उसको कार्यशैली मात्र होइन, वास्तवमै जीवन पनि त्यस्तै कष्टकर बन्दै गइरहेको हुन्छ ।
सदैव सोच्नुहोस् कि जहाँ तपाईं काम गर्नुहुन्छ त्यो तपाईंको दोस्रो घर हो, धेर–थोर त्यसले तपाईंको गुजारा चलेको छ । जहाँ काम गर्नुहुन्छ त्यो आफ्नै सम्झेर गर्नुस् । यसबाट तपाईंको कामको प्रदर्शन राम्रो हुन्छ । जसरी घरमा बस्दा तपाईं सुरक्षित, आनन्दित र आफ्नोपनको अनुभव गर्नुहुन्छ त्यसरी नै कार्यस्थललाई पनि आफ्नै ठान्नुहोस् र सहकर्मीहरुलाई एक–आपसमा परिवारको रुपमा हेर्नुहोस् ।
सबैसँग हँसिलो व्यवहार गर्नुहोस् । कुरा काटेर प्रिय बन्न नखोज्नुहोस् । आफ्नो हाकिमलगायत सिनियर कर्मचारीलाई सम्मान गर्नुहोस्, जुनियरप्रति सद्भाव र प्रेम प्रकट गर्नुहोस्, काम सिकाउनुहोस् । आफ्नो कार्यस्थलमा आउने सेवाग्राहीलाई पनि सम्मानको भावले कार्य गर्नुहोस् ।
स्वच्छ बनाउनुहोस्
कतिपय कार्यालय वा काम गर्ने ठाउँ हेर्दा वा पस्दा र त्यहाँको वातावरणको अनुभव गर्दा पनि आनन्द लाग्छ । तर कतै पस्दा फोहोर, अस्तव्यस्तता, प्रदूषण आदिले गर्दा त्यस ठाउँप्रति नै नकारात्मक भाव उत्पन्न हुन्छ । त्यसैले सबै मिली आफ्नो कार्यक्षेत्रको सरसफाइ गरी सुन्दरीकरण गरौं ।
कार्यालयको कम्पाउन्डलाई व्यवस्थित गरौं । सुरक्षाका उपायहरु प्रयोग गरी कार्यस्थल, अफिसको घर, कोठा, झ्यालढोका पुछपाछ गरौं । थोत्रा, मैला र बिग्रेका वस्तुहरुको व्यवस्थापन गरौं । काम गर्ने कक्षको भुइँ, कुर्सी, टेबल आदि फर्निचरसमेत पुछपाछ गरी सफा राखौं । चर्पी, बाथरुम सफा गरौं ।
कसैलाई गाली नगरौं, अर्काको मुख ताक्ने नगरौं । यसबाट तपाईंमा सकारात्मकता वृद्धि हुन्छ । उच्च विचारको जन्म हुन थाल्छ । सफा, स्वच्छ स्थलमा बस्दा र काम गर्दा तपाईंको मनमा आउने आनन्द बेग्लै हुन्छ । बुझ्नुहोस् कि आनन्द राम्रो स्वास्थ्यको लागि नभई नहुने कुरा हो ।
सोच र व्यवहार परिवर्तन
तपाईंको कार्यशैली ठीक भए तपाईंलाई मानिसले सफल र उच्च व्यक्तित्वका रुपमा हेर्न थाल्छन् । एउटै कामलाई बारम्बार निर्देशन पाइरहनु तपाईंको विफलता हो र व्यक्तित्वको पतन हो । अरुले भन्न नपाउँदै आफ्नो जिम्मेवारी पूरा गर्ने व्यक्ति सदैव प्रशंसनीय हुन्छ ।
सधैँ उच्च मनोबलका साथ, सबैलाई एकजुट बनाएर, घमण्डी नभई शान्तभावले अरुको कुरा सुन्ने, काम समयसीमाभित्रै पूरा गर्ने, जिम्मेवारी लिन आँट गर्ने, काममा लगनशील हुने बानी गरेमा त्यो व्यक्ति सफल हुन्छ भने उसले कार्यरत संस्थालाई पनि माथि उठाउन सक्छ ।
संस्था बलियो र प्रगतिमा लम्कियो भने त्यसले तपाईंको पनि प्रगति हुने निश्चित छ । यसबाट तपाईंको तनाव कम हुन्छ, आर्थिक प्रगति, जीवनस्तर र स्वास्थ्यको क्षेत्रमा पनि तपाईंको क्षमता वृद्धि हुन्छ ।
खानपानले अस्वस्थ नबनाओस्
काम गर्ने स्थानमा हामी लगभग जीवनको एक तिहाइदेखि आधा समय व्यतीत गर्छौं । यस्तो अवस्थामा हामीले कार्यालयमा पिउने पानी, चिया, कफी, खाने खाजा, खाना आदि के–कस्तो छ ? त्यसमा के–कति रसायन, अशुद्धता, अप्राकृतिकपन, गरिष्ठता, तामसिकता आदि छ वा प्राकृतिक, शुद्धता, सादापन छ ? सोही अनुरुप तपाईंको स्वास्थ्य निर्भर रहन्छ ।
घरमा मात्र राम्रो खाएर पुग्दैन । कार्यस्थलमा हामीले खाने–पिउने कुरालाई व्यवस्थित गर्न सकेनौं भने त्यो झन् खतरनाक हुन पुग्छ । अवकाश पाउने बेलामा वा अगाडि नै रोगले पनि पेन्सन पकाउँछ । त्यसैले कि त घरबाटै स्वस्थकर खाना वा खाजा लिएर हिँडौं वा कार्यस्थलको क्यान्टिनलाई स्वस्थकर खाजा वा खानपिनको व्यवस्थापन गर्नतिर लागौं ।
मनलाई शान्त राखौं
काम गर्दा कैयौँलाई तनाव बढ्ने, रिस उठ्ने, शारीरिक तथा मानसिक थकान बढ्ने आदि हुन्छ । यस्तो अवस्थामा एकै ठाउँमा बसिराख्ने नगरौं । बसिराख्दा आलस्य बढ्छ । शरीरलाई चलायमान राख्नुहोस् । बसेर काम गर्नेहरुले पनि फुर्सदमा अंगप्रत्यंग चलाउने, उभिएर कम्मर, खुट्टा, हात, काँध, टाउको आदि चलाउने, हिँड्ने आदि गरौं ।
कुर्सीमै बसी अंग व्यायामहरु गर्ने, श्वास लम्ब्याउने, खालि पेट भएमा पेटको भागलाई हल्लाउने, मलासय तथा प्रजनन क्षैत्रको संकुचन गर्ने आदि यौगिक क्रियाहरु पनि गर्न सकिन्छ । यसबाट चिकित्सात्मक लाभ पनि मिल्दछ भने अंगप्रत्यंगहरु पनि चलायमान र सक्रिय रहिरहन्छन् ।
यसरी नै मनलाई शान्त, सौम्य, खुशी राख्ने अभ्यासस्वरुप श्वास लामो गर्ने, एकाग्रताको अभ्यास गर्ने, बीच–बीचमा एक मिनेट मौनका साथ श्वासप्रश्वासको ध्यान गर्ने जस्ता अभ्यासहरु पनि गर्नुहोस् ।
एक मिनेटको ध्यानमा ढाड सोझो राखी आँखा चिम्लने, शरीरलाई स्थिर राखी श्वास लामो गर्ने, बाहिरी कुराहरुलाई बिर्सेर केवल श्वास भित्र आइरहेको र बाहिर गइरहेको कुरामा मात्र ध्यान दिने गर्नुहोस् । यस्तो अभ्यास कार्यस्थलमा कमसेकम पनि प्रत्येक घण्टामा एक मिनेट गर्नुहोस् । यसले तपाईंको रिस, चिन्ता, तनाव आदि हटाउँछ र काम गर्ने जोश–जाँगर पनि बढाउँछ ।
फिल्डमा होसियार
कतिपय व्यक्तिहरु फिल्डमा काम गर्न जानुपर्ने हुन्छ । यस्तो अवस्थामा सकारात्मक भई जिम्मेवारी निभाउनुपर्छ । खानपानमा नियन्त्रण, धूलो–धुवाँबाट बच्ने, आर्थिक तथा व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउने, ठीक ढंगले बोली व्यवहार गर्ने आदिमा समेत ध्यान दिनु जरुरी छ ।
कार्यक्षेत्र परिवर्तन हुँदा खानपानलगायत अन्य क्रियाकलापहरुमा पनि गडबडी हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा सतर्कता आवश्यक पर्छ ।
पेसागत सुरक्षा
काम सबै अनि सधैँ सरल र सुरक्षित भन्ने हुँदैन । कतिपय कामहरु जोखिम खालका हु्न्छन् । कुनै शारीरिक रुपमा समस्यादायक हुन्छन् भने कुनै स्वास्थ्य नै जोखिममा पु-याउने खालका हुन्छन् । कतिपय काममा जीउधन नै खतरामा पर्न सक्छ । त्यसैले पेसागत स्वास्थ्य एवं अन्य खालका सुरक्षा उपायहरु अपनाउनुपर्दछ ।
सधैँ गरिराखेको काम पनि आफ्नो सानो असावधानी र अरुको समेत लापरबाही वा कुकृत्यका कारण हानि हुन सक्छ । शंका र डर हैन, सावधानी अति आवश्यक छ । कतिपय पेसामा मानसिक श्रम र तनाव बढी हुन्छन्, त्यसको पनि उचित व्यवस्थापन आवश्यक पर्छ ।
शहरबजारमा सजगता
शहरबजारमा बस्नेहरुको जीवनशैली धरापमा हुन्छ । शहरतिर बढी आर्थिक आम्दानीको स्रोत, बढ्दो जमघट र जनसम्पर्क, भोजको संस्कृति र थरी–थरीका खानेपिउने परिपाटी तथा पार्टीमा गुलिया, रसायनयुक्त चिसो पेय, मद्यपानलगायत अतिरिक्त क्यालोरी हुने खालका अनेक प्रकारका खानपानको प्रयोग गर्ने/गराउने प्रचलन बढ्दो छ ।
यसरी नै मानसिक तनाव, शारीरिक श्रम तथा व्यायामको अभाव, रेस्टुरेन्ट चहार्ने बानी, हिँड्ने बानीको अभाव हुन्छ । विभिन्न दुव्र्यसन, अप्राकृतिकलगायत विषादीयुक्त र रसायनयुक्त वा अम्लीय खानपानको उपयोग, असन्तुलित खानपान, बढी वा कम खाएर कुपोषण आदि कारणले शहर तथा शहरोन्मुख गाउँका बासिन्दाको जीवनशैली प्रभावित बनेको छ ।
गाउँबाट शहर पसेकाहरुमा पनि खानपान, आनिबानी, हिँडाइजस्ता जीवनशैली परिवर्तन र प्रदूषणले गर्दा समस्याहरु बढ्दो छ । यस्तो अवस्थामा झन् सतर्क हुनुपर्ने देखिन्छ ।
सर्वपक्षीय व्यवस्थापन
स्वस्थताविना जीवनमा सुख सम्भव छैन । महँगो चिकित्सा खर्च र न्यूनतम आयस्रोत भएका नेपालीहरुको अवस्थाप्रति संवेदनशील भई सबैले स्वास्थ्य सुरक्षामा ध्यान दिनु जरुरी छ ।
कार्यशैलीबाट उत्पन्न समस्याहरुको समाधानका लागि नियमित योगाभ्यास र जीवनशैलीका हरेक पक्षहरुमा सुधार गर्नुपर्दछ भने विशेषावस्थामा मनोचिकित्सा, मनोपरामर्श, स्वास्थ्य परीक्षण आदिको सहयोग लिन सकिन्छ ।
उचित कार्ययोजना र सामूहिक कल्याणको भावनाका साथ कार्यस्थल र कार्यको उचित व्यवस्थापन गरेमा विभिन्न पक्षमा सकारात्मक लाभ प्राप्त हुने हुँदा कार्यशैली सुधारौं । कर्म अनुसारको फल प्राप्त हुने निश्चत छ, सही कर्म गरौं ।
प्रतिक्रिया